९०० मेगाहर्ज र २१०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सी मूल्य तय गर्न एनसेलसँग वार्ता शुरु

Technology Khabar २ असार २०७७, मंगलवार

९०० मेगाहर्ज र २१०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सी मूल्य तय गर्न एनसेलसँग वार्ता शुरु

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले ९०० मेगाहर्ज र २१०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सीको मूल्य तय गर्नका लागि एनसेलसँग वार्ता (नेगोसिएसन) गर्न बनाएको कमिटीले वार्ता शुरु गरेको छ ।

प्राधिकरण बोर्डले निर्णय गरेर निर्देशक अम्बर स्थापितको संयोजकत्वमा गठित ४ सदस्यिय कमिटीले सोमबारबाट औपचारिकरुपमा एनसेल प्रालिसँग वार्ता प्रकृया शुरु गरेको हो ।

सो वार्तामा दुबै ९०० मेगाहर्ज र २१०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सीका लागि खरिद रकम तय गर्ने र त्यसको लागि तय गरिएको आधार बारेमा छलफल भएको छ ।

प्राधिकरणका प्रवक्ता मिन प्रसाद अर्यालले औपचारिकरुपमा कमिटीले नेगोसिएसन शुरु भएको जानकारी दिए ।

‘आज (सोमबार)देखि कमिटीले नेगोसिएसनमार्फत फ्रिक्वेन्सीको मूल्य तय गर्न छलफल शुरु गरेको छ । वार्ता ३ चरणमा हुनेछ,’ प्रवक्ता अर्यालले भने ।

शुरु भएको नेगोसिएसनको प्रकृयामा प्राधिकरणको तर्फबाट संयोजक अम्बर स्थापितको नेतृत्वमा ४ सदस्यिय टोली रहेको छ भने एनसेलको तर्फबाट पनि वार्ताको लागि टिम आएको बताईएको छ ।

वार्ता कमिटीका संयोजक अम्बर स्थापितले ३ चरणमा हुने वार्तामा विभिन्न पक्षहरुमा छलफल हुने र त्यसको आधारमा नै मूल्य तय हुने बताए ।

अहिले पहिलो वार्ता भएको र त्यसपछि अर्को २ चरणको वार्ता हुनेछ र कम्पनीले आफ्नो खरिद मूल्य बताउने उनले जानकारी दिए ।

‘एकैपटक रकम तोकेर मूल्य तय हुने होईन्, चरणबद्ध वार्ताबाट कम्पनीले खरिद मूल्य दिनेछ र हामीले त्यसको आधारमा फ्रिक्वेन्सीको मूल्य निकाल्नेछौं । अन्तिम पटक हुने वार्तामा यसबारे ठोस मूल्य आउनेछ,’ निर्देशक स्थापितले भने ।

उनले ९०० मेगाहर्ज र २१०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सीको लागि कम्पनीले न्यून मूल्य स्वभाविकरुपमा प्रस्ताव गर्नसक्ने भएपनि कमिटीले कार्यबिधिको आधारमा मात्रै फ्रिक्वेन्सी मूल्य हेर्ने जानकारी दिए । अन्तिम वार्तामा हुने मूल्य प्रस्तावले ठोस निष्कर्ष दिने उनको भनाई थियो ।

एनसेलले प्रस्ताव गर्ने अधिकतम मूल्यको आधारमा कमिटीले वार्ता सकिएपछि फ्रिक्वेन्सीको मूल्य बारेमा बोर्डलाई जानकारी दिनेछ भने सो मूल्यको आधारमा एनसेललाई ९०० मेगाहर्ज र २१०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सी दिने वा नदिने निर्णय गर्नेछ।

९०० मेगाहर्ज र २१०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सी अक्सन बोलकबोल प्रस्ताव डकुमेन्टमा नै अन्तिम निर्णय गर्ने अधिकार प्राधिकरणलाई तोकेको हुँदा प्रस्तावित रकममा फ्रिक्वेन्सी दिने वा नदिने निर्णय प्राधिकरण बोर्डले नै गर्नेछ ।

यो पनि हेर्नुस्-

९०० र २१०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सी प्रकृया अगाडि बढाउने निर्णय, यस्ता छन् ३ आधारहरु

Global Bank
easy care

प्रकाशित: २ असार २०७७, मंगलवार

ताजा समाचार