ग्रामीण दूरसञ्चार विकास कोषको थप २ अर्ब रुपैयाँ लग्यो सरकारले, बाँकी ११ अर्ब असारसम्म लग्ने

Technology Khabar १० जेष्ठ २०७७, शनिबार

ग्रामीण दूरसञ्चार विकास कोषको थप २ अर्ब रुपैयाँ लग्यो सरकारले, बाँकी ११ अर्ब असारसम्म लग्ने

काठमाडौं ।

सरकारले नेपाल दूरसञ्चार प्राधिकरण अन्तरगत रहेको ग्रामीण दूरसञ्चार विकास कोषको थप २ अर्ब रुपैयाँ आफ्नो खातामा लगेको छ । यसअघि ३ अर्ब रुपैयाँ लगिसकेको सरकारले अहिले थप २ अर्ब रुपैयाँ कोषको रकम लगेको हो ।

दूरसञ्चार प्राधिकरणले बिहिबार सरकारी कोषमा ग्रामीण दूरसञ्चार विकास कोषबाट सापटीको रुपमा लगेको रकम जम्मा गरिदिएको छ ।

विभिन्न बैंकका मुद्धती खाताहरुमा रहेको सो रकम गएको मे १५ तारिखमा अवधि पुगेको थियो । प्राधिकरणले सरकारी निर्णयअनुसार दोस्रो चरणमा रकम जम्मा गरिएको हो । यसअघि मन्त्रिपरिषदले प्राधिकरणसँग रहेको ग्रामीण दूरसंचार कोषको १६ अर्ब रुपैयाँ लाने निर्णय गरेको थियो ।

प्राधिकरणका प्रवक्ता मिन प्रसाद अर्यालले अहिले सरकारलाई २ अर्ब रुपैयाँ दिएको जानकारी दिए ।

‘बिहिबार सरकारको खातामा प्राधिकरणले रकम जम्मा गरिदिएको छ, यसअघि नै बोर्डले निर्णय गरिसकेको हुँदा अहिले म्याचुरिटी पुगेको रकम सरकारलाई दिएको हो, बाँकी रकम असारसम्म बुझाउने गरि व्यवस्था गरिनेछ,’ प्रवक्ता अर्यालले टेक्नोलोजीखबरलाई भने ।

यसअनुसार बैशाख २४ गते पहिलो किस्तामा ३ अर्ब रुपैयाँ लगिसकेको छ भने हालको २ अर्बसहित ५ अर्ब रुपैयाँ लगेको हो। बाँकी रकमको हकमा भने प्राधिकरणले कसरी व्यवस्थागर्न सकिन्छ भनेर अध्ययन गरिरहेको छ ।

सरकारको निर्णयअनुसार दूरसंचार प्राधिकरणले गएको बैशाख १४ गते बोर्डबाट ग्रामीण दूरसंचार विकास कोषको रकममध्ये पहिलो चरणमा ३ अर्ब मे १५ मा म्याचुरिटी हुने २ अर्ब र बाँकी रकम दिने बारेमा अध्ययन गर्ने निर्णय गरेको थियो ।

सरकारले सो रकम सापटिको रुपमा लाने र पछि परियोजनाहरुमा आवश्यक परेमा अधिकतम १६ अर्ब रुपैयाँसम्मको रकम सोधभर्ना गर्ने निर्णय गरेको थियो ।

अब बाँकी ११ अर्ब रुपैयाँ भने असार मसान्त भित्रमा बुझाउने गरि दूरसञ्चार प्राधिकरणले व्यवस्था गरेको जनाएको छ ।

यो पनि हेर्नुस्-

ग्रामीण दूरसञ्चार विकास कोषको ३ अर्ब रुपैयाँ सरकारले लग्यो, बाँकी रकम पनि लाँदै

easy care

प्रकाशित: १० जेष्ठ २०७७, शनिबार