ग्रामीण दूरसञ्चार विकास कोषको ३ अर्ब रुपैयाँ सरकारले लग्यो, बाँकी रकम पनि लाँदै

Technology Khabar २४ बैशाख २०७७, बुधबार

ग्रामीण दूरसञ्चार विकास कोषको ३ अर्ब रुपैयाँ सरकारले लग्यो, बाँकी रकम पनि लाँदै

नेपाल दूरसञ्चार प्राधिकरणले सरकारले मागेअनुसारको १६ अर्ब रुपैयाँ मध्ये ३ अर्ब रुपैयाँ सरकारी कोषमा जम्मा गरिदिएको छ । प्राधिकरणले गएको सोमबार नै संघिय सरकारको कोषमा रकम जम्मा गरेको हो।

यसअघि सरकारले नेपाल दूरसंचार प्राधिकरणअन्तरगत रहेको ग्रामीण दूरसंचार विकास कोषको १६ अर्ब रुपैयाँ लिने निर्णय गरेको थियो ।

मन्त्रिपरिषदले ग्रामीण दूरसञ्चार विकास कोषको १६ अर्ब रुपैयाँ लिने र प्राधिकरणलाई आवश्यक परेको बेलामा उपलब्ध गराउने गरि निर्णय गरेसँगै सरकारले सो रकममध्ये पहिलो चरणमा २ अर्ब रुपैयाँ लगेको हो ।

प्राधिकरणका प्रवक्ता मिन प्रसाद अर्यालले हाल ३ अर्ब रुपैयाँ सरकारलाई बुझाएको जानकारी दिए।

प्राधिकरणले सो रकम ठूलो मूल्यको भुक्तानी तथा रकम ट्रान्सफर गर्नका लागि रियल टाइम ग्रस सेटलमेन्ट सिस्टममार्फत संघिय संचित कोषमा रकम दाखिला गरेको जानकारी दिएको छ।

मन्त्रिपरिषदको सोहि निर्णयअनुसार अर्थ मन्त्रालयले सिधै दूरसंचार प्राधिकरणलाई पत्र पठाउँदै १६ अर्ब रुपैयाँ कोषमा जम्मा गर्न भनेको थियो ।

प्राधिकरणलाई बैशाख ७ गते पत्र  पठाउँदै साे रकम सरकारकाे सञ्चित कोषमा जम्मा हुने गरी राजस्व दाखिला गर्ने र प्राधिकरणलाई भविश्यमा ग्रामीण दूरसञ्चारसम्बन्धी कार्यक्रम संचालन गर्न रकम अपुग भएको अवस्थामा राजस्व दाखिला गरेको रकमको  सीमाभित्र रहेर अर्थ मन्त्रालयले बजेट निकासा दिने निर्णय भएको भन्दै रकम जम्मा गर्न आदेश दिएको थियो ।

तर प्राधिकरणको बोर्ड बैठकले हाल कल खातामा उपलब्ध रहेको ३ अर्ब रुपैयाँ तत्काल दिने, करिब साढे २ अर्ब रुपैयाँ आगामी मे १५ तारिख अर्थात ९ दिनपछि बैंकमा राखिएको मुद्धती खाताहरुमा अवधि पुग्ने र त्यसपछि उपलब्ध गराउने निर्णय गरेको थियो ।

बाँकी रकमको हकमा भने कसरी उपलब्ध गराउन सकिन्छ भन्ने बारेमा सुझाब दिन कमिटी गठन गर्ने निर्णय गरेको थियो।

यो पनि हेर्नुस्-

सरकारले मागेको १६ अर्ब मध्ये दूरसंचार प्राधिकरणले ३ अर्ब रुपैयाँ तत्काल दिने निर्णय

 

 

प्रकाशित: २४ बैशाख २०७७, बुधबार

Comments are closed.

Loading...