सरकारले मागेको १६ अर्ब मध्ये दूरसंचार प्राधिकरणले ३ अर्ब रुपैयाँ तत्काल दिने निर्णय

Technology Khabar १५ बैशाख २०७७, सोमबार

सरकारले मागेको १६ अर्ब मध्ये दूरसंचार प्राधिकरणले ३ अर्ब रुपैयाँ तत्काल दिने निर्णय
फाइल फोटो: नेपाल दूरसञ्चार प्राधिकरणको पुरानो कार्यालय भवन

काठमाडौं ।

नेपाल दूरसंचार प्राधिकरणले सरकारले मागेको १६ अर्ब मध्ये हाल ३ अर्ब रुपैयाँ सरकारको खातामा बुझाउने भएको छ । प्राधिकरणको बोर्ड बैठकले हाल ३ अर्ब रुपैयाँ बुझाउने र बाँकी रकम बिस्तारै दिने निर्णय गरेको हो ।

मन्त्रिपरिषदले प्राधिकरणको ग्रामीण दूरसंचार कोषमा रहेको रकम लिने बारेमा गरेको निर्णयको आधारमा दूरसंचार प्राधिरकणको आइतवार बसेको बोर्ड बैठकले विभिन्न किसिमका उपायहरुको बारेमा छलफल गर्दै पहिलो चरणमा ३ अर्ब रुपैयाँ दिने निर्णय गरेको हो ।

हाल प्राधिकरणसँग ग्रामीण दूरसंचार कोषको कल खातामा करिब ३ अर्ब ३२ करोड रुपैयाँ रहेको छ ।

प्राधिकरण स्रोतकाअनुसार हाल ३ अर्ब रुपैयाँ प्राधिकरणको ग्रामीण दूरसंचार विकास कोषको कल खाताबाट नै जम्मा गर्न सकिने अवस्था रहेको हुँदा सो रकम सरकारलाई दिने निर्णय गरेको हो । त्यसैगरि ग्रामीण दूरसंचार विकास कोषमा रहेको करिब २ अर्ब रुपैयाँ आगामी मे १५ तारिखपछि दिने निर्णय गरेको छ । विभिन्न बैंकका मुद्धती खाताहरुमा जम्मा गरिएको सो रकम त्यसैबेला अबधि पुग्ने हुँदा सो समयमा दिने निर्णय समेत गरेको छ।

त्यसपछि बाँकी हुने ११ अर्ब रुपैयाँ भने कसरी बुझाउने भन्ने बारेमा प्राधिकरण बोर्डमा सुझाब दिनका लागि कमिटी गठन गर्ने निर्णय गरिएको छ ।

यसआधारमा प्राधिकरणले सरकारले मागेको १६ अर्ब रुपैयाँ मध्ये बाँकी रकम कसरी दिने भन्ने बारेमा अध्ययनपछि मात्र निर्णय गर्ने प्राधिकरण स्रोतको भनाई छ ।

बाँकी रकम ग्रामीण दूरसंचार विकास कोषको रकमबाट कसरी सरकारलाई उपलब्ध गराउने भन्ने निर्णय सुझाब समितीको रिपोर्टको आधारमा गरिने बताईएको छ ।

easy care

प्रकाशित: १५ बैशाख २०७७, सोमबार

ताजा समाचार