इन्टरकनेक्सन शुल्क घटाउन आनाकानी गर्दै टेलिकम अपरेटरहरु, समयाबधि थप गराउन लबिङ्ग गर्दै

Technology Khabar ७ चैत्र २०७६, शुक्रबार

इन्टरकनेक्सन शुल्क घटाउन आनाकानी गर्दै टेलिकम अपरेटरहरु, समयाबधि थप गराउन लबिङ्ग गर्दै
सांकेतिक तस्विर

काठमाडौं ।

टेलिकम अपरेटरहरुले इन्टरकनेक्सन शुल्क घटाउन आनाकानी गर्दै इन्टरकनेक्सन गाइडलाइन लागू गराउने समयावधि थप गर्न माग गरेका छन् ।

एनसेल प्रालिले आउँदो अप्रिलदेखि लागू हुने इन्टरकनेक्सन गाइडलाइन लागू गर्ने समय थप गर्न माग गरेको छ । एनसेलले नेपाल दूरसंचार प्राधिकरणलाई पत्र पठाउँदै सो इन्टरकनेक्सन गाइडलाइन लागू गर्ने समय थप गर्न भनेको हो ।

कम्पनीले इन्टरकनेक्सन गाइडलाइनले के असर पार्छ भन्ने बारेमा भने कुनै जानकारी गराएको छैन् । तर सो इन्टरकनेक्सन गाइडलाइन हाल लागू गर्न कठिनाई भएको भन्दै केहि समयको अवधि थप गर्न भनेको हो ।

अर्को टेलिकम अपरेटर नेपाल टेलिकमले पनि सो बारेमा चासो व्यक्त गरेको छ । कम्पनीले प्राधिकरणमा औपचारिकरुपमा पत्र नै नपठाएपनि संचार तथा सूचना प्रविधि मन्त्रालयमार्फत लबिङ्ग गर्दै इन्टरकनेक्सन गाइडलाइन लागू गर्ने मिति सार्न भन्दै आएको सो बारेमा जानकार स्रोतले बताएको छ ।

स्रोतकाअनुसार एनसेलले दूरसंचार प्राधिकरणमा पत्र पठाएको भएपनि माथिल्लो तहमा नयाँ शुल्क लागू गराउने समय थप गर्नका लागि कुराकानी गरिरहेको छ ।

दुबै कम्पनीहरुले नयाँ इन्टरकनेक्सन शुल्कले आफ्नो आम्दानीमा उच्च कमी हुने अनुमान गरेका छन भने त्यसबाट सरकारलाई पनि राजस्व कमी हुनेभन्दै दबाब दिँदै आएका हुन् ।

यसअघि नै नेपाल दूरसंचार प्राधिकरणले सबै टेलिकम अपरेटरहरुसँगको छलफलमा सो नयाँ इन्टरकनेक्सन गाइड लाइन तयार पारेको थियो भने सो गाइडलाइन यहि अप्रिलदेखि लागू गर्ने तयारी गरिरहेको छ ।

दूरसंचार प्राधिकरणका प्रवक्ता मिन प्रसाद अर्यालले इन्टरकनेक्सन गाइडलाइनको बारेमा पटक पटक अपरेटरहरुसँग छलफल गरिएको र लागू गर्ने समयपनि थप गर्दै आएको बताए । उनले नयाँ इन्टरकनेक्सन शुल्क लागू गर्न यसअघि नै सबैलाई पत्र पठाईएको जानकारी दिए ।

‘हामीले इन्टरकनेक्सन गाइडलाइन लागू गर्न ३/४ महिना अगाडि नै सबैलाई पत्र पठाएका थियौं, अप्रिलदेखि जसरी पनि लागू हुन्छ, ब्याक हुने ठाउँछैन्,’ उनले भने ।

अपरेटरहरुले लागू गर्ने मिति सार्न भन्नु स्वभाविक भएपनि अप्रिल १ देखि नै लागू हुने उनको भनाई छ ।

नयाँ इन्टरकनेक्सन शुल्कले दुबै टेलिकम अपरेटरहरुको आम्दानी करिब ११ अर्ब रुपैयाँदेखि १६ अर्ब रुपैयाँसम्मको बिचमा घट्नसक्ने अनुमान गरिएको छ । जसको बारेमा दुबै अपरेटरहरुले आन्तरिकरुपमा छलफल र अध्ययन गरिरहेका छन् ।

स्थानिय कलमा नयाँ इन्टरकनेक्सन शुल्कले नेपाल टेलिकमलाई करिब ५ करोड रुपैयाँ फाईदा हुने देखिएको भएपनि अन्तराष्ट्रिय कलबाट हुने आम्दानीमा ठूलो रकम घट्ने देखिएपछि नेपाल टेलिकमले मन्त्रालयमार्फत लबिङ्ग गरिरहेको छ।

त्यसैगरि यसको सबैभन्दा ठूलो मार एनसेललाई पर्ने देखिन्छ । एनसेलको आम्दानीमा इन्टरकनेक्सनको ठूलो हिस्सा रहेको हुँदा कम्पनीलाई करिब १० अर्बको हाराहारीमा आम्दानी घट्नसक्ने बताईएको छ।

सो गाइडलाइनले अन्तराष्ट्रिय र राष्ट्रिय फोन कलको शुल्क घटाउने अपेक्षा गरिएको छ । जसले अन्तत नेपाली ग्राहकहरुलाई फाईदा हुनेछ ।

यो पनि हेर्नुस्-

यस्तो छ नयाँ इन्टरकनेक्सन गाइडलाइनले तोकेको शुल्क, ग्राहककालागि अहिलेको शुल्क घटला ?

प्रकाशित: ७ चैत्र २०७६, शुक्रबार

तपाइको प्रतिक्रिया