यस्तो छ नयाँ इन्टरकनेक्सन गाइडलाइनले तोकेको शुल्क, ग्राहककालागि अहिलेको शुल्क घटला ?

Technology Khabar १८ भाद्र २०७६, बुधबार

यस्तो छ नयाँ इन्टरकनेक्सन गाइडलाइनले तोकेको शुल्क, ग्राहककालागि अहिलेको शुल्क घटला ?

काठमाडौं ।

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले हालै नयाँ इन्टरकनेक्सन गाइडलाइन पारित गरेको छ । दुई वा दुईभन्दा बढि कम्पनीबिच हुने दुरसंचारको आदान प्रदानलाई व्यवस्थित बनाउने इन्टरकनेक्सन गाइडलाइनले नयाँ शुल्क समेत निर्धारण गरेको छ । दूरसंचार प्राधिकरणले करिब १० वर्षपछि नयाँ इन्टरकनेक्सन गाइडलाइन ल्याएको हो ।

स्वदेश भित्र र अन्तराष्ट्रिय कलको बारेमा स्पष्टरुपमा ब्याख्या गर्दै त्यसमा टेलिकम अपरेटरहरुले लिनसक्ने सेवा शुल्कलाई निर्धारण गरिएको छ ।

स्वदेशभित्र हुने दुई टेलिकम अपरेटरहरुबिचको इन्टरकनेक्सनको लागि छुट्टै शुल्क तोकिएको छ भने अन्तराष्ट्रिय कलको लागि छुट्टै शुल्क निर्धारण गरिएको छ ।

नयाँ इन्टरकनेक्सन गाइडलाइनले उपभोक्ताको सेवा शुल्कलाई कमगर्दै लाने नीति लिएको देखिन्छ । तर के साँच्चिकै सेवा शुल्क घट्ला त भन्ने प्रश्न उब्जिएको छ ।

नेपाल दूरसंचार प्राधिकरणका निर्देशक अम्बर स्थापितले भने अन्तराष्ट्रिय कलमा चरणबद्धरुपमा शुल्क कटौती गर्नेगरि नयाँ गाईडलाइन आएको बताए ।

‘प्राधिकरण बोर्डले पारित गरेको नयाँ इन्टरकनेक्सन गाइडलाइनले अन्तराष्ट्रिय कलको शुल्कलाई क्रमश कटौती गर्नेछ भने एभरेजमा हेर्दा स्थानिय कलमा पनि शुल्क घट्नसक्नेछ,’ निर्देशक स्थापितले टेक्नोलोजीखबरसँग भने ।

टेक्नोलोजीखबरलाई प्राप्त नयाँ इन्टरकनेक्सन गाइडलाइन हेर्दा अन्तराष्ट्रिय कलको दरमा कटौती हुँदै जाने गरी शुल्क निर्धारण गरिएको देखिन्छ । तर स्थानिय इन्टरकनेक्सनमा भने कलको दर बढेको देखिन्छ ।

स्थानिय कलमा यसअघि विभिन्न श्रेणीमा इन्टरकनेक्सन कलको शुल्क तोकिएको थियो भने अब त्यसलाई ल्याण्डलाइन र मोबाइलको श्रेणीमा मात्र राखिएको छ । यसअघिको इन्टरकनेक्सन गाइडलाइनले ल्याण्डलाइन र मोबाइललाई पनि क्याटोगरी १ र क्याटोगरी २ गरेर अंचलको आधारमा इन्टरकनेक्सन शुल्क निर्धारण गरेकोमा हाल त्यसलाई नयाँ इन्टरकनेक्सन गाइडलाइनले प्रतिस्थापन गरेको छ ।

यसअघिको इन्टरकनेक्सन गाइडलाइनमा एउटा अपरेटरको फिक्स्ड लाइन सर्भिसबाट अर्को अपरेटरको फिक्स्ड लाइन सर्भिसमा फोन गर्दा न्यूनतम १४ पैसादेखि अधिकतम ४८ पैसा शुल्क रहेकोमा अहिले त्यसलाई औसतमा २० पैसा बनाईएको छ । त्यसैगरि मोबाइलबाट मोबाइलमा कल गर्दा भने १० पैसा तोकिएको छ ।

नयाँ गाइडलाइनले यसअघिको न्यूनतम १४ पैसालाई बढाएर २० पैसा बनाउँदा कतै इन्टरकनेक्सन गाइडलाइनले फोनको शुल्क ग्राहकलाई बढ्ने त होईन भन्ने प्रश्न आएको हो ।

यसमा प्राधिकरणका निर्देशक स्थापितले पहिले स्थानिय र राष्ट्रिय कल भनेर विभाजन भएकोमा अहिले देशभर नै स्थानिय कलको रुपमा तोकिएको हुँदा त्यस्तो देखिएको बताए । उनले यसअघि फिक्स्डबाट फिक्स्ड लाइनमा कल गर्दा ४८ पैसा रहेकोमा अहिले त्यसलाई २० पैसामा झारिएको दाबी गरे ।

‘हेर्दा न्यूनतम शुल्क बढेको देखिएपनि हामीले पुरानो इन्टरकनेक्सन सेवा शुल्कलाई औसतमा घटाएर २० पैसा बनाएका हौं, त्यसैले यो बढेको जस्तो भएपनि त्यसले ग्राहकलाई कुनै थप भार पर्दैन्, त्यो अपरेटरहरुले नै समायोजन गर्छन्,’ स्थापितले भने ।

मोबाइल फोनको इन्टरकनेक्सन शुल्क भने घटाएर १० पैसा बनाएपछि त्यसले आगामी दिनमा मोबाइल फोनको सेवा शुल्क घटाउन सक्ने संभावना रहने उनको भनाई छ । यसअघिको इन्टरकनेक्सन गाइडलाइनले मोबाइलबाट अर्को अपरेटरको मोबाइलमा कल गर्दा इन्टरकनेक्सन शुल्क न्यूनतम ५४ पैसा रहेको थियो ।

नयाँ इन्टरकनेक्सन गाइडलाइनले तोकेको शुल्क
नयाँ इन्टरकनेक्सन गाइडलाइनले तोकेको शुल्क
पुरानो इन्टरकनेक्सन गाइडलाइनले तोकेको शुल्क

‘मोबाइलबाट मोबाइलमा हुने इन्टरकनेक्सन शुल्क निकै घटाएका छौं, त्यसैले कुनै अपरेटरले आगामी दिनमा मोबाइल फोनको सेवा शुल्क घटाउन सक्ने बाटो खुला गरेकोछ,’ निर्देशक स्थापितले भने ।

अर्कोतर्फ नयाँ इन्टरकनेक्सन गाइडलाइनले अन्तराष्ट्रिय कलमा भने प्राधिकरणले प्रत्येक वर्ष शुल्क घट्ने गरि नयाँ ट्यारिफ पारित गरेको छ ।
यसअघिको इन्टरकनेक्सन गाइडलाइनमा अन्तराष्ट्रिय कलको लागि प्रति मिनेट १ रुपैयाँ ८० पैसा इन्टरनेशनल टर्मिनेस सर्किट स्वीचको लागि तोकेमा हालसम्म पालना हुन सकेको थिएन जसले गर्दा ग्राहकहरुले महंगो मूल्यमा विदेशबाट आफन्तलाई कल गर्नुपर्ने बाध्यता रहेको थियो । दूरसंचार प्राधिकरणले पनि यसअघिको इन्टरकनेक्सन गाइडलाइनअनुसार अपरेटरलाई नियमन गर्न सकेको थिएन भने अपरेटरहरुले पनि आफ्नो नाफा घट्ने भन्दै सो लागू गर्न मानेका थिएनन् ।

तर अब नयाँ इन्टरकनेक्सन गाइडलाइनले भने पहिलो वर्ष अन्तराष्ट्रिल आगमन कलका लागि इन्टरकनेक्सन शुल्क ८ रुपैयाँ तोकेर आगामी ८ वर्षसम्म निरन्तर घटाउने नीति लिएको छ । नयाँ गाइडलाइनले आगमन कलको शुल्क समेत घट्नेछ भने कल बाइपासको समस्या समेत समाधान गर्ने अपेक्षा गरिएको छ ।

केहि समय अघि दूरसंचार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले नयाँ गाइडलाइनले विशेषगरि अन्तराष्ट्रिय कलमा देखिएका सबै समस्याहरुलाई क्रमशः समाधान गर्ने गरि ल्याईएको जानकारी दिएका थिए ।

अन्तराष्ट्रिल आगमन कललाई ८ औं वर्षमा प्राधिकरणले यसअघिको गाइडलाइनमा तोकेअनुसार नै १ रुपैयाँ ८० पैसामा झार्ने लक्ष्य लिएको देखिन्छ ।

यसबाहेक नयाँ इन्टरकनेक्सन गाइडलाइनले पोर्टको शुल्क पनि घटाएको छ । यसअघिको ३५ हजार रुपैयाँ प्रति पोर्ट प्रति वर्ष रहेकोमा हाल त्यसलाई १० हजार रुपैयाँमा सिमित गरिएको छ । सेटअप चार्जमा पनि आधा कटौती गर्दै नयाँ गाइडलाइनले १ लाख रुपैयाँ सेटअप चार्ज प्रति लोकेसनका लागि तोकेको छ, जुन एक पटक तिरे पुग्छ ।

easy care

प्रकाशित: १८ भाद्र २०७६, बुधबार

ताजा समाचार