Technology Khabar ३० कार्तिक २०७६, शनिबार
काठमाडौं ।
काठमाडौं । तपाईँ नयाँ आइफोन किन्ने योजनामा हुनुहुन्छ भने छिटै नेपाली बजारमा नयाँ आइफोन किन्न पाईनेछ । नयाँ आइफोन ११ सिरिज नेपालमा एप्पलको आधिकारिक आयातकर्ता तथा बितरक जेनेरेशन कम्यूनिकेसन्स प्रालिले यहि मंसिर ६ गतेदेखि नेपाली बजारमा ल्याउँदैछ ।
विश्व बजारमा गएको सेप्टेम्बर महिनामा लन्च भएको आइफोन ११ सिरिज नेपाली बजारमा भने करिब २ महिनापछि मात्रै आउन लागेको हो ।
आइफोन ११ सिरिजमा एप्पलले आइफोन ११, आइफोन ११ प्रो र आइफोन ११ प्रो म्याक्स लन्च गरेको थियो भने यी तीनवटै भर्सन नेपाली बजारमा आउनेछ । तर नेपाली बजारमा यसको मूल्य कति हुने हो भन्ने सबैको लागि चासोको विषय रहँदै आएको छ ।
नेपालमा निकै महंगो मूल्य तिर्नुपर्ने हुँदा पनि एप्पलका हरेक उत्पादनहरुले निकै चर्चा र महत्व पाउने गरेका छन् । सामान्य मूल्य र औसत आय भएका मानिसहरुको लागि आइफोन किन्नु अझै आकाशको फल जस्तै हुने गरेको छ ।
यो पटक पनि आइफोन ११ सिरिजको नेपाली बजार मूल्य १ लाख रुपैयाँ भन्दा माथि रहेको छ । टेक्नोलोजीखबरलाई प्राप्त मूल्यसूचीअनुसार सबैभन्दा सस्तो मूल्यको नै १ लाख १० हजार रुपैयाँ भन्दा बढि तोकिने छ । त्यसैगरि सबैभन्दा अधिक मूल्य आइफोन ११ म्याक्सको ५१२ जीबी स्टोरेज भर्सन हुनेछ जसको मूल्य २ लाख २७ हजार हाराहारी तोकिएको छ ।
कम्पनीले आइफोन ११, आइफोन ११ प्रो र आइफोन ११ प्रो म्याक्समा तीन स्टोरेज मोडलहरुको मूल्य निर्धारण गरिसकेको छ । कम्पनीले सबै कलर अप्सनहरु नेपाली बजारमा एकै मूल्यमा नै उपलब्ध गराउने देखिएको छ ।
आइफोन ११ को मूल्य
टेक्नोलोजीखबरलाई प्राप्त नेपाली बजार मूल्यअनुसार सबैभन्दा सस्तो भनिएको आइफोन ११ को ६४जीबी स्टोरेजको मूल्य १ लाख १० हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ । आइफोन ११ को १२८ जीबीको मूल्य १ लाख १८ हजार ३०० रुपैयाँ र २५६ जीबी स्टोरेजको मूल्य १ लाख ३४ हजार तोकिएको छ ।
आइफोन ११ प्रोको मूल्य
आइफोन ११ प्रोको ६४ जीबी स्टोरेजको मूल्य नेपाली बजारमा १ लाख ५७ हजार २५० रुपैयाँ छ भने २५६ जीबी स्टोरेजको मूल्य १ लाख ८० हजार ९०० रुपैयाँ तोकिएको छ । आइफोन ११ प्रो ५१२ जीबी स्टोरेजको मूल्य भने २ लाख ११ हजार ८०० रुपैयाँ तोकिएको छ ।
आइफोन ११ प्रो म्याक्सको मूल्य
यसैगरि आइफोन ११ प्रो म्याक्सको ६४ जीबी स्टोरेजको मूल्य १ लाख ७२ हजार ८०० रुपैयाँ तोकिएको छ भने २५६ जीबी स्टोरेज अप्सनको मूल्य १ लाख ९६ हजार ६०० रुपैयाँ रहेको छ । आइफोन ११ प्रो म्याक्सको ५१२ जीबी स्टोरेजको मूल्य भने सबैभन्दा २ लाख २७ हजार ४०० रुपैयाँ निर्धारण गरिएको छ ।
यी सबै स्टोरेज अप्सनहरु नेपाली बजारमा कम्पनीले नोभेम्बर २२ तारिख अर्थात मंसिर ६ गते शुक्रबारदेखि औपचारिक घोषणा गरेर बिक्री शुरु गर्नेछ ।
यो पनि हेर्नुस्-
आइफोन ११ सिरिज नेपाली बजारमा आधिकारिकरुपमा आउँदै, मंसिर ६ गतेदेखि उपलब्ध हुने
प्रकाशित: ३० कार्तिक २०७६, शनिबार