आइफोन ११ सिरिज नेपाली बजारमा आधिकारिकरुपमा आउँदै, मंसिर ६ गतेदेखि उपलब्ध हुने

Technology Khabar ३० कार्तिक २०७६, शनिबार

आइफोन ११ सिरिज नेपाली बजारमा आधिकारिकरुपमा आउँदै, मंसिर ६ गतेदेखि उपलब्ध हुने

काठमाडौं ।

काठमाडौं । के तपाईँ नयाँ आइफोन ११ किन्ने योजना गर्दै हुनुहुन्छ ? त्यसो भए केहि दिन धैर्य गर्नुस्, किनकी आइफोन ११(iPhone 11) नेपाली बजारमा औपचारिक र आधिकारिकरुपमा नै उपलब्ध हुँदैछ ।

एप्पलले गएको सेप्टेम्बरमा लन्च गरेको आइफोन ११ सिरिज नेपाली बजारमा नोभेम्बर २२ अर्थात अर्को महिना मंसिर ६ गतेदेखि नेपाली बजारमा आधिकारिकरुपमा उपलब्ध हुन लागेको हो ।

एप्पलको नेपालका लागि आधिकारिक आयातकर्ता तथा बितरक जेनेरेशन नेक्स्ट कम्यूनिकेसन्स प्रालिले नोभेम्बर २२ तारिखदेखि नयाँ आइफोन ११ सिरिजका सबै भर्सनहरु नेपाली बजारमा उपलब्ध गराउने भएको हो।

कम्पनीले नेपाली बजारमा आइफोन ११ सहित आइफोन ११ प्रो (iPhone 11 Pro) र आइफोन ११ प्रो म्याक्स (iPhone 11 Pro Max) पनि ल्याउने छ भने त्यसका विभिन्न स्टोरेज अप्सनमा उपलब्ध हुनेछन् ।

जेनेरेशन नेक्स्टकी निर्देशक निकिता भिमसरियाले नेपालभित्र रहेका आइफोन यूजरहरु नयाँ आइफोन ११ सिरिजका साथमा अपग्रेड हुनसक्ने अवसर भएको बताईन् ।

‘हामीले सबै भर्सन र मोडलमा आइफोन ११ सिरिज नेपाली बजारमा लन्च गर्दैछौं, यसले आधिकारिक र जेन्यून वारेन्टीसहितका आइफोन किन्न चाहनेहरुलाई सहज हुनेछ, यसबाहेक हामीले मासिक किस्तामा पनि आइफोन ११ सिरिज उपलब्ध गराउनेछौं,’ जेनेरेशन नेक्स्टकी निर्देशक भिमसरियाले टेक्नोलोजीखबरसँग भनिन् ।

उनले प्रकृयागत कारणले गर्दा नेपाली बजारमा नयाँ आइफोन ढिलो आएको जानकारी दिईन् ।

यी स्टोरेज भर्सनमा आउँछ आइफोन ११ सिरिज ?

कम्पनीले नेपाली बजारमा आइफोन ११ सिरिजका ६४जीबी, १२८ जीबी, २५६ जीबीका साथै ५१२जीबी स्टोरेज अप्सनमा पनि उपलब्ध गराउनेछ । कम्पनीले आइफोन ११ सिरिजमा ६४जीबी, १२८जीबी र २५६ जीबी ल्याएको छ भने ब्ल्याक, ह्वाइट, पर्पल, ग्रीन, यल्लो र प्रोडक्ट रेड कलर अप्सनहरु दिएको छ ।

त्यसैगरि आइफोन ११ प्रोमा ६४जीबी, २५६ जीबी र ५१२ जीबी आन्तरिक स्टोरेज अप्सन छ भने सिल्भर, स्पेस ग्रे, गोल्ड र अन्य न्यू मिडनाइट ग्रीन कलर अप्सन उपलब्ध रहेका छन् ।

विश्व बजारमा भने आइफोन ११ प्रोको मिडनाइट ग्रीन कलर अप्सन सबैभन्दा धेरै माग भएको कलर अप्सन हो जून नेपाली ग्राहकहरुले समेत किन्न पाउने भएका छन्।

आइफोन ११ प्रो म्याक्समा भने ६४ जीबी, २५६जीबी, ५१२जीबी स्टोरेज अप्सन उपलब्ध हुनेछ भने यो मोडलमा सिल्भर, स्पेस ग्रे, गोल्ड र अल न्यू मिडनाइट ग्रीन कलर अप्सन उपलब्ध गराउनेछ ।

नेपाली बजारमा यी आइफोन ११ सिरिज इभो स्टोर, ओलिज स्टोर, मोबाइलट्रोन, फ्यूचर टेक ट्रेड र फ्यूचर वल्र्डबाट खरिद गर्न सकिनेछ ।

जेनेरेशन नेक्स्टले नेपालीहरुलाई आइफोन सस्तो मूल्यमा किनाउने उद्धेश्यले मासिक किस्तामा समेत आइफोन दिने योजना ल्याएको छ ।

आइफोन ११ किन्दा यी अफर पाईन्छ निशुल्क

नयाँ आइफोन ११ सिरिजका कुनैपनि भर्सन किन्ने ग्राहकहरुलाई कम्पनीले निशुल्करुपमा एनसेलको प्रति साता १००० एमबी डाटा१२ हप्तासम्म उपलब्ध गराउने छ भने ग्राहकहरुलाई बेलकिनको १० वाट वायरलेस चार्जर सित्तैमा दिनेछ । यसबाहेक कम्पनीले आइफोन ११ सिरिजमा स्क्र्याच एण्ड वीन अफर समेत ल्याएको छ । जसअन्तरगत ग्राहकहरुले स्कूटर, ल्यापटपलगायतका विभिन्न उपहारहरु प्राप्त गर्नेछन् ।

आधिकारीक र जेन्यून परीक्षण गर्ने तरीका

अहिले नेपाली बजारमा बिक्रिमा राखिएका आइफोनहरु भने चोरीको बाटोबाट र अनधिकृतरुपमा भित्र्याईएका सेटहरु हुन जसमा तपाईँले आधिकारिक वारेन्टी र सुविधाहरु पाउनुहुन्न् । तर आधिकारिकरुपमा आउने आइफोनहरुमा भने जेनेरेशन नेक्स्टले वारेन्टीका साथै मर्मतलगायतको सुविधा उपलब्ध गराउने जानकारी दिएको छ।

यसको लागि कम्पनीले जेनेरेशन नेक्स्टको वेबसाइटमार्फत आफ्नो आइफोन नेपाली बजारमा आधिकारिक हो वा होईन भन्ने जाँच गर्ने सुविधा दिएको छ । जसको लागि तपाईँले यो https://gnextcom.com/check-service-tag-imei/ वेबसाइटमा क्लिक गरेर हेर्न सक्नुहुन्छ ।

easy care

प्रकाशित: ३० कार्तिक २०७६, शनिबार