Technology Khabar ३० आश्विन २०७६, बिहीबार
काठमाडौं ।
काठमाडौं । नेपाल सरकारले नेपाल दूरसंचार प्राधिकरणलाई रेडियो नेपालको जग्गा ४० लाख रुपैयाँ प्रति आनामा दिने निर्णय गरेको छ ।
बिहिबार बसेको मन्त्रीपरिषदको बैठकले रेडियो नेपालको खुमलटारस्थित ४२ रोपनी जग्गा दूरसंचार प्राधिकरणलाई ४० लाख प्रति आनाको दरमा दिने निर्णय गरेको हो ।
मन्त्रीपरिषद बैठकले गरेका निर्णयहरु सुनाउन आयोजित नियमित पत्रकार सम्मेलनमा संचार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले ४० लाख प्रतिआनामा ४२ रोपनी जग्गा दूरसंचार प्राधिकरणलाई दिने निर्णय गरेको जानकारी दिए ।
यसअघिको २०७५ फागुन २८ गते बसेको मन्त्रीपरिषदको बैठकले नै खुमलटारको जग्गा दूरसंचार प्राधिकरण र आइटी पार्कका लागि दिने निर्णय गरेको थियो । त्यसमध्ये ४२ रोपनी दूरसंचार प्राधिकरणले प्राप्त गर्ने छ ।
रेडियो प्रसार सेवा विकास समितिअन्तरगत रहेको साबिक ललितपुर उपमहानगर नगरपालिका वडा नम्बर ५ (५क्ष) को कित्ता नम्बर २४७ समेतको ४२ रोपनी जग्गामा नेपाल दूरसंचार प्राधिकरणले भोगअधिकार गर्नेगरि प्रदान गर्ने निर्णय गरेको हो ।
सो जग्गा प्राप्त भएपछि दूरसंचार प्राधिकरणले स्याटेलाइटको लागि अर्थ स्टेशन बनाउने तथा आफ्नो कार्यालय भवन निर्माणको लागि उपयोग गर्ने दूरसंचार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए ।
‘रेडियो नेपालको जग्गा सरकारले यसअघि नै हामीलाई दिने निर्णय गरेको थियो । जग्गा प्राप्त भएपछि त्यहाँ अर्थ स्टेशन बनाउने र कार्यालय राख्ने तयारी गरिएको छ । तर अहिलेलाई हामी त्यहि जग्गामा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) को सर्भर केन्द्र राख्ने तयारीमा छौं,’ अध्यक्ष खनालले भने ।
सरकारले निर्णय गरेअनुसार प्रति आना ४० लाख रुपैयाँमा ४२ रोपनी जग्गा किन्नको लागि दूरसंचार प्राधिकरणले कम्तिमा २ अर्ब ६८ करोड ८० लाख रुपैयाँ रेडियो नेपाललाई तिर्नुपर्ने हुन्छ ।
रेडियो नेपालले सो जग्गा अन्य कम्पनीलाई उपयोगका लागि दिएको थियो । रेडियो नेपालले सरकारको निर्णयपछि गएको भदौ २० गते नै सार्वजनिक सूचना प्रकाशित गर्दै कुवेर ज्ञान हाउजिङ्ग कम्पनी प्रालिले सम्झौतामार्फत लिएको सो जग्गा खाली गर्न भनेको थियो ।
सूचनाअनुसार २०७४ कात्तिक २६ गते गरिएको रेडियो नेपाल र सो कम्पनीबिचको सम्झौता रद्ध गरिएको जानकारी गराएको थियो ।
प्राधिकरणले २०७४ सालमै सो जग्गा प्रति आना ४० लाख रुपैयाँमा किन्ने योजनाअनुसार बजेट छुट्याएको थियो । नेपाल दूरसंचार प्राधिकरण हाल कमलादीस्थित श्री कुञ्ज भवनमा भाडामा बस्दै आएको छ ।
यो पनि हेर्नुस्-
रेडियो नेपालको जग्गा दूरसंचार प्राधिकरणलाई, स्याटेलाइटको अर्थ स्टेशन बनाउने
प्रकाशित: ३० आश्विन २०७६, बिहीबार