रेडियो नेपालको जग्गा दूरसंचार प्राधिकरणलाई, स्याटेलाइटको अर्थ स्टेशन बनाउने

Technology Khabar ३० फाल्गुन २०७५, बिहीबार

रेडियो नेपालको जग्गा दूरसंचार प्राधिकरणलाई, स्याटेलाइटको अर्थ स्टेशन बनाउने
संचार तथा सूचना प्रविधि मन्त्रि गोकुल प्रसाद बाँस्कोटा । फाइल फोटो

काठमाडौं ।

काठमाडौं । सरकारले ललितपुरको खुमलटारमा रहेको रेडियो नेपालको जग्गा नेपाल दूरसंचार प्राधिकरणलाई दिएको छ । मन्त्रिपरिषदले रेडियो नेपालले सो जग्गा नेपाल दूरसंचार प्राधिकरणलाई उपभोग गर्न दिएको हो ।

सरकारका प्रवक्ता सूचना तथा संचार प्रविधि मन्त्रि गोकुल प्रसाद बाँस्कोटाले मन्त्रिपरिषदको निर्णयको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा हाल रेडियो नेपालले भोगचलन गर्दै आएको ४२ रोपनी जग्गा प्राधिकरणलाई उपलब्ध गराउने निर्णय गरिएको बताए ।

सो जग्गा प्राधिकरणलाई दिएपछि प्राधिकरणले सरकारी दररेटअनुसार मन्त्रालयको सहमतिमा रेडियो नेपाललाई जग्गा बापतको रकम उपलब्ध गराउने मन्त्रि बाँस्कोटाले बताए ।

त्यसैगरि सरकारले रेडियो नेपालको सोहि स्थानमै रहेको ११८ रोपनी जग्गा सूचना प्रविधि पार्क बनाउनका लागि उपयोग गर्ने भएको छ । मन्त्रिपरिषदले सो बारेमा निर्णय गरेको मन्त्रिले जानकारी दिए । सो स्थानमा काभ्रेको बनेपामा रहेको सूचना प्रविधि पार्कलाई सार्ने र बनेपाको हालको सूचना प्रविधि भएको स्थानमा सेक्यूरिटी प्रेस उपलब्ध गराउने योजना राखेको छ ।

मन्त्रिपरिषदले हक हस्तान्तरण गरेपछि सो स्थानमा प्राधिकरणले स्याटेलाइटको अर्थ स्टेशन राख्ने योजना लिएको छ । धेरै अगाडिदेखि माग गर्दै आएको सो जग्गामा प्राधिकरणले आफ्ना सम्पूर्ण पूर्वाधारहरु राख्ने योजना बनाएको प्राधिकरणका प्रवक्ता मिन प्रसाद अर्यालले बताए ।

‘सो जग्गामा अर्थ स्टेशन राख्ने, मनिटरिंगको पूर्वाधार बनाउनेलगायतका योजना छ, जग्गा प्राप्त हुने बित्तिकै काम अगाडि बढछ,’ प्राधिकरणका प्रवक्ता मिन प्रसाद अर्यालले भने ।

यसअघि गत वर्ष साउनमै प्राधिकरणले रेडियो नेपालको ललितपुरको भैंसेपाटीमा रहेको ६० रोपनी जग्गा प्रतिआना ४० लाख रुपैयाँका दरले किन्ने योजना बनाएको थियो । प्रतिआना ४० लाख रुपैयाँको दरले ६० रोपनी जग्गा खरिद गर्न ३ अर्ब ८४ करोड रुपैयाँभन्दा बढी खर्च गर्ने तयारी गरेपनि त्यसबेला यो बारेमा ठोस निर्णय हुन सकेको थिएन् ।

easy care

प्रकाशित: ३० फाल्गुन २०७५, बिहीबार

ताजा समाचार