
काठमाडौं ।
काठमाडौं । मोबाइल अपरेटर कम्पनी एनसेलले नेपाल दूरसंचार प्राधिकरणले डाटा सेवाको शुल्क घटाउन दिएको निर्देशन पालना नगरेको भेटिएको छ ।
दूरसंचार प्राधिकरणले एनसेललाई अहिलेको ३ रुपैयाँ प्रति एमबी डाटाको शुल्क प्रतिस्पर्धीहरुको भन्दा तेब्बर महंगो भएको भन्दै सो शुल्कलाई घटाएर २ रुपैयाँ कायम गर्न असार महिनामा नै निर्देशन दिएको थियो । साउन १ गतेदेखि लागू हुनुपर्नेमा कम्पनीले भने हालसम्म सो शुल्क निर्देशनअनुसार घटाएको छैन् ।
दूरसंचार प्राधिकरणबाट खटिएको अनुगमन टोलीले पनि सो कम्पनीको अनुगमन गर्दा प्राधिकरणको निर्देशन विपरित २ रुपैयाँ ७५ पैसा प्रति एमबी मात्र लागू गरेको भेटिएको छ ।
प्राधिकरणका एक उच्च अधिकारीले साउनको चौथो साता तिर गरिएको अनुगमनमा निर्देशन नमानेको देखिएको हुँदा कारबाहीको सिफारिस गरिएको टेक्नोलोजीखबरलाई बताए ।
‘हामीले अनुगमनको लागि खटाएको टोलीले एनसेलमा डाटाको प्रति एमबीको मूल्य प्राधिकरणको निर्देशनअनुसार लागू नभएको भेटिएको छ,’ ती अधिकारीले भने ।
उनकाअनुसार दूरसंचार प्राधिकरणको अनुगमन टोलीले दिएको प्रतिबेदनको बारेमा बोर्डमा छलफल हुन्छ र एनसेललाई आवश्यक कारबाही प्रकृया अगाडि बढ्छ ।
एनसेलको डाटा सेवा शुल्क साउनदेखि घट्दै, नयाँ दर लागू गर्न दूरसंचार प्राधिकरणको निर्देशन
यसअघि एनसेलले प्राधिकरणको २ रुपैयाँ लागू गर्न दिएको निर्देशन नमान्ने भन्दै सन् २०२० अप्रिल पछि मात्र सो सेवा शुल्क दर लागू गर्न सकिने जिकिर गरेको थियो ।
कम्पनीले प्राधिकरणलाई पठाएको पत्रमा हाल २ रुपैयाँ कायम गर्दा कम्पनीको आम्दानी घटेर असर पुग्ने तर्क गर्दै डाटाको शुल्क हाल २ रुपैयाँ ७५ पैसा प्रति एमबी मात्र गर्न सकिने उल्लेख गरेको थियो ।
एनसेलले प्राधिकरणको निर्देशन पटक पटक उल्लंघन गरेको उदाहरणहरु रहेका छन् । यसअघि पनि प्राधिकरणले पल्स दर घटाउन निर्देशन दिँदा तोकिएको समयमा लागू गरेको थिएन् । २०७४ वैशाख १ देखि स्थानिय कलमा १० सेकेण्डको एक पल्स कायम गरेकोमा एनसेलले करिब २० दिनपछि मात्र सो लागू गरेर प्राधिकरणलाई तत्कालिन समयमा असहयोग गरेको थियो । सो घट्नामा प्राधिकरणले केवल ५० हजार रुपैयाँ मात्र जरिवाना गरेर एनसेललाई ग्राहकहरुबाट करिब २० दिनमा उठाएको करोडौं रुपैयाँ आम्दानी देखाउन उन्मुक्ति दिएको थियो ।
दूरसंचार प्राधिकरणको निर्देशन नमान्दा एनसेल कारबाहीमा, ५० हजार रुपैयाँ जरिवाना तिराउने निर्णय
प्रकाशित: २६ श्रावण २०७६, आईतवार