एनसेलको डाटा सेवा शुल्क साउनदेखि घट्दै, नयाँ दर लागू गर्न दूरसंचार प्राधिकरणको निर्देशन

Technology Khabar ११ असार २०७६, बुधबार

एनसेलको डाटा सेवा शुल्क साउनदेखि घट्दै, नयाँ दर लागू गर्न दूरसंचार प्राधिकरणको निर्देशन

काठमाडौं ।

अनुज राज ।

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले एनसेल प्रालिलाई डाटा सेवाको महशुल दर घटाउन निर्देशन दिएको छ ।

प्राधिकरणको बोर्ड बैठकले एनसेललाई हालको डाटा सेवाको शुल्क महंगो भएको भन्दै नयाँ शुल्क कायम गर्न निर्देशन दिएको हो ।

एनसेल प्रालिको डाटा सेवाको महशुर दर पुनरावलोकन गर्ने विषयमा बोर्ड बैठकले छलफल गरेर आगामी साउन १ गतेदेखि प्रति एमबी २ रुपैयाँ मात्र डाटाको सेवा शुल्क लिन पाउने निर्देशन दिएको स्रोतले जानकारी दिएको छ ।

यसअघि एनसेलको डाटा शुल्क पुनरावलोकनका लागि कम्पनीले प्राधिकरणमा निवेदन दिएको तर सो महशुल रकम अन्य सेवा प्रदायकहरुको भन्दा पनि निकै महंगो प्रस्ताव गरेको थियो । एनसेलले हालको डाटा सेवा शुल्क प्रति एमबी ३ रुपैयाँलाई घटाएर प्रति एमबी २ रुपैयाँ ७५ पैसा कायम गर्न निवेदन दिएको थियो ।

तर प्राधिकरण बोर्डले सो प्रस्तावित रकम हाल बजारमा अन्य सेवा प्रदायक प्रतिस्पर्धी कम्पनीहरुको भन्दा निकै महंगो भएको हुँदा बोर्डले प्रति एमबी २ रुपैयाँ सम्म मात्र कायम गर्न निर्देशन दिएको हो । प्राधिकरणले हाल अन्तराष्ट्रिय बजारमा ब्याण्डविथको रेटमा आएको कमी तथा एनसेलले नै संचालन गरेको विभिन्न डाटा प्याकको दर पनि घट्दै गईरहेको हुँदा नयाा दर तोकेको जनाएको छ ।

एनसेलको हालको डाटा सेवाको महशुल दर प्रति एमबी ३ रुपैयाँ २०७१ फागुन २७ गते निर्धारण गरिएको थियो तर अहिलेसम्म कम्पनीको सो दर घट्न सकेको छैन् ।

डाटा सेवाको महशुल दर एनसेलले आउँदो साउन १ गतेदेखि लागू गर्ने हुँदा एनसेल सेवाग्राहीहरुलाई सो घटेको दरबाट लाभ हुनेछ ।

अन्य सेवा प्रदायकहरुमध्ये नेपाल टेलिकमको प्रति एमबी डाटा शुल्क १ रुपैयाँ छ भने स्मार्ट टेलिकमको प्रति एमबी डाटा शुल्क २ रुपैयाँ रहेको प्राधिकरणको भनाई छ ।

Global Bank
easy care

प्रकाशित: ११ असार २०७६, बुधबार

ताजा समाचार