यूटिएल, स्मार्ट र नेपाल स्याटेलाइटले असार मसान्तमा पनि तिरेनन् बाँकी बक्यौता, अब के होला ?

Technology Khabar १ श्रावण २०७६, बुधबार

यूटिएल, स्मार्ट र नेपाल स्याटेलाइटले असार मसान्तमा पनि तिरेनन् बाँकी बक्यौता, अब के होला ?

काठमाडौं ।

काठमाडौं । तीनवटा दूरसंचार सेवा प्रदायक कम्पनीहरुले असार मसान्तसम्म बुझाउनुपर्ने बाँकी बक्यौता रकम बुझाएनन् । यूनाईटेड टेलिकम लिमिटेड(यूटिएल), नेपाल स्याटेलाइट टेलिकम प्रालि र स्मार्ट टेलिकम प्रालिले आफूले नेपाल दूरसंचार प्राधिकरणलाई तिर्नुपर्ने बाँकी बक्यौता रकम असार मसान्तसम्म बुझाएनन् ।

उनीहरुलाई यसअघि पटक पटक बाँकी बक्यौता रकम बुझाउन प्राधिकरणले आदेश दिएपनि अटेर गरेपछि प्राधिकरण बोर्ड बैठकबाटै अन्तिम मौकाको रुपमा बाँकी बक्यौता तिर्न असार मसान्त सम्मको म्याद दिईएको थियो ।

तर सो म्यादसम्म उल्लेखित तीनवटै कम्पनीले बाँकी बक्यौता रकम नबुझाएको प्राधिकरणका कार्यबाहक अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए । ‘हामीले ती कम्पनीहरुलाई असार मसान्तसम्मको म्याद दिएका थियौं, तर सो अवधिभित्र पनि कुनै कम्पनीले बाँकी बक्यौता बुझाएनन्,’ कार्यबाहक अध्यक्ष खनालले टेक्नोलोजी खबरसँग भने ।

उनले बाँकी बक्यौता नबुझाउने कम्पनीको हकमा के हुने भनेर आगामी प्राधिकरण बोर्ड बैठकले निर्णय गर्ने जानकारी दिए ।

यसअघि प्राधिकरणले गत वर्ष २०७५ मा अर्थ समितिको निर्देशनअनुसार १ महिनाको म्याद दिएर बाँकी बक्यौता तिर्न भनेको थियो तर सो अवधिमा उनीहरुले बाँकी बक्यौता रकम नतिरेपछि प्राधिकरणको चौत ११ गतेको बोर्डबाटै पारित गराएर असार मसान्तसम्मको अवधि दिईएको थियो । तर सो तोकिएको अवधिसम्म पनि उल्लेखित कम्पनीहरुले रकम नतिरेका हुन् ।

तत्कालिन समयमा यूटिएलले कम्पनी पूँजी वृद्धिको प्रकृयामा रहेको जानकारी गराएको थियो भने स्मार्ट टेलिकमले विदेशी लगानी खोजिरहेको उल्लेख गरेको थियो । अर्को कम्पनी नेपाल स्याटेलाइट टेलिकमले भने आफुलाई किस्ताबन्दीमा तिर्ने सुविधा दिन माग गरेको थियो ।

कति छ बाँकी तिर्नुपर्ने रकम ?

बाँकी बक्यौता रकम तिर्नुपर्नेमा सबैभन्दा धेरै स्मार्ट टेलिकमको रहेको छ, जसले  गएको फागुन मसान्तसम्मको १ अर्ब ५० करोड ६४ लाख ९० हजार रुपैयाँ भन्दा बढि रकम राजस्वको रुपमा प्राधिकरण तथा सरकारलाई तिर्नुपर्ने देखिएको प्राधिकरणले थियो ।

त्यसैगरि अर्को ठूलो रकम तिर्नुपर्ने कम्पनीमा यूटिएल रहेको छ, सो कम्पनीले गत फागुन मसान्तसम्ममा अनुमानित रुपमा ८२ करोड १५ लाख ३० हजार रुपैयाँ भन्दा धेरै बाँकी बक्यौता दाखिला गर्नुपर्ने हुन्छ ।

अर्को दूरसंचार सेवा प्रदायक कम्पनी नेपाल स्याटेलाइट टेलिकम प्रालिले भने ७६ करोड ५ लाख ९० हजार रुपैयाँ बढि रकम २०७५ फागुन मसान्तसम्मको अनुमानित बाँकी बक्यौताको रुपमा तिर्नुपर्ने देखिएको छ ।

त्यसैगरि इन्टरनेट सेवा प्रदायक केहि कम्पनीहरुको पनि लामो समयदेखिको बाँकी बक्यौता रहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणको तथ्यांकअनुसार वेबसर्फरको २ करोड ४० लाख ३७ हजार रुपैयाँ भन्दा धेरै बाँकी बक्यौता गएको फागुन मसान्तसम्मको रहेको छ भने आइटेल कम्यूनिकेसनको ३५ लाख ४९ हजार रुपैयाँ भन्दा धेरै रकम रहेको छ ।

अर्को आईएसपी ब्रोडलिंक नेटवर्क एण्ड कम्यूनिकेसन प्रालिसहित यूनिलिभर नेपाल र टासी कम्यूनिकेसन सेन्टरलाई पनि तत्कालिन समयमा प्राधिकरणले पत्र काटेको थियो ।

प्राधिकरणकाअनुसार सो बाँकी बक्यौता रकममा सरकारी नियमअनुसार थप जरीवाना र शुल्क थप हुनेछ र सोहि आधारमा नयाँ बाँकी बक्यौता रकम निर्धारण हुनेछ । प्राधिकरणका एक अधिकारीकाअनुसार तीनवटै कम्पनीको बाँकी बक्यौता रकम असार मसान्तपछि बढेर आउनेछ ।

बाँकी बक्यौता नतिरेका दूरसंचार कम्पनीलाई असारसम्मको म्याद, त्यसपछि खारेजी

easy care

प्रकाशित: १ श्रावण २०७६, बुधबार