अपटेड समाचार
सांकेतिक

आईटि ल्याब बनाउन तीन कम्पनी सर्टलिस्टमा, ९३० सरकारी विद्यालयमा सूचना प्रविधि अध्यापन हुने

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले स्थानिय विद्यालयहरुमा बनाउने सूचना प्रविधि प्रयोगशालाको टेण्डरमा तीनवटा कम्पनी सर्टलिस्ट भएका छन् । प्राधिकरणले आईतवार खोलेको सो टेण्डर प्रस्तावमा तीनवटा कम्पनीले सूचना प्रविधि ल्याब बनाउन ईच्छा देखाएका हुन् ।

विद्यालयहरुमा सूचना प्रविधि ल्याब बनाउन ईच्छा देखाउने तीन कम्पनीहरुमा आँखु इन्टरप्राइजेज प्रालि, बालाजु, वल्र्ड डिष्ट्रिब्यूसन नेपाल काठमाडौं र ओब्सी, म्याक्स, नेपाको ज्वाइन्ट भेन्चर रहेका छन् ।

तीनवटै कम्पनीहरुको आर्थिक प्रस्ताव प्राधिकरणले आज खोलेको छ । जसमा आँखुले करिब ३ अर्ब ६६ करोड रुपैयाँ, वल्र्ड डिष्ट्रिब्यूसनले करिब ३ अर्ब ४९ करोड रुपैयाँ र ओब्सी, म्याक्स, नेपाको जेभीले करिब ३ अर्ब ४८ करोड रुपैयाँको टेण्डर हालेका छन् ।

यी तीन कम्पनीहरुले हालेको प्रस्तावको विस्तृत अध्ययन गरेर मात्र सहि टेण्डर रकम आउने प्राधिकरणका एक अधिकारीले जानकारी दिए ।
‘दुई कम्पनीहरुको टेण्डर रकम करिब करिब समान देखिएको छ, बिस्तृत हेरेपछि मात्र सहि रकम आउँछ,’ उनले भने ।

यी तीनमध्ये छनौट हुने कम्पनीले नेपालभर ९ सय १६ वटा विद्यालयहरुमा आईटि ल्याब स्थापना गर्नुपर्नेछ ।

सो कम्पनीले प्रत्येक आईटि ल्याबमा करिब २४ वटा कम्प्यूटर र २ सेट हार्ड डिस्क(एक्सर्टनल)सहित उपलब्ध गराउनुपर्नेछ भने प्रोजेक्टर, प्रिन्टर, सर्भिलेन्स सिस्टम, स्वीच, राउटर, बत्ति नभएको स्थानहरुमा सोलार सिस्टमसमेत जडान गर्नुपर्ने हुन्छ ।

यसबाहेक छनौट कम्पनीले आईटि ल्याब स्थापना गरिने विद्यालयहरुमा ३ दिने टिच फर ट्रेनिंग पनि संचालन गर्नुपर्ने हुन्छ ।

प्राधिकरणका निर्देशक तथा प्रवक्ता मिन प्रसाद अर्यालले विद्यालयस्तर देखि नै सूचना प्रविधिको ज्ञान दिन आईटि ल्याब स्थापना गर्न लागिएको बताए । ‘सरकारले सरकारी र समुदायिक विद्यालयहरुमा आईटि विषयलाई विद्यालयस्तरबाटै अध्यापन गराउने योजनाअनुसार आईटि ल्याब बनाउन थालिएको हो, छनौट कम्पनीले टेण्डर पाएको ६ महिनाभित्र आईटि ल्याब बनाउनुपर्नेछ,’ प्रवक्ता अर्यालले भने ।

अर्यालकाअनुसार सो आइटि ल्याब बनाउन आवश्यक भौतिक पूर्वाधार निर्माण र अध्ययन/अध्यापनको लागि शिक्षकको व्यवस्था भने छनौटमा परेका विद्यालयहरुले नै गर्नुपर्नेछ ।

दूरसंचार प्राधिकरणले सातवटै प्रदेशका सामुदायिक तथा सरकारी माध्यमिक विद्यालयहरुमा सूचना प्रविधि प्रयोगशाला स्थापना गर्न विद्यालयहरु प्रस्ताव माग गरेको थियो । त्यसमध्ये ९३० वटा सामुदायिक तथा सरकारी माध्यमिक विद्यालयहरु छनाैट गरेको थियो ।

छनाैट भएका विद्यालयहरुमा आइसिटी इन एजुकेसन मास्टर प्लान रणनितीअन्तर्गत ई-लर्निंग, ई-स्कूल र ई-एजुकेसनको लागि आधार तयार पारिनेछ ।

त्यसअघि पनि प्राधिकरणले मन्त्रालयको वार्षिक कार्ययोजनाअनुरुप सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र २ नम्बर प्रदेशका जिल्लाहरु तथा दाङ, बाँके, बर्दिया, कपिलबस्तु, नवलपरासी(बर्दघाट सुस्ता पूर्व), नवलपरासी(बर्दघाट सुस्ता पश्चिम) र सुनसरी जिल्लाहरुका विद्यालयहरुमा पनि सूचना प्रविधि प्रयोगशाला स्थापनाको काम गरेको थियो। उल्लेखित जिल्लाहरुमा प्रत्येक निर्वाचन क्षेत्रमा कम्तिमा ६ वटा र अन्य जिल्लाहरुमा प्रत्येक निर्वाचन क्षेत्रमा कम्तिमा ४ वटाको दरले सामुदायिक माध्यमिक विद्यालयहरुलाई सूचना प्रविधि मैत्री बनाउने उद्धेश्यले सूचना प्रविधि प्रयोगशाला स्थापना गरिएकोमा केहि बाँकी रहेका विद्यालयहरुलाई पनि यहि योजनामा गाभिएको प्राधिकरणले जनाएको छ ।

यो पनि हेर्नुस-

सामुदायिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला बनाईने, दूरसंचार प्राधिकरणले माग्यो प्रस्ताव