Technology Khabar २ पुष २०७५, सोमबार
काठमाडौं ।
काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले तीनवटा प्रदेशका सामुदायिक माध्यमिक विद्यालयहरुमा सूचना प्रविधि प्रयोगशाला स्थापना गर्ने भएको छ ।
प्राधिकरणले मन्त्रालयको वार्षिक कार्ययोजनाअनुरुप सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र २ नम्बर प्रदेशका जिल्लाहरु त्था दाङ, बाँके, बर्दिया, कपिलबस्तु, नवलपरासी(बर्दघाट सुस्ता पूर्व), नवलपरासी(बर्दघाट सुस्ता पश्चिम) र सुनसरी जिल्लाहरुका विद्यालयहरुमा सो प्रयोगशाला स्थापना गर्न लागेको हो ।
उल्लेखित जिल्लाहरुमा प्रत्येक निर्वाचन क्षेत्रमा कम्तिमा ६ वटा र अन्य जिल्लाहरुमा प्रत्येक निर्वाचन क्षेत्रमा कम्तिमा ४ वटाको दरले सामुदायिक माध्यमिक विद्यालयहरुलाई सूचना प्रविधि मैत्री बनाउने उद्धेश्यले सूचना प्रविधि प्रयोगशाला स्थापना गर्न लागिएको हो ।
प्राधिकरणले सो प्रयोगशाला स्थापना गर्नका लागि तोकिएको मापदण्ड पुरा गरेर इच्छुक विद्यालयहरुलाई प्रस्ताव पठाउन सार्वजनिक सूचना गरेको छ ।
प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले सरकारले शिक्षालाई सूचना प्रविधिसँग जोड्नका लागि प्रयोगशाला बनाउन लागिएको बताए । ‘प्राधिकरणले यसमा विद्यालय छनौटदेखि स्थापनासम्मको कार्य गर्नेछ, र सामुदायिक विद्यालयमा सूचना प्रविधिको विकास गर्न सहज हुनेछ,’ उनले भने।
यस्तो छ विद्यालय छनौट सम्बन्धी मापदण्डहरु:-
क) छनौट हुने विद्यालय सामुदायिक माध्यमिक तहको विद्यालय हुनुपर्नेछ ।
ख) सुरक्षित पक्की भवन, फर्निचर लगायतका भौतिक पूर्वाधारहरुको राम्रो व्यवस्था भएको हुनुपर्नेछ वा हुने प्रतिवद्धता हुनुपर्नेछ।
ग) सम्भव भएसम्म विद्युत आपुर्ति भएको हुनुपर्नेछ ।
घ) सूचना प्रविधि सम्बन्धी दक्ष जनशक्ति (विज्ञान विषयमा कम्तिमा १२ कक्षा उत्तीर्ण गरी कम्तिमा ३ महिनाको कम्प्युटर विषयमा तालिम लिएको वा कम्प्युटर विज्ञानमा कम्तिमा १२ कक्षा वा सो सरहको अध्ययन गरेको) को व्यवस्था भएको हुनुपर्नेछ वा गराउने प्रतिवद्धता प्राप्त भएको हुनुपर्नेछ ।
ङ) प्रयोगशाला स्थापना भइसकेपछि सोको सफल कार्यान्वयन तथा दिगोपनाको लागि आवश्यक श्रोतको व्यवस्था गर्न सक्ने र अपनत्वको साथ कार्यक्रमको व्यवस्थापन तथा सञ्चालन गर्न विद्यालय व्यवस्थापन समितिको प्रतिवद्धता पत्र रहेको हुनुपर्नेछ।
च) कम्प्युटर विषय अध्ययन/अध्यापन गरिरहेको वा गर्ने प्रतिवद्धता पत्र रहेको हुनुपर्नेछ।
छ) विद्यार्थी संख्या धेरै रहेको र कम्प्युटर प्रयोगशाला नभएको विद्यालहरुलाई प्राथमिकता दिइनेछ |
ज) विभिन्न कारणले पिछडिएको वर्ग/समुदायका बालबालिकाहरु अध्ययन गर्ने विद्यालयलाई विशेष प्राथमिकता दिइनेछ।
प्रकाशित: २ पुष २०७५, सोमबार