टेलिकम प्रबन्ध निर्देशक कामिनीलाई निर्देशन- सेवा बिस्तारदेखि बजार नीतिसम्म ध्यानदेऊ

अनुज राज

काठमाडौं । नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले मन्त्रिपरिषदले दिएको निर्देशनसहितको पत्र बिहिबार बुझेकी छन् । टेलिकमको नियामक निकाय संचार तथा सूचना प्रविधि मन्त्रालयले उनलाई बिहिबार मन्त्रिपरिषदको ११ बुँदे निर्देशनसहितको पत्र दिएको हो ।

मन्त्रिपरिषदले दिएको निर्देशनसहितको पत्रमा उनलाई विभिन्न योजनाहरु समयमा नै सम्पन्न गर्नका लागि भनिएको छ भने टेलिकमले दिने सेवा, गुणस्तरलगायतका विषयहरुमा सुधार गर्न समयावधिसहित निर्देशन दिईएको छ ।

टेलिकम प्रबन्ध निर्देशक राजभण्डारीले समेत निर्देशनसहितको पत्र बुझेको जानकारी दिईन् ।

‘निर्देशनसहितको पत्र आज मैले बुझेँ, जसमा हामीले गर्दै आएको कामको बारेमा नै निरन्तरता दिने विषय उल्लेख छ,’ उनले मोबाइल्सखबरसँग भनिन् ।

उनकाअनुसार टेलिकमले यसअघिदेखि नै निरन्तर गरिरहेको कार्यहरु र योजनाहरुलाई नै निर्देशनमा दिईएको छ । ‘पत्र पाएपछि थप मोटिभेसन भएको छ, अझ राम्रोसँग काम गर भनेको मैले पाएँ,’ उनले स्पष्ट पारिन् ।

प्रबन्ध निर्देशक राजभण्डारीले आगामी दिनमा यसैको आधारमा काम अगाडी बढाउने बताईन् ।

यस्तो छ निर्देशनका बिस्तृत विषयहरु-

स्रोतकाअनुसार मन्त्रिपरिषदले टेलिकम प्रबन्ध निर्देशकलाई दिएको निर्देशन पत्रमा कार्यसम्पादनसहित अन्य विषयहरुको बारेमा उल्लेख गरिएको छ ।

कानूनअनुसार तथा  मन्त्रालयसँग नियुक्ती हुँदा गरेको कार्यसम्पादन मूल्यांकनको आधारसहित न्यूनतम ९.७५ अंक हासिल गर्नुपर्ने उल्लेख छ ।

त्यसैगरि नेपाल टेलिकमको ताररहित सेवा टूजी/थ्रीजीलाई देशैभर ६ महिनाभित्र थप १ करोड सेवाग्राहीसम्म बिस्तार गर्नुपर्ने गरि काम गर्न समेत निर्देशनमा छ ।

हाल टेलिकमले संचालन गरिरहेको ल्याण्डलाइन अर्थात पिएसटिएन लाई आईपी टिभी प्रविधिमा परिवर्तन गर्नुपर्ने गरि काम गर्नुपर्नेछ ।

हालको फाइबर टू दि होम (एफटिटिएच) सेवा आर्थिक वर्ष २०७५/७६ को ६ महिनाभित्रै काठमाडौं उपत्यकाभित्र १ लाख लाइन बिस्तार गर्नुपर्ने समयावधि तोकिएको छ ।

ग्रामीण दूरसंचार कोषको रकम प्रयोग गरेर प्रदेश नम्बर १, २ र ३ मा पुर्याउन लागिएको ब्रोडब्याण्डको ठेक्का सम्झौता ६ महिनाभित्र गरिसक्नुपर्ने बुँदा समेत समेटिएको छ ।

भूकम्प प्रभावित ४ जिल्लाका ७४७ स्थानमा ब्रोडब्याण्ड सेवा चालु वर्षको अन्त्यसम्ममा बिस्तार गरिसक्नुपर्ने छ ।

त्यस्तैगरि टेलिकमद्धारा निर्धारित समयभित्र गुणस्तर सुधार गर्नुपर्ने समेत निर्देशन दिईएको छ ।

सेवाग्राहीले गुनासो गरेको २ दिनभित्रमा नै टेलिकमको मर्मत सेवा प्रदान गरेर समस्या समाधान गर्नुपर्ने समेत उल्लेख छ ।

विभिन्न शहरहरुको मुख्य/मुख्य क्षेत्रहरुमा रहेका टेलिकमका केबलहरु भूमिगत गराउनुपर्ने विषयलाई समेत निर्देशन पत्रमा समेटिएको छ ।

मन्त्रिपरिषदले टेलिकमका प्रबन्ध निर्देशक राजभण्डारीलाई ३ महिनाभित्र अध्ययन गरि कम्पनीको बजार नीति ल्याउन समेत निर्देशन दिएको छ ।

निर्देशनअनुसार नेपाल टेलिकमले विभिन्न अन्य दूरसंचार सेवा प्रदायकहरुसँगको इन्टरकनेक्सन अर्थात अन्तरआबद्धता बापत भुक्तानी लिनुपर्ने बाँकी रकमहरु २ महिनाभित्र उठाई सक्नुपर्नेछ।

त्यसैगरि बेला बेलामा प्राप्त हुने अन्य निर्देशनहरुसमेत पालना गर्नुपर्ने र मन्त्रालयले दिने निर्देशनमा समेत ध्यान दिनुपर्नेगरि उनलाई पत्र दिईएको स्रोतले जानकारी दिएको छ।

स्रोतकाअनुसार टेलिकम प्रबन्ध निर्देशक राजभण्डारीले यहि निर्देशनको आधारमा आफ्नो कार्यदक्षता देखाउनुपर्नेछ भने सोहि आधारमा उनको आगामी दिनमा मूल्यांकन हुनेछ।

यो पनि हेर्नुहोस्-

टेलिकम प्रबन्ध निर्देशक कामिनीलाई मन्त्रिपरिषदको निर्देशन, के छ ११ बुँदे निर्देशन पत्रमा?