टेलिकम प्रबन्ध निर्देशक कामिनीलाई मन्त्रिपरिषदको निर्देशन, के छ ११ बुँदे निर्देशन पत्रमा?

Technology Khabar २९ जेष्ठ २०७५, मंगलवार

टेलिकम प्रबन्ध निर्देशक कामिनीलाई मन्त्रिपरिषदको निर्देशन, के छ ११ बुँदे निर्देशन पत्रमा?

काठमाडौं ।

अनुज राज

काठमाडौं । नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई नेपाल सरकारले सचेत गराउँदै विभिन्न निर्देशनहरु दिएको छ । मन्त्रिपरिषदको शुक्रबारको बैठकले टेलिकमका प्रबन्ध निर्देशक राजभण्डारीलाई निर्देशनसहित सचेत गराउँदै जिम्मेबारी दिन लागेको हो ।

मन्त्रिपरिषदको निर्णय शुक्रबार भएपनि टेलिकमको आधिकारिक निकाय संचार तथा सूचना प्रविधि मन्त्रालय भएको हुँदा सो निर्णय मन्त्रालयमा पठाई सकिएको स्रोतले जानकारी दिएको छ ।

‘मन्त्रिपरिषदले उनलाई ११ बुँदे निर्देशन दिएको छ भने हाल भईरहेको विभिन्न परियोजनाहरु समयमा नै सक्नेगरि सचेत समेत गराएको छ,‘ सो विषयमा जानकार स्रोतले मोबाइल्सखबरसँग भन्यो ।

स्रोतकाअनुसार टेलिकम प्रबन्ध निर्देशक राजभण्डारीको जवाफ मन्त्रिपरिषदलाई सन्तोषजनक नै लागेको हुँदा उनलाई सचेत गराएर केहि निर्देशनसहित जिम्मेबार बनाउन लागिएको हो ।

‘अहिलेलाई सचेत गराउने क्रम भएपनि आगामी दिनमा उनको कार्यक्षमता र टेलिकमको परियोजनाहरुको बिस्तारलाई हेरेर पुन अर्को निर्णय समेत हुनसक्छ,’ स्रोतले स्पष्ट पार्यो ।

के छ निर्देशनमा

मन्त्रिपरिषदको निर्देशनमा हाल भईरहेका टेलिकमका परियोजनाहरु फोरजी सेवा बिस्तार, ग्रामिण दूरसंचार विकास फण्डको लगानीमा हुन लागेको अप्टिकल फाइबर बिस्तार योजना, अप्टिकल फाइबर बिस्तार, सेवाको गुणस्तर सुधारका योजनाहरुलगायतका अन्य कार्यहरु तोकिएको समयमा नै पुरा गर्ने विषयहरु उल्लेख भएको स्रोतको भनाई छ ।

‘हाल भएकै काम र योजनाहरु समयमा नै सम्पन्न गर्नेगरि निर्देशन दिएको हो, जसमा मन्त्रालयले केहि थप गरेर निर्देशनको पत्र दिनेछ,’ स्रोतले भन्यो ।

 

मन्त्रालयले टेलिकम प्रबन्ध निर्देशक राजभण्डारीलाई बुधबार बोलाएर मन्त्रिपरिषदको निर्देशनसहितको सचेत गराएको पत्र थमाउने योजना लिएको छ । जसको आधारमा उनले स्पष्टरुपमा तोकिएका कार्यहरु समयमा नै सकेर सम्बन्धित निकायमा जानकारी समेत गराउनुपर्ने छ ।

उनले यसअघि बैशाख तेस्रो सातामा सातदिने स्पष्टिकरणको पत्र प्राप्त गरेकी थिईन् जसमा उनलाई टेलिकमको काम कारबाहि प्रभावकारीरुपमा नभएको र कार्यदक्षता कमजोर रहेको अरोप लगाईएको थियो ।

स्पष्टिकरणमा तपाईँलाई जिम्मेबारीबाट किन बर्खास्त नगर्ने भन्ने प्रश्न समेत सोधिएको थियो ।

त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले टेलिकमको गतिबिधि प्रति असन्तुष्टि जनाउँदै टेलिकमभित्र मुसा प्रवृत्ति रहेको बताएका थिए । उनलाई विशेषगरि अप्टिकल फाइबर राख्ने कार्यमा ढिलासुस्ती गरेको, टेलिफोनको गुणस्तर सुधार गर्न नसकेको जस्ता आरोपहरु लगाईएको थियो ।

सो स्पष्टिकरणको जवाफमा उनले हाल टेलिकमले गरिरहेका र उनले गर्दै आएको कामकारबाहिको बारेमा निकै लामो बयान मन्त्रालयमार्फत मन्त्रिपरिषदमा पेश गरेकी थिईन् ।

Global Bank
easy care

प्रकाशित: २९ जेष्ठ २०७५, मंगलवार