Technology Khabar १८ फाल्गुन २०७२, मंगलवार
काठमाडौं ।
काठमाडौं, १८ फागुन । हुवावेको अहिलेसम्मको सबैभन्दा उत्कृष्ट फोनमध्येको पी ८ (P8) स्मार्टफोनको नयाँ संस्करण पी नाईनको (Huawei P9) बारेमा विभिन्न जानकारीहरु आई नै रहेका छन् । यसैबिचमा पी नाइन (P9) को लाइभ फोटो सार्वजनिक भएको छ ।
यस अघि पनि हुवावे पी नाईनमा भएको ड्यूल क्यामरा (Dual Camera) र त्यसको विस्तृत जानकारी सार्वजनिक भएको थियो भने स्केम्याटिक्स पनि गत महिना सार्वजनिक भएको थियो । यसैबिच हुवावेको पी नाइन, पी एटको सक्सेसरको रुपमा बजारमा आउन लागेको छ, जसका थप तस्वीरहरु लीक भएको एउटा डच वेबसाइटले जानकारी दिएको छ ।
हुवावे पी नाइनको पछिल्लो भागको दुई तस्वीरहरु लीक भएका छन्, जसमा मोबाइलको एक जोडि लेन्सहरु एउटै ग्लास प्यानलमा रहेको देखिन्छ । एउटै ग्लासमा भएपनि दुबै क्यामरा लेन्सहरु छुट्टा छुट्टै रहेका छन् ।
तस्वीरमा फोनको ड्यूल लेड फ्ल्याश (Dual LED Flash) र संभवत अटोफोकस विण्डो लेजर पनि सार्वजनिक भएको छ । त्यस्तै फोनमा रहेको फिंगरप्रिन्ट सेन्सर (Fingerprint Sensor) अनुमान गरिएअनुसार नै राखिएको लीक तस्वीरमा देखिन्छ ।
सार्वजनिक भएको तस्वीरहरुको स्मार्टफोन दुबै फोन केसमा राखिएको हुँदा डिजाइनको बारेमा कुनै जानकारी छैन् ।
उता लीक भएको अर्को तस्वीर तथा जानकारीमा पी नाईनको बाहिरी खोलको (Case) बारेमा देखाईएको छ । जीएसएमडाेमले सार्वजनिक गरेको यो तस्वीरमा कुनै इन्जिनियर अथवा एसम्बली कामदारले पन्जा लगाएको हातले केस समातेको हुनाले हुवावे पी नाईनको खोल भएको अनुमान गरिएको छ ।
यसमा भएको कन्ट्रोलहरु तथा पोर्ट प्लेसमेन्टलाई हेर्दा यो पी नाइनको केस नै भएको निश्चित गर्न सकिन्छ ।
हुवावेको पी नाइन घोषणा हुने अनुमान गरिएको समय गईसकेको छ तर कम्पनीले यहि मार्च महिनामा पनि हुवावे पी नाइनको घोषणा गर्न सक्ने भएपनि कुनै समय निश्चित गरेको छैन् ।
प्रकाशित: १८ फाल्गुन २०७२, मंगलवार