Technology Khabar १४ भाद्र २०७३, मंगलवार
काठमाडौं ।
काठमाडौं, १४ भदौ । जियोनिले आफ्नो सेल्फी मास्टर लाईनअपमा नयाँ स्मार्टफोन जियोनि एस सिक्स एस (Gionee S6s) ल्याएको छ ।
विशेषगरी फोटो खिच्ने सौखिनहरु तथा सेल्फी प्रेमीलाई ध्यानमा राखेर सार्वजनिक भएको एस सिक्स एसमा १३ मेगापिक्सेलको सोनी आइएमएक्स २५८ रियर क्यामेरा र फ्रन्ट एलईडि फ्ल्यास र स्क्रिन फ्ल्यास सहितको फ्रन्ट क्यामेरा छ जसबाट मधुरो प्रकाशमा पनि उज्यालो सेल्फी खिच्न सकिन्छ ।
फोनमा मेटालिक युनिबडि रहेको छ, जसमा गोरिल्ला ग्लास ३ ले सुरक्षित ५.५ इन्चको फूलएचडि २.५ डी वाटर ड्रप डिस्प्ले छ । एस सिक्स एसमा १.३ गीगाहर्ज प्रोसेसर छ भने फोनमा ३ जीबी र्याम र ३२ जीबी इन्टरनल स्टोरेज छ जुन माइक्रो एसडीकार्डद्धारा १२८ जीबीसम्म बढाउन मिल्नेछ ।
एस सिक्स एसमा फिङ्गरप्रिन्ट स्क्यानर पनि छ जुन फोटो खिच्नका लागि समेत प्रयोग गर्न सकिन्छ । यो डुअल सिम सेटमा ३१५० एमएएचको ब्याट्री छ ।
फोनमा एन्ड्रोइड ६.०.१ मा आधारित जियोनिको आफ्नै युआई अमिगो ३.२ छ । अमिगो ३.२ मा जियोनिले आफ्नै क्यामेरा सफ्टवेयर इमेज प्लस (टाइम ल्याप्स, स्लो मोशन, टेक्स्ट रेकोग्निशन, र पिक नोट सुविधा रहेको) लगायत अन्य कुरामा थप सुधारहरु ल्याएको छ । जियोनिको आफ्नै भिडियो एडिटर पनि फोनमा उपलब्ध छ । स्प्लिट विन्डो सुविधाले गर्दा एकै पटक दुई ओटा एप एकै स्क्रिनमा प्रयोग गर्न सकिन्छ ।
मोका गोल्ड र लाट्टे गोल्ड गरी दुई रंगमा उपलब्ध यो फोनको मूल्य २५ हजार ९ सय ९९ रुपैंया कायम गरिएको कम्पनीले जनाएको छ । नेपाली बजारमा जियोनिको एस सिक्स एसले मासिक ३,००० सेट बिक्रिसहित राम्रो प्रतिक्रिया पाउने आशा गरिएको छ ।
प्रकाशित: १४ भाद्र २०७३, मंगलवार