Technology Khabar २९ श्रावण २०८२, बिहीबार
काठमाडौं ।
दार्चुलाको शैल्यशिखर नगरपालिकाका विभिन्न वडामा इन्टरनेट सुविधा नहुँदा सामाजिक सुरक्षाका लाभग्राहीको नवीकरणमा समस्या भएको छ। सरकारले ज्येष्ठ नागरिकलगायत लाभग्राहीको बायोमेट्रिक प्रमाणीकरण गरेर मात्र नवीकरण गर्नुपर्ने व्यवस्था गरेपछि वडाहरुमा नवीकरण गर्न समस्या भएको हो।
इन्टरनेट विना बायोमेट्रिक सम्भव छैन। ‘समयमै इन्टरनेट नचल्दा ज्येष्ठ नागरिक वडामा आएर समस्यामात्र भोग्नुपरेको छ”, वडा नं. १ का सचिव शेरसिंह खडायतले भने, ‘एकातिर दोहोरो वडाको जिम्मेवारी छ। अर्कोतिर इन्टरनेट छैन। सेवाग्राहीले हामीलाई सेवा नदिएको गुनासो मात्रै गर्छन्।‘ समस्याबारे स्थानीय सरकारले समयमै चासो नलिएको खडायतको गुनासो छ।
सामाजिक सुरक्षा लाभग्राही दिनहुँ वडामा पुगेर फर्किन बाध्य भएको शैल्यशिखर वडा नम्बर ७ का वडा सचिव भुपेन्द्रप्रसाद जोशीले जानकारी दिए। वडामा राम्रो ल्यापटप कम्प्युटर छैन। इन्टरनेट छैन। सेवाग्राहीको मात्रै दिनहुँ भीड लाग्ने गरेको छ। मोबाइल नेटवर्कको स्थिति पनि दयनीय छ। “नेटवर्कका लागि कार्यालय बाहिर मोबाइल झुण्ड्याएर काम गर्नुपर्छ, तर दुईवटा मोबाइल खसेर बिग्रिसके”, जोशीको गुनासो छ। उनका अनुसार कम्प्युटर, ल्यापटप र इन्टरनेट भएमात्र सेवा प्रभावकारी हुन्छ।
“गत वर्षसम्म चिठीपत्र पठाउन मोबाइलमा रिचार्ज हालेटर डाटा प्रयोग गर्थें”, सचिव जोशीले भने”, मोबाइलबाट डाटा चलाएको रकमसमेत बेरुजु आयो, यस्तो अवस्थामा वडाले अहिले ज्येष्ठ नागरिकको बायोमेट्रिक प्रणालीबाट कसरी कामगर्न सक्छ?, डाटा चलाउँदा रु पाँच हजार खर्च भएको थियो।”
वडा सचिव जोशीका अनुसार नगरपालिकाले वडासम्म इन्टरनेट पहुँच पुर्याउन सकेको छैन। वडा नम्बर ४, ५, ७ र ८ मा डाटासमेत राम्रो सँग चल्दैन। यहाँका नौ वडामध्ये अन्य वडामा समेत डाटाले राम्रोसँग काम गरिरहेको छैन। वडा कार्यालयभित्र मोबाइल नेटवर्कसमेत आउँदैन।
नेटवर्कका लागि कार्यालयको बाहिर मोबाइल झुण्ड्याएर काम गर्नुपरेको जोशीको गुनासो छ। “दुईवटा मोबाइल नेटवर्कका लागि झुण्डयाएकै अवस्थाम खसेर बिग्रिसक्यो यो समस्या कसलाई सुनाउनु ? कार्यालयमा काम गर्न कम्प्युटर, ल्यापटप र इन्टरनेट भएमात्रै सेवा प्रभावकारी हुन सक्छ”, उनले भने।
वडा नं २ का सचिव मनोरथप्रसाद भट्टले पनि इन्टरनेट नचल्दा सेवाग्राहीलाई समयमै सेवा दिन नसकिएको बताए। “बुढा आमाबुबालाई बोकेर कार्यालय ल्याउँदा पनि सेवा नदिएर फर्काउनुपर्ने अवस्था छ”, उनले भने”, काम गरौं भन्दा पनि इन्टरनेटले काम नगर्दा हामीले समस्या भोग्नुपरेको छ।”
नगरपालिकाका एमआईएस अपरेटर राजमती खडायतका अनुसार वडा नं ४, ५, ७ र ८ मा मोबाइल डाटा नै चल्दैन। यहाँका अन्य वडामा भने थोरै मात्र काम हुने अवस्था छ। “अहिलेको समयमा इन्टरनेट विना कुनै पनि काम सम्भव छैन, वडाको कामप्रभावकारी बनाउन र समयमै सामाजिक सुरक्षा लाभग्राहीको बायोमेट्रिक विवरण अपलोड गर्न वडामा इन्टरनेट र ल्यापटप तुरुन्तै उपलब्ध गराउनुपर्छ”, उनले भनिन्। स्थानीय ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्ताबाट वञ्चित हुने अवस्था आउने उनको भनाइ छ।
नगरपालिकाका सूचना अधिकारी भोजराज भट्ट वडासचिवले इन्टरनेटको समस्याबारे पटकपटक कुरा उठाएको बताउँछन्। “वडामा भौतिक पूर्वाधार समस्या विस्तारै कम हुँदै गए पनि इन्टरनेट, ल्यापटप लगायतका उपकरणको समस्या व्यहोरेका छन्, यो समस्याबारे कार्यपालिका बैठकमा जानकारी गराउँछु”, भट्टले भने।
नगर प्रमुख विजयसिंह धामीले नेपाल टेलिकमसँग इन्टरनेटको समस्या समाधानका लागि आग्रह गरे पनि समाधान नभएको गुनासो गरे। “नगरपालिकाले सबै वडामा फाइबर नेटवर्क तान्न सक्ने अवस्था छैन, यो निकै महङ्गो पनि छ”, उनले भने, “प्राइभेट इन्टरनेट जडान गरे पनि प्रभावकारी भएन।” अझै पनि वडामा इन्टरनेटको विकल्प खोजी भइरहेको छ।
ल्यापटप अभावबारे आफूलाई जानकारी नभएको बताउँदै नगर प्रमुख धामीले भने, “ल्यापटप छिट्टै पठाउँछौं, यो सामान्य कुरा कर्मचारीले पनि गर्न सक्थे, कार्यालय सञ्चालन खर्चबाट खरिद गर्दा समाधान निस्कन्थ्यो।”-रासस
प्रकाशित: २९ श्रावण २०८२, बिहीबार