Technology Khabar १५ श्रावण २०८२, बिहीबार
काठमाडौं ।
गत आर्थिक वर्ष २०८१/२०८२ मा नेपालमा १७ करोड ८६ लाख ७८ हजार रुपैयाँ बराबरको १ लाख २२ हजार ७१६ थान बीटीएस उपकरण आयात भएको छ।
भन्सार विभागले हालै सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/८२ को समग्र वैदेशिक व्यापार प्रतिवेदनमा यो आँकडा उल्लेख गरिएको पाइएको हो।
गत आर्थिक वर्ष २०८१/८२ मा आएका उक्त मूल्य बराबरका १ लाख २२ हजार ७१६ थान बीटीएस उपकरण अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा सङ्ख्याका आधारमा झण्डै ५० प्रतिशत हाराहारीले बढी हो।
यस प्रकारका उपकरणको सङ्ख्या ५० प्रतिशत वृद्धि भए पनि यसका लागि बाहिरिने रकम भने झण्डै २०० प्रतिशत हाराहारीले बढेको छ। सामान्यतया सङ्ख्या बढ्दा रकम बढ्ने र सङ्ख्या घट्दा रकम घट्ने प्रवृत्ति हुने भएकाले यसपटक पनि सोही अनुरुप भएको छ। तर सङ्ख्या र त्यसका लागि बाहिरिने रकमको वृद्धि अनुपात भने उस्तै छैन।
भित्रिएका बीटीएस उपकरणको सङ्ख्या अघिल्लो आर्थिक वर्ष अर्थात् २०८०/८१ मा ५०३ रहेकोमा गत आर्थिक वर्षमा १३६ बढेर समग्रमा ३६७ पुगेको छ।
तर बीटीएस उपकरणको मूल्य भने अघिल्लो आर्थिक वर्षको तुलनामा तेब्बर भएको छ। अघिल्लो आर्थिक वर्षमा बीटीएस उपकरणका लागि ५ करोड ५९ लाख ६२ हजार रुपैयाँ बिदेशिएकोमा गत आर्थिक वर्षमा भने लगभग २०० प्रतिशत बढी अर्थात् १७ करोड ८६ लाख ७८ हजार रुपैयाँ बाहिरिएकोछ।
नेपालमा अधिकांश इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामानहरु सबैभन्दा बढी चीनबाट आउने गर्छन्। गत आर्थिक वर्षमा पनि चीनबाट नै सबैभन्दा धेरै बीटीएस उपकरण आयात भएको तथ्याङ्क छ। यसबाहेक विश्वका अन्य १५ देशबाट पनि उल्लेख्य मात्रामा बीटीएस उपकरणहरु आयात भएका छन्।
यस्तो छ तथ्याङ्क
क्रं स | देश | विवरण (थान) | रकम (हजारमा) |
१ | चीन | ३२२ | ८३१२ |
२ | भारत | ८ | ४५६ |
३ | जापान | १ | ६५ |
४ | मलेसिया | ४३ | ८६५३ |
५ | ताइवान | २ | ५९ |
६ | यूएई | ८५ | ९४७१४ |
७ | अमेरिका | ४२ | ६६४२० |
के हो बेस स्टेशन?
बेस स्टेशनका नामले पनि चिनिने बीटीएसको पूरा रुप बेस ट्रान्सिभर स्टेशन हो। दूरसञ्चार क्षेत्रभित्रको मोबाइल सञ्चारमा बीटीएस टावरले तरंगहरु पठाउने र पाउने हिसाबले रेडियो ट्रान्सिभरहरुलाई बोक्ने गर्छन्। यिनै ट्रान्सिभरहरुले हावामा तरंगित रेडियो लिंक प्रोटोकललाई हाम्रा मोबाइलसम्म पुर्याएर मोबाइल मार्फत् हुने कुराकारी सफल हुन मद्दत गर्दछन्।
बीटीएस टावरलाई सामान्य भाषामा मोबाइल टावरका रुपमा चिनिन्छ। हामीले विभिन्न ठाउँमा अग्ला डाँडा वा भवनको छतमा देख्ने अधिकांश टावरहरु बीटीएस टावर नै हुन्।
किन आउँछन् बीटीएस उपकरण?
दूरसञ्चार क्षेत्रमध्येको मोबाइल सञ्चारको मुख्य मेरुदण्ड भनेको एक ठाउँबाट पठाइएको सन्देशलाई अर्को ठाउँमा रहेको मोबाइलसम्म पुर्याउने उपकरण नै हुन्। यिनै उपकरणलाई अड्याउनका लागि निर्माण गरिने संरचना नै बीटीएस टावर हुन्।
यस हिसाबले नेपालमा पनि दूरसञ्चार सेवाको उपयोग गर्ने प्रवृत्ति बढिरहेको र देशभरका अधिकांश ठाउँका मानिसहरुले मोबाइल फोनको प्रयोग गरिरहँदा सेवा प्रदायकहरुले आफ्ना सेवा दुर्गम ठाउँहरुसम्म विस्तार गर्दै जानुपर्ने हुन्छ।
यसरी शहरमा मात्र केन्द्रित नभइ गाउँगाउँसम्म मोबाइल सिग्नल पुर्याउनका लागि मोबाइल सेवा प्रदायकहरुले यस्ता बीटीएस उपकरणहरु विश्वका विभिन्न देशहरुबाट आयात गर्ने गर्दछन्।
प्रकाशित: १५ श्रावण २०८२, बिहीबार