पृथ्वीको मिथेन ग्यास ट्र्याक गर्ने सबैभन्दा उन्नत स्याटेलाइट अन्तरिक्षमै नष्ट

Technology Khabar २० असार २०८२, शुक्रबार

पृथ्वीको मिथेन ग्यास ट्र्याक गर्ने सबैभन्दा उन्नत स्याटेलाइट अन्तरिक्षमै नष्ट

काठमाडौं ।

हरितगृह ग्यास ट्र्याक गर्ने सबैभन्दा उन्नत सबैभन्दा उन्नत स्याटेलाइटमध्ये एक अन्तरिक्षमै नष्ट भएको छ।

इन्भाइरोन्मेन्टल डिफेन्स फण्ड ईडीएफ नामक गैरनाफामूलक संस्थाले निर्माण गरेको र सञ्चालनमा ल्याएको मिथेनस्याट उपग्रह सन् २०२४ को मार्चमा स्पेसएक्सको ट्रान्सपोर्टर-१०मिसनमार्फत प्रक्षेपण गरिएको थियो।

स्पेस डटकमका अनुसार यो यानले विश्वभर तेल तथा ग्यास उत्पादनका कारण उत्सर्जित मिथेन ग्यासको हटस्पट पहिचान गरी त्यसमाथि निःशुल्क विश्लेषणात्मक डाटा उपलब्ध गराउने उद्देश्य लिएको थियो।

एक वर्षसम्म डाटा सङ्कलन गरेपछि यो उपग्रह अब कार्यशील छैन। “शुक्रबार, जुन २० मा मिथेनस्याटसँग सम्पर्क टुट्यो। सम्पर्क पुन: स्थापित गर्ने सबै प्रयासपछि हामीले मंगलबार बिहान उपग्रहमा विद्युत् आपूर्ति बन्द भएको पुष्टि गरेका छौं, र अब पुन: सञ्चालन नहुने सम्भावना छ,” ईडीएफले जुलाई १ मा एक विज्ञप्तिमा जनाएको छ।

मिथेन वातावरणीय ताप सम्हाल्ने सबभन्दा शक्तिशाली ग्यासहरूमध्ये एक हो। मिथेन अणुले इन्फ्रारेड विकिरण धेरै प्रभावकारी रूपमा अवशोषण गर्छ, जसले गर्दा यसले कार्बन डाइअक्साइडको तुलनामा पृथ्वीको वायुमण्डलमा २० देखि ३० गुणासम्म बढी तापलाई बाहिर निस्कन दिँदैन।

जीवाश्म इन्धन उत्पादन र औद्योगिक फोहोर मिथेन उत्सर्जनका मुख्य मानवजन्य स्रोत हुन्। यस्तो मिथेन पृथ्वीको ट्रोपोस्फियर — करिब ८ देखि १५ किलोमिटरको उचाइमा — जमिनलाई तताउने कपडाजस्तो रूपमा स्थिर हुन्छ।

मिथेनस्याटलाई नाफामूलक जलवायु मापनका रिपोर्टहरूलाई स्वतन्त्र रूपमा परीक्षण गर्न नीति निर्माता तथा सरोकारवालाहरूलाई सघाउन प्रयोग गर्ने उद्देश्यले डिजाइन गरिएको थियो। “मिथेनस्याट ले अभूतपूर्व पारदर्शिता सिर्जना गरेर मिथेन उत्सर्जन घटाउन उत्प्रेरकको काम गर्ने सोचका साथ डिजाइन गरिएको हो,” मिशनको वेबसाइटमा उल्लेख गरिएको छ।

ईडीएफले ८८ मिलियन अमेरिकी डलर बराबरको यो परियोजनामा बीएई सिस्टम्स, हार्भर्ड विश्वविद्यालय, न्युजिल्यान्ड स्पेस एजेन्सी, बेजोस अर्थ फण्ड, गुगललगायत १० वटा साझेदार संस्थाहरूको योगदान रहेको बताएको छ। यद्यपि अब उपग्रह सेवा बाहिर छ, मिशन टोलीले सङ्कलन गरिएको डेटा उपयोगी नतिजामा परिणत गर्ने प्रतिबद्धता जनाएको छ।

“हामीले प्राप्त गरेका डाटा प्रक्रिया गर्न जारी राख्नेछौं र आउँदो केही महिनामा विश्वव्यापी तेल तथा ग्यास उत्पादन क्षेत्रका थप दृश्यहरू सार्वजनिक गर्नेछौं,”ईडीएफ अधिकारीहरूले बताएका छन्। “जलवायु समस्या समाधान गर्न साहसिक कदम र जोखिम लिनु आवश्यक हुन्छ, र यो उपग्रह विज्ञान, प्रविधि र वकालतको अग्रपङ्क्तिमा थियो।”

Sajilo Visa

प्रकाशित: २० असार २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया