Technology Khabar १९ असार २०८२, बिहीबार
काठमाडौं ।
रसुवास्थित भन्सार शुल्कको कुल आयमध्ये चालीस प्रतिशत राजश्व चिनियाँ सवारी साधनले ओगटेको छ। आर्थिक वर्ष २०८१\८२ को साउनदेखि यही असार १७ गतेसम्मको राजश्व असुली विश्लेषणका आधारमा करिब ४० प्रतिशत हिस्सा सवारी साधन करबाट मात्र प्राप्त भएको भन्सार कार्यालयले जनाएको छ।
प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईका अनुसार चालू आवको यस अवधिमा रु २९ अर्ब ६५ करोड ९३ लाख असुली भएको छ भने गत वर्षको सोही अवधिमा रु २० अर्ब २१ करोड मात्र राजश्व सङ्कलन भएको थियो।
रसुवागढी नाकाबाट विशेषगरी जुत्ता–चप्पल, तयारी पोशाक, र नेपालमा सञ्चालित जलविद्युत् आयोजनाका सामग्री आयात हुने गरेको भन्साल कार्यालयले जनाएको छ।
चालु आवको यस अवधिमा साना ठूला गरी छ हजार ५०० भन्दा बढी सवाारी साधन आयात भइसकेको र चीनतर्फ रु तीन अर्बभन्दा बढीको सामग्री निर्यात भएको भन्सार कार्यालयले स्पष्ट गरेको छ। भन्सार शुल्क बुझाए पनि कतिपय आयातकर्ताले सवारी साधन अहिलेसम्म नलगिदिँदा भन्सार कार्यालयको हाताभित्र लामबद्धरुपमा थन्क्याएर राखिएका छन्।
ठूलो लगानी गरी छिमेकी मित्रराष्ट्र चीनतर्फबाट आयात गरिएका ती सवारी साधन समयमै लगिदिन भन्सार कार्यालयले सम्बद्ध व्यवसायीसँग अनुरोध गरेको छ। यसअघिजस्तै वर्षा लागेसँगै सम्भावित बाढीपहिरोका कारण रसुवागढी नाका आसपासका वस्ती जोखिमको अवस्थामा रहेको स्थानीयबासीको भनाइ छ। रासस
प्रकाशित: १९ असार २०८२, बिहीबार