Technology Khabar १८ असार २०८२, बुधबार
काठमाडौं ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विद्युतीय व्यापार (E-commerce) मार्फत आफ्ना वस्तु तथा सेवा विक्रि गर्ने व्यवसायीहरूलाई आफ्ना व्यवसाय सूचीकृत गर्न निर्देशन दिएको छ। विभागले आज एक सूचना प्रकाशित गरी विद्युतीय आवेदन माग गरेको हो।
सूचना प्रविधिको माध्यम बाट हुने वस्तु तथा सेवाको व्यापारिक कारोवारलाई नियमन गरी व्यवस्थित र विश्वसनिय बनाउन विद्युतीय व्यापार (ई-कमर्स) ऐन २०८१ मिति २०८१ चैत्र ३ गते नेपाल राजपत्रमा प्रकाशन भई २०८२ वैशाख २ गते देखि लागू भइसकेको छ।
यो ऐन बमोजिम ऐन लागू हुनुभन्दा पहिलादेखि विद्युतीय व्यापार गरिरहेका व्यवसायीहरू यो ऐन लागू भएको मितिले तीन महिना भित्र वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभागको विद्युतीय व्यापार पोर्टलमा अनिवार्य रुपमा सूचीकृत हुनुपर्ने र नयाँ व्यवसायीले अनिवार्य रुपमा सूचीकृत गरेर मात्र व्यवसाय गर्नुपर्ने कानूनी व्यवस्था रहेको छ। सोही व्यवस्था अनुसार विभागले यो आह्वान गरेको हो।
‘विद्युतीय व्यापार गरिरहेका र नयाँ शुरुवात गर्ने व्यवसायीले ऐनको दफा ४ को उपदफा (२) वमोजिमका विवरणहरू भएको आफ्नो विद्युतीय प्लेटफर्म तयार गरी सोही ऐनको दफा ५ बमोजिमका कागजातको विद्युतीय प्रति सहित यस विभागको पोर्टलमा सूचीकृत हुनको लागि विधुतीय निवेदन पेश गर्नुहुन अनुरोध गरिएको छ’, सूचनामा भनिएको छ।
हाल विद्युतीय व्यापार गरिरहेका व्यवसायीहरूले ऐनको व्यवस्था बमोजिम मिति २०८२ साउन ०२ गतेभित्र अनिवार्य रूपमा सूचीकरण गर्नको लागि निवेदन पेश गर्न आग्रह गरिएको छ।
विद्युतीय प्लेटफर्ममा उल्लेख गर्नुपर्ने विवरण यसप्रकार छन्:
१. विद्युतीय प्लेटफर्मको नाम
२. व्यवसायको नाम, ठेगाना, दर्ता भएको निकाय र दर्ता प्रमाण-पत्र नम्बर
३. व्यवसायीको रजिस्टर्ड कार्यालय, प्रधान कार्यालय र कारोवार हुने शाखा तथा आउटलेट भए सो समेतको विवरण
४. कुनै खास किसिमको व्यवसाय सञ्चालन गर्न छुट्टै अनुमति प्राप्त गरेको भए सोको विवरण
५. मध्यस्थ वा सूचीमा आधारित व्यापार मध्ये कुन व्यवसाय गर्ने हो सोको विवरण
६. मूल्य अभिवृद्धि कर दर्ता नम्बर वा स्थायी लेखा नम्बर
७. व्यवसायीलाई सम्पर्क गर्ने, ई-मेल, टेलीफोन, मोबाईल नं.. टेलिफ्याक्स, सामाजिक सञ्जालको ठेगाना (लिङ्ग) र ग्राहक सेवाको लागि निर्धारीत ई-मेल, टेलिफोन तथा मोबाईल नम्बर
८. गुनासो सुनुवाई गर्ने जिम्मेवार व्यक्ति वा गुनासो एकाईको ई-मेल, टेलिफोन वा मोबाईल नं. र ठेगाना ९. विद्युतीय व्यापार पोर्टलमा सुचिकृत भए पछि प्राप्त सूचीकरण नं.
विद्युतीय व्यापार पोर्टलमा सुचिकरण हुन आवश्यक पर्ने कागजातहरू यसप्रकार छन्:
१. व्यवसायको नाम ठेगाना दर्ता भएको निकाय दर्ता प्रमाणपत्र नम्वर
२. प्राइभेट फर्ममा दर्ता भएको फर्मको व्यवसायीको हकमा सम्वन्धित प्रोप्राइटरको साझेदारी फर्ममा दर्ता भएको व्यवसायीको हकमा साझेदारको र कम्पनी वा संस्थाको हकमा कम्पनी वा संस्थाको सञ्चालकको नाम र निजको पहिचान खुल्ने विवरण
३. व्यवसायीको आफ्नो व्यवसायको स्पष्ट विवरण
४. मूल्य अभिवृद्धि कर नम्बर वा स्थायी लेखा नम्बर
५. व्यवसायीको टेलिफोन नम्बर, ईमेल सामाजिक सञ्जालको ठेगाना (लिङ्ग) र सम्पर्क ठेगाना
६. शाखा वा आउटलेट भएको खण्डमा सोको सङ्ख्या र रहने स्थान
७. विद्युतीय पोर्टलमा उल्लेख भएका अन्य विवरण
आवेदकहरुका लागि विद्युतीय व्यापार (ई- कमर्स) ऐन २०८१ र विद्युतीय व्यापार पोर्टल सञ्चालन गर्ने म्यानुअल विभागको वेबसाइटमा doc.gov.np मा राखिएको छ।
प्रकाशित: १८ असार २०८२, बुधबार