Technology Khabar १६ असार २०८२, सोमबार
काठमाडौं ।
पत्रकार दिलभूषण पाठकविरुद्ध जिल्ला अदालत काठमाडौंमा साइबर अपराधको मुद्दा दायर भएको छ।
गत असार ३ गते नेपाल प्रहरीको साइबर ब्यूरोले पाठक माथि जेठ २७ गते काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको उल्लेख गर्दै हाजिर हुन आउन सूचना जारी गरेको थियो। पाठकले भने सो आदेशका विरुद्धमा उच्च अदालत पाटनमा निषेधाज्ञाको निवेदन दिएका थिए।
पाठकलाई यूट्युबमार्फत घृणा र द्वेष फैलाएको आरोप सहित साइबर ब्यू्रोमा जाहेरी दिइएको थियो। प्रहरीले पक्राउ पुर्जी जारी गरेर अनुसन्धान अघि बढाउन खोजे पनि उनी केही दिन पक्राऊ परेनन् र गत असार ५ गते उच्च अदालतले पक्राउ नगर्नू भन्ने आदेश पछि प्रहरीले उनलाई पक्राउ गरेको थिएन।
त्यसपछि सामान्य हिसाबले यो घटना समाप्त भएको जस्तो देखिएको थियो।
पत्रकार दिलभूषण पाठकलाई हाजिर हुन आउनका लागि साइबर ब्युरोको सार्वजनिक सूचना
यसबारे बुझ्दा नियमित प्रक्रियाका हिसाबले मुद्दा दर्ता गरिएको हुनसक्ने ब्यूरोका प्रवक्ता तथा सूचना अधिकारी दिपक राज अवस्थीले टेक्नोलोजीखबरलाई बताए। उनले भने, ‘जाहेरी आएर अनुसन्धान गरी त्यो फाइल हामीले सरकारी वकिल कहाँ असार १३ गते पुर्याएका हौं। हामीले मुद्दा हाल्ने होइन।’
उनका अनुसार आरोपित पक्राऊ परेमा २५ दिनभित्र र नपरेको खण्डमा आफूहरुले ३५ दिनभित्र बुझाउनु पर्नेमा ३१औं दिनमा उक्त फाइल सरकारी वकिलको कार्यालयमा पुर्याइएको हो। त्यसपछिका प्रक्रिया सबै सरकारी वकिलको कार्यालयले अगाडि बढाउने हो।
सम्बन्धित समाचार-
साइबर अपराधको अभियोग लागेका पत्रकार पाठकलाई पक्राऊ नगर्न उच्च अदालतको आदेश
प्रकाशित: १६ असार २०८२, सोमबार