Technology Khabar २५ जेष्ठ २०८२, आईतवार
काठमाडौं ।
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगिता पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।
यसबारेमा विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले टेक्नोलोजीखबरलाई भने, ‘टेलिकमका प्रबन्ध निर्देशकसहित जम्मा १८ जनाको नाउँमा भ्रष्टाचार मुद्दा दायर भएको छ।’
अख्तियारले १८ जना प्रतिवादीबाट ३३ करोड ४८ लाख रुपैयाँ माग दावी गरेको सूचना अधिकारी रेग्मीले जानकारी दिए।
आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार नेपाल टेलिकमको जिएसएम मोबाइल, फाइबर इन्टरनेट, लिज्ड लाइन, वायरलाइन र वायरलेसलगायत सेवाको बिलिङका सम्बन्धमा गैरकानुनी तरिकाले खरिद बिक्री गरी अनियमितता भएको आरोपमा मुद्दा दायर गरिएको हो।
आयोगले सोसम्बन्धी उपकरण खरिदका सम्बन्धमा बदनियत राखिएको र सार्वजनिक सम्पत्तिको हिनामिना भएको उल्लेख गरेको छ।
आयोगले टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल, प्रबन्ध निर्देशक संगीता पहाडी, तत्कालीन प्रमुख प्राविधिक अधिकृत प्रतिभा श्रेष्ठ, वित्तीय अधिकृत राजेन्द्र श्रेष्ठविरुद्ध रु ३३ करोड ४८ लाख १७ हजार ४३० बराबरको बिगो दावी गर्दै मुद्दा दायर गरेको जनाएको छ।

यस्तै, तत्कालीन प्रमुख सञ्चालन अधिकृत झविन्द्रलाल उपाध्याय, तत्कालीन निर्देशक विनिता श्रेष्ठ, निमित्त निर्देशक अमूल प्रधान, प्रबन्धक देवेन्द्र खतिवडा, उपप्रबन्धक राजीवकुमार केसी, सन्तोषकुमार श्रेष्ठ, नवल चौधरी, मुक्तिप्रसाद अर्याल, हेमप्रभा रामप्रताप कर्ण, परमात्मा भट्टराइविरुद्ध पनि समान बिगो दावी गरिएको छ।
यस्तै सामान उपलब्ध गराउने तीन चिनियाँ कम्पनी र त्यसका नेपालस्थित प्रतिनिधिविरुद्ध पनि रु ३३ करोड ४८ लाख १७ हजार ४३० बराबरको बिगो माग दाबी गरिएको आयोगले जनाएको छ।
अख्तियारकाअनुसार, एशियाइन्फो युआनहाङ्ग सफ्टवेयर बेजिङ्ग लिमिटेडका तत्कालीन सिनियर डाइरेक्टर तथा सीईओ लोङ्ग योङ्ग, एआई सीआरबीटी एण्ड सीएस प्रोजेक्ट अफिस काठमाडौंका तत्कालीन अपरेसन/प्रोजेक्ट म्यानेजर हुवाङ्ग वेई एल्लो तथा कम्पनीलाई समेत प्रतिवादी बनाईएको छ।
आपसी मिलेमतोमा सार्वजनिक संस्थालाई हानिनोक्सानी पुर्याउने उद्देश्यका साथ एकीकृत बिलिङ प्रणालीका लागि पाँच वर्षको सम्झौता गरिएको आयोगको दावी छ।
मुद्दाको बिबरणअनुसार, नेपाल टेलिकमको १० वर्ष पहिलेको बिलिङ्ग सिस्टमले अहिलेको चाप धान्न नसक्ने प्रक्षेपण गरी नयाँ विलिङ्ग सिस्टमको आवश्यकता देखि ग्लोवल टेण्डर गर्ने निर्णय गरे तापनि मिलेमतो गरी प्रबन्ध निर्देशक सुनिल पौडेल समेतको मिलेमतोमा पुरानै विवादास्पद आपूर्तिकर्ता एशियाइन्फोसँग पुरानै सिस्टम करिव २ अर्व ७२ करोडको हार्डवेयरसमेत विना प्रतिस्पर्धा सोझै खरिद गरी भ्रष्टाचार गरेको भन्ने उजुरी परेको थियो।
नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले २०६८ पुस ६ गते कम्पनी र एशियाइन्फो लिंकेज टेक्नोलोजीज (चाइना) इंक बीच सप्लाई, डेलिभरी, इन्स्टलेशन सुपरभिजन कमिशनिङ्ग एण्ड टेक्निकल सपोर्ट एण्ड वारेन्टी लेभल सर्भिसेज अफ कन्भर्जेन्ट रियल टाइम बिलिङ्ग एण्ड कस्टमर सपोर्ट (सीआरबीटी एण्ड सिएस) सिस्टम प्लस कुल २९ करोड ८१ लाख ४ हजार ५३२ दशमलब ८० अमेरिकी डलरमा सम्झौता भएको थियो। सो कार्य फेज १, फेज २ र फेज ३ गरी तीनओटा चरणमा सम्पन्न गर्ने गरी सम्झौता भएको अख्तियारको मुद्दामा उल्लेख छ।
यस्तो छ आरोप पत्र-
SXToMVप्रकाशित: २५ जेष्ठ २०८२, आईतवार