टेलिग्राममा रूढिवादी रोमानियाली आवाज प्रतिबन्ध गर्न भनिएको सीईओ डुरोभको दाबी

Technology Khabar ६ जेष्ठ २०८२, मंगलवार

टेलिग्राममा रूढिवादी रोमानियाली आवाज प्रतिबन्ध गर्न भनिएको सीईओ डुरोभको दाबी

काठमाडौं ।

टेलिग्रामका संस्थापक पाभेल डुरोभले फ्रान्सेली गुप्तचर प्रमुखले रोमानियाका रूढिवादी आवाजहरू प्रतिबन्ध गर्न आग्रह गरेको आरोप लगाएका छन्।

टेलिग्राम मेसेजिङ्ग एपका संस्थापक पाभेल डुरोभले फ्रान्सको वैदेशिक गुप्तचर संस्था डीजीएसईका प्रमुख निकोलस लर्नरले रोमानियामा निर्वाचनको पूर्वसन्ध्यामा रूढिवादी आवाजहरू प्रतिबन्ध गर्न आग्रह गरेको आरोप लगाए। तर डुरोभले उक्त अनुरोध अस्वीकार गरेका बताएका छन्।

रोयटर्सका अनुसार रुसी मूलका डुरोभ हाल फ्रान्समा न्यायिक निगरानीमा रहेका र पेरिसको भव्य क्रिलोन होटलमा बसेका छन्। उनलाई टेलिग्राममा सङ्गठित आपराधिक क्रियाकलाप भएको आरोपमा औपचारिक रूपमा अनुसन्धान भइरहेको छ।

उनका अनुसार डीजीएसई प्रमुख लर्नरले उनलाई क्रिलोन होटलको सालोन दे बातायमा भेटेका थिए।

“यो वसन्त ऋतुमा Hôtel de Crillon को Salon des Batailles मा फ्रान्सेली गुप्तचर प्रमुख निकोलस लर्नरले रोमानियामा चुनावअघि रूढिवादी आवाजहरू प्रतिबन्ध गर्न आग्रह गरे। मैले अस्वीकार गरें,”डुरोभले आइतबार राति एक्स (पूर्व ट्विटर) मा लेखेका छन्।

“हामीले रूस, बेलारुस वा इरानमा प्रदर्शनकारीहरूलाई प्रतिबन्ध लगाएनौं। हामी युरोपमा पनि यस्तो गर्न सुरु गर्ने छैनौं,” उनले थप लेखेका छन्।

आइतबार भएको रोमानियाको राष्ट्रपति चुनावमा केन्द्रपन्थी बुखारेस्टका मेयर निकुसोर डानले आश्चर्यजनक जित हात पारेका छन्। उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको राजनीतिक बाटो अपनाउने घोषणा गरेका कडा राष्ट्रवादी उम्मेदवार जर्ज सिमिओनलाई पराजित गरेका हुन्।

फ्रान्सको डीजीएसईले एक विज्ञप्ति जारी गर्दै डुरोभसँग विगतमा केहीपटक भेट भएको पुष्टि गरेको छ। ती भेटमा टेलिग्राम कम्पनी र डुरोभ स्वयंले आतंकवाद र बाल यौन दुर्व्यवहारजस्ता खतराहरूको रोकथाममा आफ्नो जिम्मेवारी स्मरण गराइएको डीजीएसईले जनाएको छ।

तर डीजीएसईले निर्वाचनसँग सम्बन्धित कुनै पनि खाताहरू प्रतिबन्ध गर्न अनुरोध गरिएको भन्ने आरोपलाई कडा शब्दमा अस्वीकार गरेको छ।

Sajilo Visa

प्रकाशित: ६ जेष्ठ २०८२, मंगलवार

तपाइको प्रतिक्रिया