Technology Khabar २ जेष्ठ २०८२, शुक्रबार
काठमाडौं ।
फक्सवागन गल्फ जीटीआई विकासको क्रममा रहेको र गाडीको डिजाइन पहिले नै कल्पना गरिसकिएको रिपोर्ट गरिएको छ। अन्तर्राष्ट्रिय बजारमा जर्मन अटोमेकरले अल–इलेक्ट्रिक (पूर्ण–विद्युतीय) गल्फ जीटीआईको विकासको लागि काम सुरु गर्ने तयारी गरिरहेको बताइएको छ। अहिलेसम्म, संसारले कन्सेप्ट (अवधारणा) को रूपमा मात्र ईभीहरूमा जीटीआई ब्याज देखेको छ। सन् २०२३ मा नै ब्रान्डसँग आईडी.जीटीआई (ID.GTI) को अवधारणा थियो र हालैको उदाहरण आईडी.३ जीटीआई (ID.3 GTI) भएको बताइएको छ, जुन सन् २०२६ मा युरोपमा डेब्यू हुन सक्ने सम्भावनो उल्लेख गरिएको छ। त्यसैगरी अब, ब्रान्डले इलेक्ट्रिक गल्फ जीटीआई ल्याउने योजना बनाएको बताइएको छ।
कम्पनीका सीईओ आफैंबाट गल्फ जीटीआईको अस्तित्व पुष्टि गर्ने अपडेट आएको उल्लेख गरिएको छ। “दशकको अन्त्यमा, हामी इलेक्ट्रिक गल्फ जीटीआई ल्याउनेछौं, र त्यो एक मोन्स्टर कार हुनेछ” भनि फक्सवागनका सीईओ थोमस शेफरले अटोएक्सप्रेससँगको अन्तर्वार्तामा बताएको उल्लेख गरिएको छ।
यस बाहेक फक्सवागनका सीईओले गल्फ आर ईभीको विकासको पनि पुष्टि गरेका छन्। इलेक्ट्रिक पावरट्रेन भएको गल्फ आरमा अल–ह्वील–ड्राइभ सिस्टम (प्रणाली) हुनेछ भने इलेक्ट्रिक गल्फ जीटीआईमा यसको आईसीई समकक्षको जस्तै फ्रन्ट–ह्वील–ड्राइभ सिस्टम (प्रणाली) रहिरहने बताइएको छ। यी कारहरूको आधार स्केलेबल सिस्टम्स प्लेटफर्म (एसएसपी) हुनेछ। त्यसैगरी यो प्लेटफर्म भीडब्ल्यू समूहका अन्य ब्रान्डहरूले पनि व्यापक रूपमा प्रयोग गर्नेछन्।
डिजाइनको सन्दर्भमा, फिजिकल प्रोटोटाइप फेज (प्रोटोटाइपको भौतिक चरण)मा अगाडि बढ्नु अघि नयाँ कारको डिजिटल विकास भइरहेको उल्लेख गरिएको छ। “हामीलाई थाहा छ कि गाडी कस्तो देखिन्छ र भर्चुअल रूपमा गाडीमा बस्न सक्छौं” शेफरले भने। “प्लेटफर्म र गाडीको आयाम स्पष्ट छ, तर यसको अन्तिम डिजाइन डिटेलको लागि फाइन ट्युन्ड (राम्रोसँग मिलाइएकोे) गरिएकोे छैन। यसको लागि पार गर्न बाँकी धेरै पुनरावृत्ति चरणहरू रहेका छन्” भनि शेफरले बताएको एनडीटिभीले उल्लेख गरेको छ।
प्रकाशित: २ जेष्ठ २०८२, शुक्रबार