Technology Khabar २ जेष्ठ २०८२, शुक्रबार
काठमाडौं ।
चीनको सबैभन्दा ठुलो प्रविधि कम्पनी टेन्सेन्ट होल्डिङ्सले पहिलो त्रैमासिकमा राजस्व १३ प्रतिशतले वृद्धि भएको जनाएको छ। यसमा गेमिङ र एआई प्रविधिबाट सशक्त बनेको विज्ञापनको योगदान रहेको छ।
सन्देश आदानप्रदान गर्ने लोकप्रिय वीच्याट प्लेटफर्म सञ्चालन गर्ने तथा संसारकै ठूलो भिडियो गेम कम्पनी मानिने टेन्सेन्टले मार्च ३१ मा समाप्त भएको त्रैमासिक अवधिका लागि १८० अर्ब युआन (२४.९७ अर्ब डलर) राजस्व कमाएको छ।
यस अवधिमा कम्पनीको खुद नाफा ४७.८ अर्ब युआन रहेको छ। एलएसईजीको तथ्याङ्कअनुसार विश्लेषकहरूले भने ५२.२ अर्ब युआन नाफाको अपेक्षा गरेका थिए।
कम्पनीले गेमिङ क्षेत्रमा राम्रो प्रदर्शन गरेपछि राजस्वमा वृद्ध देखिएको हो। चीनमा अघिल्लो केही वर्ष कडा नियमन भएको गेमिङ क्षेत्रमा अहिले सहजता आएसँगै यसले कम्पनीलाई फाइदा दिएको रोयटर्सले उल्लेख गरेको छ।
यो त्रैमासिकमा घरेलु गेमिङ राजस्व २४ प्रतिशतले बढेर ४२.९ अर्ब युआन पुगेको छ भने अन्तर्राष्ट्रिय गेमिङ राजस्व २३ प्रतिशतले बढेर १६.६ अर्ब युआन पुगेको छ।
यो वृद्धिमा सन् २०२४ को मे महिनामा सार्वजनिक भएको “डञ्जन एण्ड फाइटर मोबाइल” र सेप्टेम्बरमा सार्वजनिक भएको सुटिङ खेल “डेल्टा फोर्स ” प्रमुख कारण बनेका छन्।
टेन्सेन्टले एआईमा लगानी बढाएको छ। कम्पनीले सन् २०२५ को राजस्वको एक अंश (दश प्रतिशत हाराहारी) पुँजीगत खर्चमा छुट्याउने बताएको छ, जसमा मुख्य रूपमा एआई विकासमा खर्च गरिनेछ।
यसअघि, सन् २०२४ को अन्तिम त्रैमासिकमा कम्पनीले एआईमा केन्द्रित ३९ अर्ब युआन खर्च गरेको थियो। टेन्सेन्टले आफ्नै ठूलो भाषा मोडल हुनयुआन विकास गरेको छ र मार्चमा यसको सार्वजनिक संस्करण टी१ ल्याएको छ।
कम्पनी तेस्रो पक्षको प्रविधि अपनाउन खुला देखिएको छ। टेन्सेन्ट पहिलो ठूलो चिनियाँ प्रविधि कम्पनी हो जसले डीपसिक नामक चिनियाँ एआई स्टार्टअपको प्रविधि अपनाएको हो। डीपसिकले सस्तोमा पश्चिमी मोडलहरू बराबरका एआई मोडल ल्याएर चर्चामा आएको थियो।
प्रकाशित: २ जेष्ठ २०८२, शुक्रबार