Technology Khabar २७ बैशाख २०८२, शनिबार
काठमाडौं ।
अन्तरिक्षमा मानिस पठाउने भारतको पहिलो अभियान अन्तरगत, गगनयानको पहिलो परीक्षण यस वर्षको अन्त्यसम्ममा गरिने बताईएको छ। भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले यसको तयारी सुरु गरेको जानकारी दिएको छ। यसअघि यो परीक्षण अभियान गत वर्षको अन्त्यमा र यस वर्षको मार्चमा गरिने भनिएको थियो।
मिडिया रिपोर्टकाअनुसार, इसरोका अध्यक्ष भी. नारायणनले यस वर्ष अक्टोबरदेखि तीनओटा चालकविहीन अन्तरिक्ष अभियानको परीक्षण गरिने बताए। यसपछि दुई जना चालक दलसहितको परीक्षण अभियानहरू हुनेछन्। देशको पहिलो अन्तरिक्ष यात्रीले २०२७ मा कक्षीय अन्तरिक्ष उडानमा उडान गर्नेछन्।
यो मिसनको सफलतासँगै, भारत अन्तरिक्षमा मानव मिसन पठाउने विश्वको चौथो देश बन्नेछ। गगनयान मिसनको लागि समूह क्याप्टेन प्रशान्त बालकृष्णन नायर, अजित कृष्णन र अंगद प्रतापका साथै विङ्ग कमाण्डर शुभांशु शुक्लालाई अन्तरिक्ष यात्रीको रूपमा छनोट गरिएको छ।
गगनयानको प्रक्षेपण अघि, एक भारतीय अन्तरिक्ष यात्री यस वर्ष जुनमा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा जाने टोलीको हिस्सा हुनेछन्। यसले भारतीय अन्तरिक्ष यात्रीहरूलाई अन्तरिक्षमा यात्रा गर्ने वातावरण बुझ्ने र प्रयोग गर्ने अनुभव दिनेछ।
हालै केन्द्र सरकारले चन्द्रयान-५ मिसनको लागि इसरोलाई स्वीकृति दिएको छ। यो मिसनले चन्द्रमाको वायुमण्डल र अन्य अवस्थाको बारेमा महत्त्वपूर्ण जानकारी प्रदान गर्न सक्छ।
भारतले २०४० सम्ममा चन्द्रमामा मानव मिसन पठाउने लक्ष्य राखेको छ। चन्द्रयान-५ मिसनमा लगभग ३५० किलोग्राम तौल भएको रोभर प्रयोग गर्न सकिन्छ। यस मिसनमा जापानको पनि सहयोग लिइनेछ। यसअघि नै इसरोले चन्द्रयान-४ मिसनको तयारी सुरु गरिसकेको रिपोर्टमा उल्लेख छ।
प्रकाशित: २७ बैशाख २०८२, शनिबार