Technology Khabar २६ बैशाख २०८२, शुक्रबार
काठमाडौं ।
अमेरिकामा आईओएस एप डेभलपर्सलाई बाह्य भुक्तानी प्रणालीतर्फ प्रयोगकर्तालाई पठाउन दिने अदालतको आदेश कार्यान्वयनमा ढिलाइ गर्न एप्पलले प्रयास गरिरहेको छ, जसको उद्देश्य आफ्नो महत्वपूर्ण आम्दानीको स्रोतलाई जोगाउनु हो।
बुधबार साँझ एप्पलले आपतकालीन रूपमा अपिल अदालतमा निवेदन दर्ता गराउँदै अघिल्लो फैसलामा आंशिक स्थगन मागेको टेकक्रञ्चले उल्लेख गरेको छ।
गत साता अमेरिकी अदालतले एप्पलविरुद्ध लामो समयदेखि चलिरहेको मुद्दामा एपिक गेम्सको पक्षमा फैसला गरेको थियो। न्यायाधीश इभोन गोन्जालेज रोजर्सले एप्पलले २०२१ मा दिइएको आदेशको पालना नगरेको ठहर गरेकी थिइन्।
नयाँ आदेशअनुसार, एप्पलले अमेरिकास्थित आफ्नो एप स्टोरमा रहेका एपहरूलाई प्रयोगकर्तालाई बाह्य भुक्तानी प्रणालीमार्फत खरिद गर्न पठाउन सकिने सुविधा राख्न दिनुपर्नेछ। यसका साथै एप्पलले यस्ता भुक्तानीमा कमीशन लिन नपाउने र “डर देखाउने स्क्रिनहरू” देखाउन नपाउनेछ — जसले प्रयोगकर्तालाई एप्पलबाहेक अन्य प्रणालीबाट इन-एप खरिद गर्दा जोखिम हुने चेतावनी दिने गर्दथ्यो।
अब एप्पलले यस्तो आदेश स्थगन गर्न माग गर्दैछ, जसले “बाह्य लिंकमार्फत गरिएका कारोबारमा कटौती लिने” र “त्यस्ता लिंक वा सन्दर्भहरूको भाषा वा स्थानबारे सर्त तोक्ने” अधिकारमा रोक लगाएको छ।
एप्पलले उक्त नयाँ आदेश अनुचित भएको बताएको छ, किनभने यसले अघिल्लो आदेशको दायरालाई “अत्यधिक” बढाएको दाबी गरेको छ। अदालतले सुरुमा गैर-एप्पल भुक्तानी प्रणालीमा कमीशन लिन रोक लगाएको थिएन — किनकि त्यति बेला एप्पलले यस्तो अभ्यास सुरु नै गरेको थिएन।
एप्पलले २०२१ को आदेशको पालना गरेको दावी गरेको छ, जसअनुसार उसले डेभलपर्सलाई बाह्य भुक्तानी प्रणालीतर्फ लिङ्क राख्न दिएको थियो। तर, त्यो क्रममा उसले ती कारोबारमा २७ प्रतिशतको कमीशन लिएको र माथि वर्णन गरिएजस्तै “डर देखाउने स्क्रिनहरू” पनि देखाएको थियो।
प्रकाशित: २६ बैशाख २०८२, शुक्रबार