५० वर्षपछि पृथ्वीमा खस्दै सोभियत संघको शुक्र ग्रह ल्यान्डर कोस्मोस ४८२, कत्तिको प्रभाव पार्ला?

Technology Khabar २६ बैशाख २०८२, शुक्रबार

५० वर्षपछि पृथ्वीमा खस्दै सोभियत संघको शुक्र ग्रह ल्यान्डर कोस्मोस ४८२, कत्तिको प्रभाव पार्ला?

काठमाडौं ।

पचास वर्षभन्दा बढी समयदेखि पृथ्वीको कक्षमा रहेको सोभियत संघको असफल कोस्मोस ४८२ अन्तरिक्ष यान अब केही दिनमै पृथ्वीमा खस्न लागेको छ। यो यान विशेष कारणले चर्चामा छ — किनभने यो साधारण उपग्रह होइन, यो शुक्रग्रहका लागि बनाइएको ल्यान्डर हो।

डच उपग्रह ट्र्याकिङ विज्ञ मार्को लाङब्रूकका अनुसार, “शुक्रग्रहको घना वायुमण्डल पार गर्न बनाइएको ल्यान्डर भएकाले यसले पृथ्वीको वायुमण्डल पनि जस्ताको तस्तै पार गर्न सक्ने सम्भावना छ। यदि त्यस्तो भएमा यो जलेर नष्ट नभई सिधै जमिनमा ठोक्किन सक्छ।”

तर ल्यान्डरको प्याराशुट प्रणालीले अझै काम गर्छ कि गर्दैन भन्नेमा शंका छ। ५३ वर्ष पुरानो यानमा ब्याट्री काम नलाग्ने सम्भावना उच्च छ। साथै, यसको पुनःप्रवेश ढिलो र समथर मार्ग बाट हुने भएकाले परिणाम धेरै अनिश्चित छ।

कोस्मोस ४८२ सन् १९७२ मा सोभियत संघको प्रसिद्ध भेनेरा कार्यक्रम अन्तर्गत शुक्रग्रहमा पठाइएको थियो। तर प्रक्षेपणमा समस्या आएपछि यो पृथ्वीको अण्डाकार कक्षामा नै अड्किएको थियो। त्यसयता वायुमण्डलीय घर्षणले बिस्तारै यसको कक्षा घटाउँदै ल्याएको स्पेस डटकमले उल्लेख गरेको छ।

के-कसरी खस्ला?

लाङब्रूकका अनुसार, कोस्मोस ४८२ को पुनःप्रवेश शनिबार, मे १०, बिहान ४ बजे (ईडडीटी) अर्थात् बिहान ८ बजे (जीएमटी) तिर हुन सक्ने अनुमान छ। तर हाल यो अनुमान ±२०.६ घण्टाको त्रुटिसीमासहित गरिएको हो, जसले गर्दा यकिन पूर्वानुमान दिन कठिन छ।

सम्बन्धित समाचार

सन् १९७२ देखि अलपत्र रुसी अन्तरिक्षयानको टुक्रा अर्को हप्ता पृथ्वीको जुनसुकै ठाउँमा खस्न सक्ने

यसको कक्षाको झुकाव ५२ डिग्री भएकाले यो पृथ्वीको ५२° उत्तरदेखि ५२° दक्षिण अक्षांशबीच कतै पनि खस्न सक्छ। पृथ्वीको करिब ७० प्रतिशत भाग समुद्रले ढाकिएको हुँदा अधिकांश सम्भावना समुद्रमा खस्ने देखिन्छ।

वजन र प्रभाव

यदि यो भेनेरा ल्यान्डरकै जस्तै हो भने यसको चौडाइ करिब १ मिटर र वजन लगभग ४९५ केजी रहेको अनुमान छ। यो खस्दा करिब २४० किमी प्रतिघण्टा (१५० माइल्स/घण्टा) को गतिमा जमिन वा पानीमा ठोक्किनेछ।
यसले पृथ्वीमा ठूलो विनाश ल्याउने सम्भावना भने नगण्य छ। किनभने यो एकल वस्तु भएकाले, फैलिँदो टुक्रा वा आगोको वर्षाजस्तो दृश्य नदेखिने सम्भावना छ।

जसरी फाल्कन ९ को दोस्रो चरण खस्दा धेरै टुक्रा पृथ्वीमा झर्छन्, कोस्मोस ४८२ तुलनात्मक रूपमा कम जोखिमयुक्त छ।

यद्यपि यो ऐतिहासिक र वैज्ञानिक दृष्टिले रोचक घटना भए पनि कोस्मोस ४८२ को खसाइले जनधनको क्षति पुर्‍याउने सम्भावना निकै कम छ। यो एक प्रकारको अन्तरिक्षीय जीवन्त अवशेष हो, जुन अन्ततः पृथ्वीमा फर्कन लागेको छ।

Sajilo Visa

प्रकाशित: २६ बैशाख २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया

ताजा समाचार

Seres accelerates global expansion with Seres 3 launch in Thailand

  • Technology Khabar
  • ९ जेष्ठ २०८२, शुक्रबार