Technology Khabar २५ बैशाख २०८२, बिहीबार
काठमाडौं ।
भारतमा चाँडै नै स्टारलिंकको स्याटेलाइट इन्टरनेट सेवा सुरु हुन सक्छ। अर्बपति इलन मस्कको स्टारलिङ्कले भूउपग्रह सञ्चार सेवाहरू प्रदान गर्न सरकारबाट अनुमति पाएको छ।
भारतीय दूरसञ्चार विभाग (डीओटी) ले यसका लागि स्टारलिङ्कलाई आशय पत्र (एलओआई) जारी गरेको भारतीय मिडियाहरुले रिपोर्ट गरेका छन्। छ।
स्टारलिङ्क मस्कको रकेट कम्पनी स्पेसएक्सले विकास गरेको हो। यसले धेरै देशहरूमा भूउपग्रह प्रविधि प्रयोग गरेर उच्च-गतिको ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदान गर्दछ। स्टारलिङ्कले सबैभन्दा ठूलो तल्लो पृथ्वी कक्षको कन्स्टलेशन प्रयोग गर्दछ।
भारतले पाकिस्तानमा रहेको आतंकवादी अड्डाहरूमा आक्रमण गरेको एक दिनपछि स्टारलिङ्कले यो सेवाको लागि अनुमति पाएको थियो। यद्यपि, दूरसञ्चार विभागका स्रोतहरूलाई उदृत गर्दै मिडियाहरुले यो निर्णयको भारत र पाकिस्तानबीच बढ्दो तनावसँग कुनै सम्बन्ध नभएको उल्लेख गरेका छन्।
यस्तै सेवाको लागि, भारतमा जियो स्याटेलाइट कम्युनिकेसन्स र युटेलस्याट वनवेबलाई पहिले नै इजाजतपत्र दिइसकिएको छ। यी कम्पनीहरूले स्पेक्ट्रम छुट्याइएपछि आफ्नो सेवा सुरु गर्न सक्नेछन्। दूरसञ्चार नियामक ट्राईले स्याटेलाइट इन्टरनेट सेवाहरूको लागि स्पेक्ट्रम बितरण गर्न सिफारिसहरू तयार गरिरहेको छ।
दूरसञ्चार विभाग (डीओटी) ले स्याटेलाइट इन्टरनेट सेवाहरूको लागि सुरक्षा सम्बन्धी नियमहरू जारी गरेको छ। यी नियमहरू अन्तर्गत, प्रयोगकर्ताहरूको कनेक्सन देशको सीमा बाहिर अवस्थित कुनै पनि टर्मिनलमा लिङ्क गर्न प्रतिबन्ध छ। यसका साथै, स्याटेलाइट इन्टरनेट सेवा प्रदान गर्ने कम्पनीहरूले विदेशमा आफ्नो डाटा पनि प्रशोधन गर्न सक्ने छैनन्।
यी नियमहरूले यी सेवाहरू प्रदान गर्ने कम्पनीहरूलाई देशमा व्यवसाय सुरु गरेको केही वर्ष भित्र स्याटेलाइट नेटवर्कको ग्राउन्ड सेगमेन्टको लागि देशमा उत्पादित कम्तिमा २० प्रतिशत पार्टपुर्जाहरू प्रयोग गर्न आवश्यक छ।
दूरसञ्चार विभागले जारी गरेको नियममा स्याटेलाइट इन्टरनेट सेवाको लागि इजाजतपत्र प्राप्त कम्पनीले देशका विशिष्ट गेटवे र हब स्थानहरूको लागि सुरक्षा क्लियरेन्स लिनुपर्ने उल्लेख छ। हालै, स्टारलिङ्कले देशका ठूला टेलिकम कम्पनीहरू रिलायन्स जियो र भारती एयरटेलसँग सम्झौता गरेको थियो।
प्रकाशित: २५ बैशाख २०८२, बिहीबार