गुगलले डिजिटल विज्ञापन बजार र डीएफपी प्लेटफर्म बेच्नुपर्ने अमेरिकी न्याय विभागको ठहर

Technology Khabar २४ बैशाख २०८२, बुधबार

गुगलले डिजिटल विज्ञापन बजार र डीएफपी प्लेटफर्म बेच्नुपर्ने अमेरिकी न्याय विभागको ठहर

काठमाडौं ।

अमेरिकी न्याय मन्त्रालय (डीओजे) ले गुगलले आफ्नो AdX डिजिटल विज्ञापन बजार र डीएफपी प्लेटफर्म बेच्नुपर्ने प्रस्ताव गरेको छ। यो प्रस्ताव एकजना संघीय न्यायाधीशले गुगललाई दुई अनलाइन विज्ञापन प्रविधि बजारहरूमा अवैध रूपमा वर्चस्व कायम गरेको ठहर गरेपछि आएको हो।

सोमबार अबेर अदालतमा पेश गरिएको फाइलिङमा विभागले अल्फाबेट अन्तर्गतको गुगलको एकाधिकार अन्त्य गर्न र विज्ञापन विनिमय तथा प्रकाशक विज्ञापन सर्भर बजारहरूमा प्रतिस्पर्धा पुनःस्थापना गर्न यो कदम आवश्यक रहेको उल्लेख गरेको छ।

भर्जिनियाको अलेक्जान्ड्रियास्थित अमेरिकी जिल्ला न्यायाधीश लियोनी ब्रिन्केमाले गत महिना गुगलले ती दुई बजारहरूमा “जानाजानी एकाधिकार शक्ति हासिल गरी कायम राखेको” ठहर गरेकी थिइन्।

यो फैसला गुगलका लागि अर्को ठूलो झटका हो, किनभने गत वर्ष अर्को मुद्दामा पनि गुगललाई अनलाइन सर्चमा अवैध एकाधिकार राखेको ठहर गरिएको थियो।

ब्रिन्केमाले शुक्रबार गुगल र न्याय विभागसँग सम्भावित उपायबारे सुनुवाइपछि आगामी सेप्टेम्बरमा मुद्दाको मिति तय गरेकी छन्।

गुगलले प्रतिस्पर्धीहरूलाई वास्तविक समयको विज्ञापन बोलकबोलमा पहुँच दिने जस्ता व्यवहारिक उपायहरूमा समर्थन रहेको बताएको छ। तर गुगलकी नियामक मामिलाकी उपाध्यक्ष ली-एन मुलहोल्यान्डले दिएको विज्ञप्तिमा भनिन्, “डीओजेका थप प्रस्तावहरू—हाम्रा विज्ञापन प्रविधि उपकरणहरूको बिक्री गराउनुपर्ने—न्यायाधीशको निष्कर्षभन्दा निकै पर गएका छन्, तिनीहरूको कानुनी आधार छैन र यसले प्रकाशक तथा विज्ञापनदाताहरूलाई क्षति पुर्‍याउँछ।”

अल्फाबेटका शेयरहरू मंगलबार प्रीमार्केट कारोबारमा झण्डै १.१ प्रतिशतले घटेका थिए।

रोयटर्सका अनुसार AdX का नामले चिनिने एड एक्सचेञ्ज एउटा यस्तो बजार हो जहाँ प्रकाशकहरूले आफूसँग बाँकी रहेको विज्ञापन स्थानलाई वास्तविक समयमा विज्ञापनदाताहरूलाई बिक्रीका लागि उपलब्ध गराउन सक्छन्। प्रकाशक विज्ञापन सर्भरहरू भने वेबसाइटहरूले आफ्नो डिजिटल विज्ञापन सामग्री भण्डारण र व्यवस्थापन गर्न प्रयोग गर्ने प्लेटफर्म हुन्।

विज्ञापन विनिमय प्रणालीहरूसँगै, यो प्रविधिले समाचार प्रकाशकहरू र अन्य अनलाइन सामग्री प्रदायकहरूले विज्ञापन बेचेर आम्दानी गर्न सहयोग गर्छ।

गत वर्ष गुगलले युरोपेली संघको प्रतिस्पर्धा अनुसन्धान अन्त्य गर्न AdX बिक्रीको प्रस्ताव राखेको थियो, तर युरोपेली प्रकाशकहरूले उक्त प्रस्ताव अपर्याप्त भन्दै अस्वीकार गरेका थिए।

Sajilo Visa

प्रकाशित: २४ बैशाख २०८२, बुधबार

तपाइको प्रतिक्रिया