Technology Khabar २४ बैशाख २०८२, बुधबार
काठमाडौं ।
एउटा अवकाशप्राप्त उपग्रहको वायुमण्डलीय पुनःप्रवेशको क्रममा भएको नाटकीय हवाई दृश्य पछ्याइले वैज्ञानिकहरूलाई उपग्रह जलेर नष्ट हुने प्रक्रियाबारे नयाँ जानकारी दिएको छ। यसबाट उपग्रहहरूले वायुमण्डलमा पुर्याउने प्रदूषणबारे वैज्ञानिक बुझाइ अझ प्रष्ट हुने अपेक्षा गरिएको छ।
गत वर्ष सेप्टेम्बरको सुरुतिर, युरोपेली वैज्ञानिकहरूको एउटा टोलीले ईस्टर आइल्याण्डबाट उडेको एउटा भाडाको व्यवसायिक जेटमा चढेर युरोपेली अन्तरिक्ष एजेन्सी (ईएसए) को चारवटा क्लस्टर उपग्रहमध्ये एउटा ‘साल्सा’ नामक उपग्रहको वायुमण्डलीय पुनःप्रवेशलाई पछ्याएको थियो। उक्त विमानमा विभिन्न तरंगदैर्ध्यको प्रकाशमा क्षणिक घटनालाई कैद गर्न २६ वटा क्यामेराहरू जडान गरिएको थियो।
यस दुर्लभ अवलोकन अभियानका प्रारम्भिक नतिजाहरू सन् २०२५ को अप्रिलको सुरुतिर जर्मनीको बोनमा आयोजित युरोपेली अन्तरिक्ष फोहोर सम्मेलनमा सार्वजनिक गरिए।
स्याटेलाइट जल्ने घटना — जुन एक उल्काजस्तै देखिने छोटो प्रक्रिया हो — स्थानीय समयअनुसार २०२४ सेप्टेम्बर ८ को मध्यान्हअघि प्यासिफिक महासागरमाथि करिब ५० सेकेन्डसम्म चलेको थियो। दिनको उज्यालोका कारण अवलोकन चुनौतीपूर्ण भएको थियो र अझ शक्तिशाली उपकरणहरूको प्रयोग गर्न नसकिने अवस्था आएको स्पेस डटकमले उल्लेख गरेको छ।
यद्यपि, वैज्ञानिकहरूले उपग्रह जल्दा हुने प्रक्रियाका बारेमा नयाँ तथ्यहरू पत्ता लगाउन सफल भएका छन्, जुन सामान्यतया बुझ्न गाह्रो र अध्ययन गर्न झन् कठिन मानिन्छ।
“घटना अपेक्षाकृत कमजोर देखियो,” जर्मनीको स्टुटगार्ट विश्वविद्यालयअन्तर्गतको इन्स्टिच्युट अफ स्पेस सिस्टम्सका अनुसन्धानकर्ता स्टेफान लोह्लेले बताए। “हामीलाई लाग्छ कि उपग्रह टुक्रिँदा मुख्य वस्तुभन्दा धेरै ढिलो गतिमा टुक्राहरू छुट्टिए, जसका कारण कम विकिरण उत्पन्न भयो।”
लगभग ८० किलोमिटर (५० माइल) माथि प्रारम्भिक विस्फोटपछि वैज्ञानिकहरूले करिब २५ सेकेन्डसम्म टुक्रिन गएको उपग्रहको ट्रेल रेकर्ड गर्न सके। झन्डै ४० किलोमिटर (२५ माइल)को उचाइमा पुग्दा उनीहरूले टुक्राहरूको झलमल हराएका कारण ट्र्याक गर्न गुमाए।
विभिन्न रंगका फिल्टर प्रयोग गरेर, टोलीले जल्ने क्रममा विभिन्न रासायनिक तत्वहरूको उत्सर्जन पत्ता लगाउन सके, जसले उपग्रह जल्दाको वायुमण्डलीय प्रदूषणको प्रकृति बुझ्न सहयोग पुर्याउँछ।
“हामीले लिथियम, पोटासियम र एल्युमिनियम पत्ता लगाएका छौँ,” लोह्लेले भने। “तर हालको अवस्थामा, ती तत्वहरू वायुमण्डलमै दीर्घकालीन प्रदूषणको रूपमा बस्छन् वा सूक्ष्म थोपा भएर पृथ्वीमा खस्छन् भन्ने थाहा छैन।”
संसारभर बढ्दो उपग्रह पुनःप्रवेशको घटनाले वातावरणीय वैज्ञानिकहरूलाई चिन्तित बनाइरहेको छ। उपग्रहहरू प्रायः एल्युमिनियमबाट बनेका हुन्छन्, जसको जलाइले एल्युमिनियम अक्साइड उत्पन्न गर्छ। वैज्ञानिकहरूलाई अलुम्नियाले ओजोन तहमा क्षति पुर्याउन सक्छ र पृथ्वीको घाम परावर्तन क्षमतालाई असर पार्न सक्छ, जसले वायुमण्डलीय ताप सन्तुलनमा परिवर्तन ल्याउन सक्छ भन्ने थाहा छ।
हाल उपग्रह प्रक्षेपणको सङ्ख्या तीव्र गतिमा बढिरहेको छ, जसका कारण धेरै उपग्रहहरू भविष्यमा पृथ्वीमा फर्किनेछन्। त्यसक्रममा उत्पन्न हुने अवशेष र प्रदूषक पदार्थहरू पृथ्वीको माथिल्लो वायुमण्डलमा थपिन क्रम जारी रहनेछ।
यद्यपि उपग्रह पुनःप्रवेशका क्रममा उत्पन्न हुने वायुमण्डलीय प्रदूषणको प्रभाव अझै राम्ररी बुझेको छैन। उपग्रहहरू टुक्रिने उचाइहरू यति जति माथि हुन्छन् कि मौसम अनुसन्धानका लागि प्रयोग हुने बेलुनहरू त्यहाँ पुग्न सक्दैनन्, र तिनीहरू उपग्रहहरूको अन्वेषण क्षमताभन्दा तल्लो स्तरमा पर्छन्।
यस्तो अवस्थामा, क्लस्टर साल्सा पुनःप्रवेश जस्तै हवाई जहाजद्वारा गरिने अवलोकन अभियानहरू यस्ता घटनाहरूका क्रममा हुने रासायनिक प्रक्रियाको सटीक डाटा संकलन गर्ने सबैभन्दा भरपर्दो तरिका मानिन्छ।
यद्यपि, यस्ता अभियानहरू महङ्गा र सञ्चालन गर्न निकै जटिल हुन्छन्। अहिलेसम्म जम्मा पाँचवटा यानको पुनःप्रवेशलाई हवाईमार्गबाट पछ्याइएको छ, जसमा एउटाकोरीयन रकेट स्टेज र तीनवटा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनको आपूर्ति यान अर्थात् (रिसप्लाइ भेइकल्स) समावेश छन्।
“हाल उपग्रह टुक्रिँदा वास्तवमा के हुन्छ भन्नेबारे मोडेल तयार गर्ने अनुसन्धानकर्ताहरूलाई स्पष्ट जानकारी छैन,” अनुसन्धानकर्ता स्टेफान लोह्लेले भने। “हामीले पहिलो जवाफ खोज्नुपर्ने कुरा यही हो। सुरुमा हामी यो सुनिश्चित गर्न चाहन्छौं कि कसैको टाउकोमा केही नखसून। त्यसपछि हामी पत्ता लगाउन चाहन्छौं कि यो प्रदूषण पृथ्वीको वातावरणका लागि कति हानिकारक छ।”
लोह्ले र उनका सहकर्मीहरूले सङ्कलन गरेको डाटाबाट संकेत मिलेको छ कि १,२०० पाउण्ड (५५० किलोग्राम) तौलको क्लस्टर साल्सा उपग्रहको टाइटानियम इन्धन ट्याङ्की पुनःप्रवेशपछि पनि बाँचेको हुन सक्छ र सम्भवत: प्यासिफिक महासागरमा खसेको अनुमान छ। यो जानकारी महत्वपूर्ण छ, विशेषगरी अहिले दैनिक तीनवटा उपग्रह पृथ्वीमा पुनःप्रवेश गरिरहेको युरोपेली अन्तरिक्ष एजेन्सी (ईएसए) को पछिल्लो प्रतिवेदनले देखाएको अवस्थामा।
यीमध्ये धेरैजसो उपग्रहहरू स्पेसएक्सको स्टारलिंक मेगाकन्स्टलेशन अन्तर्गतका हुन्। प्रारम्भिक स्टारलिंक संस्करणको तौल करिब २६० किलोग्राम (५७० पाउण्ड) थियो, तर हालको ” भी२ मिनी” भर्सन ८०० किलोग्राम (१,७६० पाउण्ड) तौलको छ।
आउँदै गरेको पूर्ण “भी२” संस्करण अझ ठूलो हुनेछ, जसको तौल १,२५० किलोग्राम (२,७५० पाउण्ड) हुनेछ।
स्पेसएक्सले यी उपग्रहहरू पूर्ण रूपमा जल्ने गरी डिजाइन गरिएको दावी गरे तापनि, केही भाग कहिलेकाहीँ पृथ्वीको सतहमै पुग्न सक्ने सम्भावनालाई उसैले स्वीकार गरेको छ।
युरोपेली टोली अहिले पनि डाटा विश्लेषण गर्दैछ र प्राप्त अवलोकनहरूलाई कम्प्युटर मोडेलहरूसँग मिलाउने प्रयासमा छ। यसरी अवलोकन र मोडेलबीच मेल कायम भएपछि उपग्रह टुक्रिने क्रममा धातुहरू वातावरणसँग कसरी प्रतिक्रिया गर्छन् भन्नेबारे पनि बुझ्न सकिने आशा गरिएको छ।
“हामीले देखेका घटनाहरूलाई उपग्रह टुक्रावटको मोडेलसँग तुलना गर्दैछौं, ताकि कुन चरणमा कति मास हराइरहेको छ भन्ने थाहा पाउन सकियोस्,” स्लोभाकियामा आधारित एस्ट्रोस सोलुशन्सका सीईओ, तथा यस अवलोकन अभियानका संयोजक जीरी सिल्हाले स्पेस डटकमलाई बताए।
“एकचोटि अवलोकन र मोडेलबीचको मेल पत्ता लागेपछि, हामी पग्लिएको धातुले वातावरणसँग कसरी अन्तरक्रिया गर्छ भन्ने मोडेलिङ गर्न सक्नेछौं।”
प्रकाशित: २४ बैशाख २०८२, बुधबार