वेमोले एरिजोनाको नयाँ फ्याक्ट्रीबाट शुरु गर्यो रोबोट्याक्सी उत्पादन

Technology Khabar २४ बैशाख २०८२, बुधबार

वेमोले एरिजोनाको नयाँ फ्याक्ट्रीबाट शुरु गर्यो रोबोट्याक्सी उत्पादन

काठमाडौं ।

वेमोले धेरै वर्षदेखि आफ्ना स्वचालित ज्यागुअर-आई-पेस ईभी गाडीहरूको वास्तविक संख्याबारे स्पष्ट विवरण दिएको थिएन — जुन परीक्षण र व्यवसायिक रोबोट्याक्सी सेवामा प्रयोग भइरहेका गाडीहरू समेट्छ। तर सोमबार अल्फाबेट अन्तर्गतको यस कम्पनीले अन्ततः व्यवसायिक पक्षको केही विवरण सार्वजनिक गरेको छ।

वेमोले सोमबार एउटा ठुलो घोषणाको भागको रूपमा जानकारी दिँदै, १,५०० भन्दा बढी व्यवसायिक रोबोट्याक्सी हाल सञ्चालनमा रहेको बताएको छ। कम्पनीले अझ बढी गाडी उत्पादन गर्नका लागि बहु-करोड डलरको लगानीमार्फत म्याग्ना सँग सहकार्य गरिरहेको छ, जसअनुसार एरिजोनाको नयाँ कारखानामा २,००० भन्दा बढी स्वचालित आई-पेस गाडीहरू निर्माण गरिनेछन्।

वेमोले म्याग्ना सँग विगतदेखि नै सहकार्य गर्दै आएको हो, विशेषगरी अहिले बन्द भइसकेको डेट्रोइटस्थित उत्पादन केन्द्रमा। नयाँ २३९,००० वर्ग फिटको कारखाना फिनिक्सको मेसा उपनगरमा रहेको छ, जुन वेमो को एक रोबोट्याक्सी बजारभित्र पर्छ र सान फ्रान्सिस्को, लस एन्जलस र अष्टिनजस्ता अन्य सेवा क्षेत्रहरूसँग नजिक पनि छ।

वेमोका एक प्रवक्ताले बताएअनुसार, कम्पनीले अन्य स्थानहरूको पनि मूल्यांकन गरेको थियो, तर अन्ततः मेसालाई रोजिएको हो किनकि त्यो बजारहरू नजिक छ र त्यहाँको स्थिर मौसमले स्वचालित गाडीहरूलाई सार्वजनिक रूपमा चलाउनुअघि आवश्यक परीक्षण प्रक्रिया गर्न सहज बनाउने टेकक्रञ्चले जनाएको छ।

वेमोले आफ्नो ब्लग पोस्टमार्फत जानकारी दिँदै यस वर्षको सुरुतिर ज्यागुअरबाट अन्तिम डेलिभरी प्राप्त भएको जनाएको छ। त्यसपछि म्याग्ना र वेमो ले मिलेर ती गाडीहरूमा स्वचालित प्रणाली जडान गर्ने काम थाल्छन्। कम्पनीले यस्तो नयाँ उत्पादन प्रक्रिया अपनाइएको उल्लेख गरेको छ, जसले निर्माणदेखि परीक्षण हुँदै सार्वजनिक प्रयोगमा ल्याउने समयलाई छोट्याउँछ। ती गाडीहरू आफैंले कारखानाबाट निस्किएर सिधै सेवा दिन जान सक्नेछन्।

“वास्तवमा, यी गाडीहरू कारखानाबाट बाहिरिएको ३० मिनेटमै पहिलो यात्रु उठाउन सक्छन्,” वेमोले आफ्नो ब्लगमा भनेको छ। कम्पनीका अनुसार, अन्य शहरका लागि बनाइएका गाडीहरू पनि आफ्नो स्थानीय डिपोमा पुगेर केही घण्टामै सार्वजनिक सेवा दिन सुरु गर्न सक्नेछन्।

मेसास्थित कारखाना अन्य प्रकारका गाडी प्लेटफर्महरूका लागि पनि तयार पारिएको छ, विशेषगरी वेमोको छैटौँ पुस्ताको स्वचालित प्रणाली यस वर्षको अन्त्यतिर जीकर आरटीमा जडान गर्ने तयारी भइरहेको छ।

कम्पनीका अनुसार, यस कारखानामा स्वचालित एसेम्बली लाइन र अन्य दक्षता प्रणालीहरू क्रमशः सुरु गरिनेछ। पूर्ण क्षमतामा सञ्चालन हुँदा कारखानाले हरेक वर्ष हजारौँ स्वचालित वेमो गाडीहरू उत्पादन गर्न सक्नेछ।

Sajilo Visa

प्रकाशित: २४ बैशाख २०८२, बुधबार

तपाइको प्रतिक्रिया