बन्यो सेरामिक टाइल्सको गुणस्तरसम्बन्धी मापदण्ड, यी प्राविधिक पूर्वशर्तको पालनामा निर्भर गर्छ गुणस्तर

Technology Khabar २४ बैशाख २०८२, बुधबार

बन्यो सेरामिक टाइल्सको गुणस्तरसम्बन्धी मापदण्ड, यी प्राविधिक पूर्वशर्तको पालनामा निर्भर गर्छ गुणस्तर

काठमाडौं ।

नेपालमा केही समययता प्रचुर मात्रामा भुईँ तथा भित्तामा लगाउने गुणस्तरीय टाइल्सहरु उत्पादन हुन थालेका छन् जस्ले भारतबाट हुने आयातलाई धेरै हदसम्म कम गरेको छ।

भारतमा उत्पादित टायलहरु उतै गुणस्तर मापन गरेर पठाइने भएकाले पहिचान गर्न सहज हुन्छ। तर टायलहरुमा प्रयोग हुने कच्चा पदार्थ, प्राविधिक परीक्षणको तरिकालगायत के कसो हुनुपर्ने भन्ने कुनै प्रावधान नभएकाले नेपालमा उत्पादित टाइल्सहरु पहिचान गरी खरिद गर्न ग्राहकहरुलाई अप्ठेरो महसुस हुँदै आएको छ।

यसैबीच स्वदेशी उत्पादकहरुले पनि आयातित टायलहरु सरह नै गुणस्तर कायम गर्न सकुन् र गुणस्तरका नाममा ग्राहक उपभोक्ताले विदेशबाट यस्ता सामग्री झिकाउन नपरोस् भन्ने उद्देश्यले सरकारले प्रेसिङ प्रविधिमार्फत् उत्पादन हुने टायलहरुको गुणस्तरसम्बन्धी मस्यौदा तयार पारेको छ। उक्त मस्यौदा नेपाल गुणस्तर तथा नापतौल विभागको वेबसाइटमा उपलब्ध गराइएको छ।

यो मस्यौदाको क्षेत्राधिकार एक्स्ट्रुजनलगायतका अन्य प्रविधिबाट निर्मित टायलहरुमा पर्दैन।

मस्यौदाले प्रविधिबाट उत्पादित टाइल्सहरुको गुणस्तर निर्धारण गर्ने तत्वहरुको मापदण्ड तोकेको छ जसमा टाइल्सको साइज,  सतहको गुणस्तर, यान्त्रिक, भौतिक तथा रासायनिक आवश्यकताहरु तथा चिह्नित गर्ने कार्यहरु मुख्य छन्।

सरकारले गुणस्तरका लागि मस्यौदा टोली टोली गठन गरेको थियो। उक्त टोलीले विस्तृत छलफल तथा अध्ययन गरेर प्राविधिक रुपमा गुणस्तरीय टाइल्सका लागि अपरिहार्य रहेका बुँदाहरु समेटेर मस्यौदा प्रस्ताव तयार पारेर विभागलाई बुझाएको हो।

मस्यौदा समितिमा विभागका निर्देशक अनिल शाक्य, इन्जिनियर सन्जिव महर्जन, निर्माण व्यवसायी महासंघबाट प्रतिनिधि प्रमोद लामिछाने, लामिनार टायल्स (लुम्बिनी सेरामिक्स)का अध्यक्ष सुब्रत धिताल र कजरिया रमेश टायल्सका सीईओ हिमान्सु अग्रवाल रहेका थिए।

प्राविधिक रुपमा कस्तो हुनुपर्छ त टाइल्स?

गुणस्तरका विभिन्न आयाममध्ये प्राविधिक पाटो अपरिहार्य हुन्छ। कुन प्रविधि प्रयोग गरेर बनाइएको हो, के कस्ता खाले कच्चा पदार्थ के कति मात्रमा प्रयोग भएका छन् त्यसका आधारमा उत्पादनहरु उच्च, मध्यम वा साधारण प्रकारको भनेर छुट्याइन्छ।

गुणस्तर मापदण्ड मस्यौदामा समेटिएका प्राविधिक पक्षबारे टोलीका प्राविधिक विज्ञ पुल्चोक इन्जिनियरिङ कलेजको मेकानिकल विभागका सञ्जीव महर्जन भन्छन्, ‘यसमा उत्पादक कम्पनीहरुका लागि टाइल्समा हुनुपर्ने गुणहरु जस्तै चम्किलो र फिका, भित्तामा लगाउने र भुईँमा लगाउने, पानी धेरै सोस्ने र थोरै सोस्ने, प्रयोग हुनुपर्ने माटो, फेल्ड्सपारलगायतका पदार्थको मात्रा, उत्पादनको प्रक्रिया, टाइल्सको साइज, मोटाई लगायतका कुराहरु प्रस्ट पारिएका छन्।’

उनका अनुसार भारतले हाल आईएसओले तोकेको ०.५ भन्दा पनि कम अर्थात् बढीमा ०.०८ प्रतिशतसम्म मात्र पानी सोस्ने गुणस्तरको भिट्रिफाइड टाइल्स उत्पादन गरेकाले सोही स्ट्याण्डर्ड अनुरुपको समेत टाइल्स उत्पादनका लागि यसमा प्राविधिक तथा अन्य पूर्वशर्तहरु समावेश छन्।

यसबाहेक टाइल्सको मोटाई कतिसम्म हुँदा उसले कति भार सहन सक्छ, सतहले कतिसम्म घर्षण सहन सक्छ भन्ने प्राविधिक पाटो पनि यसमा प्रस्ट रुपमा समावेश छ। जस्तै टाइल्सको सतह चिल्लो देखिए पनि त्यसमा प्रयोग गरिएको कच्चा पदार्थ र प्रविधिका आधारमा चिप्लिने वा नचिप्लिने ‘क्वफिसन्ट अफ’ फ्रिक्शनजस्ता प्राविधिक पाटाबारे पनि बुझाउने कोशिश गरिएको छ। केही समयअघि दरबारमार्ग क्षेत्रमा बिच्छ्याइएको सतह चिप्लो देखिने टाइल्स प्रयोग गर्दा वास्तवमा नचिप्लिने खालको थियो भन्ने कुरा यसैले निर्धारण गर्छ। यो दस्तावेजले यी कुराहरु समेटेको छ।

आफूहरुले २ वटा उद्योग घुम्दा अत्याधुनिक मेशिनसहितको सेटअप पाएकोले अब नेपाली उत्पादकले त्यो गुणस्तर वा स्विमिङ पुलमा राखिने स्तरका समेत टाइल्स उत्पादन गर्नसक्नेछन् भन्नेमा दुविधा मान्नुनपर्ने महर्जनले प्रस्ट्याए।

यसबाहेक उत्पादकले टाइल्सको प्याकेटमा मार्किङ गर्नुपर्ने कम्पनीको नाम, क्याटेगरी, तौललगायत आवश्यक विवरणहरुबारे पनि प्रस्टसँग तोकेको छ। यसबाहेक आफूहरुले प्रत्येक टाइल्सको पछाडि कम्पनीको नाम चिनिने गरी प्रिन्ट गर्नुपर्ने सुझाव पनि राखेको उनले बताए।

महर्जनले थपे, ‘यी सबै  प्राविधिक गुणस्तरहरु उक्त उत्पादमा छन् कि छैनन् भनेर परीक्षण गर्नका लागि आवश्यक प्रक्रिया समेटिएको परिशिष्टका १६ वटा दस्तावेजहरु तयार गर्दैछौं।’

यो मापदण्ड कहिलेबाट लागू हुन्छ भन्ने प्रश्नमा विभागका निर्देशक अनिल शाक्यले भने, ‘तयार पारिएको प्रारम्भिक चरणको मापदण्डको मस्यौदामा राय सुझाव उपलब्ध गराउन ६० दिनको समय तोकिएको छ। तोकिएको अवधिभित्र प्राप्त हुने राय सुझावको आधारमा मापदण्डलाई थप परिमार्जन गरी विभागले नेपाल गुणस्तर परिषद्बाट स्वीकृत गराउनेछ।’

यो गुणस्तर निर्धारणले आम उपभोक्तालाई कसरी फाइदा पुग्छ भन्ने प्रश्नमा  निर्माण व्यवसायी महासंघका अध्यक्ष प्रमोद लामिछानेले टेक्नोलोजीखबरलाई बताए, ‘यसअघि  सरकारी तवरबाट पनि ठेक्का लगाउँदा टाइल्सको गुणस्तरका लागि कजरिया वा शोभनीजस्ता विदेशी ब्राण्डको गुणस्तरसँग मेल खाने हुनुपर्ने शर्त राखिन्थ्यो, हामीसँग कुनै मानक थिएन’, उनले अगाडि थपे, ‘अहिले नेपालमा उत्पादन बढेका कारण आयात हुनुको साटो नीति र वातावरण बनेमा हामी निर्यात गर्न सक्ने अवस्थामा छौं।’

यस अवस्थामा एउटा मानक आवश्यक देखिएकाले गुणस्तर तथा नापतौल विभागले एउटा प्राविधिक मानक तयार गरेको उनको भनाई छ।

‘यो हुनासाथै उपभोक्ताहरु गुणस्तरमा ठगिनु पर्दैन’, लामिछानेले भने। यो मानक बनेपछि नेपालमा रहेका उत्पादकहरुले चाहेमा एनएस चिह्न प्राप्त ‍गर्न सक्छन्। उनका अनुसार गुणस्तर पनि भएको र पर्याप्त मात्रमा उत्पादन भएका कारण यसले आयात प्रतिस्थापन गर्ने निश्चित छ।

प्राविधिक रुपमा टाइल्सको गुणस्तर कसरी थाहा पाउने भन्ने जिज्ञासामा लामिनार टाइल्सका अध्यक्ष सुब्रत धितालको विचार यस्तो छ, ‘ ‘हामीले आत्मसात् गरेको नेपाल गुणस्तर भारतीय गुणस्तरसँग मिल्दोजुल्दो छ। यसमा प्रयोग भएका तत्वहरुका आधारमा टाइल्सले जति कम पानी सोस्यो त्यति नै गुणस्तरीय मानिन्छ।

तयारी टाइल्सलाई निश्चित पानीमा उमालेर हेर्दा त्यसले ००.८ प्रतिशतसम्म मात्र पानी सोसेको खण्डमा त्यो सबैभन्दा गुणस्तरीय टाइल्स हो भन्ने मानिन्छ जसलाई पूर्णरुपमा भिट्रिफाइड टायल अर्थात्  भनिन्छ।’

टायलले पानी कति सोस्छ भन्ने कुरा टायल कति खँदिलो छ र यसमा प्रयोग भएका खनिज तत्वहरुको उपस्थिति कस्तो छ भन्नेमा भर पर्ने उनले प्रस्ट पारे। सबैभन्दा उच्च कोटीको टायलमा फेल्ड्सपार नामक खनीज ६० प्रतिशत हुन्छ। यसलाई १२ सइ डिग्री तापक्रममा ५५ मिनेट हाराहारी पकाएपछिको घनत्व प्राप्त गरेपछि यो छिद्रविहीन हुन्छ र पानी सोस्दैन वा नगण्य सोस्छ।

यसपछि सेरामिक पोर्सेलिन टाइल्स हुन्छ जसले ३ प्रतिशतसम्म पानी सोस्छ, यसलाई भित्ता वा भुईँ दुवैमा प्रयोग गर्न सकिन्छ। तेस्रो तहको टाइल्सलाई सेरामिक फ्लोर टाइल्स भनिन्छ र यसले १० प्रतशितसम्म पानी सोस्छ। यस्तै अन्तिम कोटिको टाइल्सलाई सेरामिक वाल टाइल्स भनिन्छ जसले आफ्नो तौलको १० प्रतिशतभन्दा बढी पानी सोस्छ।

यस्तो छ वर्गीकरण

क्र. सं. समूह प्रकार नाम पानी सोस्ने मात्रा
सबैभन्दा कम पानी सोस्ने (Group I) B I A सेरामिक फुल्ली भिट्रिफाइड टाइल्स ०.०८ भन्दा कम
सबैभन्दा कम पानी सोस्ने (Group I) B I B सेरामिक पोर्सेलिन टाइल्स ०.०८ देखि ३ प्रतिशतसम्म
मध्यम पानी सोस्ने (Group II) B II A सेरामिक फ्लोर टाइल्स ३ देखि ६ प्रतिशतसम्म
मध्यम पानी सोस्ने (Group II) B II B सेरामिक फ्लोर टाइल्स ६ देखि १० प्रतिशतसम्म
उच्च पानी सोस्ने (Group III) B III सेरामिक वाल टाइल्स १० प्रतिशतभन्दा बढी

*प्रकारमा प्रयोग भएको I, II र III  ले रोमन अंकप्रणालीको क्रमश: १, २ र ३ लाई जनाउँछन्। 

Sajilo Visa

प्रकाशित: २४ बैशाख २०८२, बुधबार

तपाइको प्रतिक्रिया