Technology Khabar २३ बैशाख २०८२, मंगलवार
काठमाडौं ।
अर्बपति ईलन मस्कको कम्पनी स्पेसएक्सले अब आफ्नो आधिकारिक सहर पाउने भएको छ।
स्पेसएक्सको स्टारबेस प्रक्षेपण स्थल वरपरको क्षेत्र, जुन दक्षिण टेक्सासमा पर्छ, त्यहाँका बासिन्दाहरूले शनिबार भएको मतदानमा भारी बहुमतले नयाँ सहरको रूपमा दर्ता गर्ने निर्णय गरेका छन्।
क्यामरुन काउन्टी निर्वाचन विभागले अनलाइन प्रकाशित गरेको नतिजा अनुसार २१२ जनाले समर्थनमा मत दिएका थिए भने मात्र ६ जनाले विरोधमा मतदान गरेका थिए।
मस्कले आफ्नो सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “स्टारबेस, टेक्सास अब साँच्चैको सहर बनेको छ!”
टेकक्रञ्चका अनुसार नयाँ सहरका अधिकांश बासिन्दा स्पेसएक्सका कर्मचारीहरू भएको विश्वास गरिएको छ। शनिबारको मतदानमा बासिन्दाहरूले तीन जना वर्तमान र पूर्व स्पेसएक्स कर्मचारीहरू — बबी पेडेन, जोर्डन बस, र जेना पर्ट्जेल्का — लाई निर्विरोध रुपमा मेयर र दुई जना कमिश्नर पदमा निर्वाचित पनि गरेका छन्।
द एसोसियटेड प्रेसको रिपोर्ट अनुसार स्पेसएक्सले यो क्षेत्रलाई सहरको रूपमा किन दर्ता गर्नु पर्यो भन्नेबारे स्पष्ट रूपमा उल्लेख गरेको छैन। तर कम्पनीले आफूले पहिले नै सडक, खानेपानी, बत्ती, स्कुल र स्वास्थ्य सेवा जस्ता सुविधा व्यवस्थापन गर्दै आएको र अब लन्चको समयमा नजिकैको बोका चिका समुद्री किनारा र राज्य पार्क बन्द गर्न काउन्टीबाट सहर सरकारमा अधिकार स्थानान्तरण गर्न खोजिरहेको बताएको छ।
हालै मस्कले ट्रम्प प्रशासनको विवादास्पद डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसियन्सी सँगको भूमिका “हप्ता एक-दुई दिनमा सीमित गर्ने” बताएका थिए। उनले गत वर्ष स्पेसएक्सको मुख्यालय क्यालिफोर्नियाको एल सेगुन्डोबाट टेक्सासको स्टारबेसमा सार्ने घोषणा गरेका थिए।
त्यस बेलामा मस्कले भनेका थिए, “म कार्यालय आउँदा-जाँदा हिंस्रक लागुपदार्थ प्रयोगकर्ताको समूहबाट जोगिनु पर्ने स्थिति धेरै भइसकेको थियो,” र अन्तिम कारण भनेको एउटा क्यालिफोर्निया विधेयक थियो, जसले विद्यालयलाई विद्यार्थीको यौन पहिचान वा लिङ्ग पहिचान अभिभावकको अनुमति बिना बताउन निषेध गरेको थियो।
प्रकाशित: २३ बैशाख २०८२, मंगलवार