Technology Khabar २३ बैशाख २०८२, मंगलवार
काठमाडौं ।
इलन मस्कको स्वामित्वमा रहेको सामाजिक सञ्जाल एक्समा प्रकाशित नयाँ रिपोर्ट अनुसार, युरोपेलीहरूले यो प्लेटफर्मलाई ठूलो मात्रामा त्यागिरहेका छन्।
कम्पनीले युरोपेली संघको प्रमुख प्रविधि नियमन, डिजिटल सेवा ऐनको पालना गर्न सार्वजनिक गर्न आवश्यक रहेको र एक्सद्वारा यस हप्ता जारी गरिएको पछिल्लो तथ्याङ्कले युरोपमा प्रयोगकर्ताहरूको संख्यामा उल्लेखनीय गिरावट देखाएको उल्लेख गरिएको छ।
गत वर्षको अगस्टदेखि, प्लेटफर्मले १ करोड १० लाख युरोपेली प्रयोगकर्ताहरू गुमाएको छ जसमा सबैभन्दा धेरै फ्रान्स (२७ लाख), पोल्याण्ड (१८ लाख) र जर्मनी (१३ लाख) प्रयोगकर्ताहरूले प्लेटफर्म त्यागेको रेकर्ड गरिएको छ।
हाल प्लेटफर्मको युरोपमा लगभग ९ करोड ५० लाख (९५ मिलियन) प्रयोगकर्ताहरू रहेका छन् जुन एक वर्ष अघि लगभग १० करोड ५० लाख थियो र यो ६ महिनामा १०.५ प्रतिशतले गिरावट भएको उल्लेख गरिएको छ। लिथुआनिया र लक्जमबर्गले आफ्ना प्रयोगकर्ताहरूको एक चौथाई गुमाएको पोलिटिकोले उल्लेख गरेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको पहिलो १०० दिनमा उनका सबैभन्दा प्रमुख सल्लाहकारहरू मध्ये एक रहेका मस्कले सन् २०२२ मा एक्स (त्यसबेला ट्विटरको रूपमा चिनिन्थ्यो) किनेका थिए। उनले प्लेटफर्मको नियमहरूमा गरेका परिवर्तनहरू र संयुक्त राज्य अमेरिकादेखि युरोपसम्म दक्षिणपन्थी राजनीतिक आन्दोलनहरूलाई समर्थन गर्दा वेबसाइटमा गलत सूचना र हेट स्पिच (घृणायुक्त भाषण) फैलिएकोमा प्लेटफर्मको आलोचना भएको छ।
मस्कले प्लेटफर्म नियन्त्रणमा लिएपछि पेरिस शहरले जनवरीमा प्लेटफर्म त्यागेको थियो भने प्रसिद्ध लेखक स्टीफन किङदेखि लिएर लिड्स विश्वविद्यालय र बेलायती अखबार द गार्जियन सहित विभिन्न मिडिया आउटलेटहरू प्लेटफर्म छोड्ने खातामा सामेल भएको बताइएको छ।
युरोपेली आयोगले सन् २०२३ देखि अवैध सामग्री र नक्कली समाचारमा कारबाही गर्न ईयू आवश्यकताहरूको एक्सले पालना गरिरहेको छ कि छैन भनेर अनुसन्धान गरिरहेको छ भने प्लेटफर्मलाई गत जुलाईमा कानून उल्लङ्घन गरेको आरोप लगाएको थियो। यद्यपि ईयूले लामो समयदेखि प्रतिक्षा गरिएको जरिवाना भने नलगाएको उल्लेख गरिएको छ।
मस्कको इलेक्ट्रिक भेहिकल कम्पनी टेस्लाले पनि हालैका महिनाहरूमा युरोपमा मन्दीको सामना गरेको छ। यस वर्षको जनवरी र फेब्रुअरीमा कम्पनीको बिक्री ५० प्रतिशतभन्दा बढीले घटेको टेलीग्राफले उल्लेख गरेको छ।
प्रकाशित: २३ बैशाख २०८२, मंगलवार