ब्रह्माण्डबाहिरको बाह्य ग्रहमा एलियनहरु बाँचिरहेको अनुमान फितलो बन्दै, के हो त वास्तविकता?

Technology Khabar २१ बैशाख २०८२, आईतवार

ब्रह्माण्डबाहिरको बाह्य ग्रहमा एलियनहरु बाँचिरहेको अनुमान फितलो बन्दै, के हो त वास्तविकता?
एलियनहरुको सांकेतिक तस्विर। बिङमा डालए ३ को सहयोगमा तयार पारिएको।

काठमाडौं ।

हालै युनिभर्सिटी अफ क्याम्ब्रिज नेतृत्वमा रहेको खगोलशास्त्रीहरूको एक समूहले सौर्यमण्डलबाहिर जीवनको “सबल प्रमाण” भेटिएको दावी गर्दै विश्वभरको ध्यान तानेको थियो।

उनीहरूले पृथ्वीबाहेकको एक ग्रहको वायुमण्डलमा सल्फर-आधारित ग्यासहरू पत्ता लागेको बताए — यस्ता ग्यासहरू पृथ्वीमा प्रायः जैविक प्रक्रियासँग सम्बन्धित हुन्छन्। तर, ती नतिजाको स्वतन्त्र परीक्षणले अहिले त्यसको विश्वसनीयतामा प्रश्न उठाएको छ।

स्पेस डटकमका अनुसार ब्रिटेनको युनिभर्सिटी अफ अक्सफोर्डका जेक टेलरले उक्त ग्रह के२-१८बी को वायुमण्डल विश्लेषण गर्दा कुनै विशेष ग्यास पत्ता लगाउने पूर्वधारणाविना सामान्य सांख्यिकीय परीक्षण प्रयोग गरे।

तर उनले विश्लेषण गर्दा सामान्यतः ग्यास अणुको उपस्थिति जनाउने वस्तु देखिनुको सट्टा चौडा रेखा देखिएको बताएका छन्। यसले उपलब्ध तथ्यांक धेरै अव्यवस्थित वा संकेत निकै कमजोर छ भन्ने देखाउँछ जसका कारण निष्कर्ष निकाल्न पर्याप्त छैन।

यो अध्ययन अप्रिल २२ मा प्रि-प्रिन्ट रूपमा सार्वजनिक गरिएको हो र अझै सहकर्मी समीक्षा भइसकेको छैन।

युनिभर्सिटी अफ क्यालिफोर्निया, रिभरसाइडका सहायक प्राध्यापक एडी श्वेस्टरम्यानले भने, “यो वैज्ञानिक प्रक्रिया सक्रिय रूपमा काम गरिरहेको प्रमाण हो। यही त हो जुन हामी चाहन्छौँ — विभिन्न स्वतन्त्र समूह वा व्यक्तिले एउटै तथ्यांकको विश्लेषण र व्याख्या गर्ने। यो एउटा हो, र आशा गरौं थप अध्ययनहरू पनि आउनेछन्।”

युनिभर्सिटी अफ क्याम्ब्रिजका निक्कु मधुसुदन र उनका सहकर्मीहरूले सन् २०२३ मा पहिलोपटक के२-१८बी मा डाइमेथाइल सल्फाइड (डीएमएस) ग्यासको उपस्थिति रहेको दावी गरेका थिए।

यो ग्रह पृथ्वीभन्दा करिब नौ गुणा भारी छ र आफ्नो ताराको “ह्याबिटेबल जोन” मा अवस्थित छ, जहाँ जीवन टिक्न सक्ने सम्भावना रहन्छ। यो जेम्स वेव स्पेस टेलिस्कोप जेडब्लूएसटीको प्रयोग गरेर पत्ता लगाइएको थियो।

त्यसपछि अप्रिल १७ मा सोही टोलीले अर्कै जेडब्लूएसटी उपकरण प्रयोग गरी पहिलेभन्दा अझ स्पष्ट र बलियो प्रमाण भेटिएको दावी गर्‍यो। तर सन् २०२३ को डीएमएस पत्ता लगाइएको दावी स्वतन्त्र विश्लेषणबाट पुष्टि हुन सकेको थिएन।

पृथ्वीमा डीएमएमस प्रायः समुद्री लेऊजस्ता जीवबाट मात्र उत्पादन हुने भएकाले यो ग्यासलाई सम्भावित “बायोसिग्नेचर” मानिन्छ। पत्रकार सम्मेलनमा मधुसुदनले भनेका थिए, “हामीले पहिलोपटक जीवन युक्त सम्भावित विदेशी ग्रहको सङ्केत देखिरहेका छौँ। यो एक क्रान्तिकारी क्षण हो।”

यो घोषणाले उत्साह र प्रचार पाएको भए पनि अनुसन्धानमा सहभागी नभएका वैज्ञानिकहरूले यसलाई प्रारम्भिक परिणाम भन्दै सावधानी अपनाउन सुझाव दिएका छन् र यसमा अझ धेरै परीक्षण आवश्यक रहेको बताएका छन्।

यस बहसमा मुख्य विषय मधुसुदन र उनको टोलीले डीएमएस पत्ता लागेको दाबी तीन-सिग्मा महत्त्वका आधारमा गर्नु हो, जसको अर्थ उक्त नतिजा आकस्मिक हुनसक्ने सम्भावना ०.३ प्रतिशत मात्र छ।

तर, वैज्ञानिक प्रमाणलाई ठोस मान्नका लागि पाँच-सिग्मा स्तर (०.००००३प्रतिशत सम्भावना) अपेक्षित हुन्छ। आलोचकहरूले जेडब्लूएसटी को क्षमता सीमासम्म प्रयोग गरिएको, डीएमएस सँगै देखिनुपर्ने इथेनजस्ता अन्य अपेक्षित अणुहरूको अनुपस्थिति, र अनुसन्धानकर्ताले प्रयोग गरेको मोडेल पक्षपाती हुनसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।

टेलरको अध्ययनले सरल मोडेल प्रयोग गरेर विश्लेषण गर्दा डीएमएस पत्ता लागेको प्रमाणलाई बढी महत्त्व दिएको हुनसक्ने देखाउँछ। तर मधुसुदन र उनको टोली भने आफ्नो नतिजाप्रति दृढ छन्।

एनपीआरलाई पठाएको इमेलमा मधुसुदनले लेखेका छन्, “यो कागजमा केही पनि यस्तो छैन जुन हाम्रो नतिजासँग सान्दर्भिक लाग्छ वा चिन्ताजनक होस्। मलाई त थोरै मात्र अचम्म लाग्यो कि खण्डन गर्न यति कम स्तर पर्याप्त हुन्छ!”

खगोलजीवविद् मिकाएला मुसिलोभाले भनिन्, “कुनै पनि खोजलाई पुष्टि गर्न स्वतन्त्र स्रोतबाट प्रमाण आउनुपर्छ, सांख्यिकीय रूपमा बलियो हुनुपर्छ, र जैविक नभएका कारणहरूलाई अस्वीकृत गर्न सक्नुपर्छ। हालसम्म के२-१८बी सम्बन्धी उपलब्ध कुनै पनि तथ्यांकले ती मापदण्ड पूरा गरेका छैनन्।”

के के२-१८बी साँच्चै जीवनयोग्य छ?

यो बहसको मूल विषय ‘के२-१८बी जीवन फस्टाउन सक्ने ग्रह हो कि होइन’ भन्ने हो। पछिल्लो अनुसन्धानले यो ग्रह आफ्नो तारासँग यति नजिक छ कि सतहमा तरल पानी रहन सक्दैन, जसले यसलाई ‘ह्याबिटेबल जोन’ बाहिर राख्दछ र मधुसुदन र उनको टोलीको “महासागरयुक्त ग्रह” भन्ने दावीको खण्डन गर्दछ।

त्यस्तै, सन् २०२४ मा वैज्ञानिकहरूले डीएमएस एउटा चिसो, निर्जीव धूमकेतुमा भेटिएको घोषणा गरेका थिए, जसले यस्तो ग्यास जैविक नभएका अज्ञात रासायनिक प्रक्रियाबाट पनि बन्न सक्ने सम्भावना देखाउँछ।

मधुसुदन र उनको टोलीले देखाएको संकेत साँच्चै डीएमएस हो वा होइन भन्ने निष्कर्षमा पुग्न थप स्वतन्त्र विश्लेषण आवश्यक रहेको मुसिलोभा, स्वाइटरम्यान लगायत विज्ञहरू सहमत छन्।

ती संकेत हराएका पनि हुनसक्छन्, वा हालको प्रविधिले पत्ता लगाउन नसक्ने अवस्थामा पनि हुनसक्छन्। जेसुकै भए पनि यो अन्योल समाधान गर्न अझ धेरै अवलोकन आवश्यक रहेको स्वाइटरम्यानले बताए।

“यदि यो कथाको अन्तिम परिणाम ‘सार्वजनिक क्षेत्रले भविष्यमा जीवनसम्बन्धी दावीहरूमा बढी सतर्कता अपनाउने’ भयो भने त्यो नराम्रो होइन,” उनले भने।

Sajilo Visa

प्रकाशित: २१ बैशाख २०८२, आईतवार

तपाइको प्रतिक्रिया