सयौं आई.टी. कम्पनीमा लाखौंको संख्यामा जनशक्तिले कार्य गर्ने वातावरण बनाउँदैछौं -सञ्चारमन्त्री गुरुङ

Technology Khabar १९ बैशाख २०८२, शुक्रबार

सयौं आई.टी. कम्पनीमा लाखौंको संख्यामा जनशक्तिले कार्य गर्ने वातावरण बनाउँदैछौं -सञ्चारमन्त्री गुरुङ
फाइल तस्बिर।

काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले केन्द्र र सातै प्रदेशमा सूचना प्रविधि हब र ज्ञान पार्क स्थापना गर्ने र सयौं आई.टी. कम्पनीमा लाखौंको संख्यामा जनशक्तिले कार्य गर्ने वातावरण तयारी गर्ने सम्बन्धमा आवश्यक गृहकार्य अगाडि बढिरहेको बताएका छन्। यसैगरी उनले डिजिटल इको सिस्टम निर्माणका लागि आवश्यक नीति र कानून निर्माणलाई तीव्रता दिईएको जानकारी दिए।

सञ्चार मन्त्री गुरुङले ‘सूचना प्रविधिको अभियान डिजिटल नेपालको निर्माण मूल नाराका साथ आज मनाइँदै गरेको आठौं राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८२ को अवसरमा दिएको संदेशम प्रविधिको विकाससँगै नेपाल पनि सूचना प्रविधिको युगमा प्रवेश गरिरहेको बताएका छन्। उनले डिजिटल सोच, डिजिटल सेवा र सूचना प्रविधिको प्रभावले नेपालीहरूको जीवनशैलीमा समेत परिवर्तन आएको उल्लेख गरेका छन्।

उनले सार्वजनिक सेवा प्रवाहमा समेत विद्युतीय प्रणालीको प्रयोग बढ्दो क्रममा रहेको भन्दै। डिजिटल भुक्तानी प्रणालीको विकास र उपयोगमा तीव्रता आएको उल्लेख गरे।

यस्तै, देशभर दूरसञ्चार सेवाको पहुँच पुगेको छ, सबै स्थानीय तह र वडा केन्द्रसम्म यसै वर्षको अन्त्य सम्ममा दिगो ब्रोडब्यान्ड इन्टरनेट सेवाको पहुँच पुयाउन निरन्तर कार्य भइरहेको जनाएका छन्।

“देशका कुना कन्दशसम्म ४जी सेवाको व्यापक विस्तार गर्नुका साथै काठमाडौं र सातै प्रदेशका मुख्य नहरहरूमा यसै वर्षको अन्त्य सम्ममा ५जी प्रविधिमा आधारित सेवा विस्तार गर्न आवश्यक प्रक्रिया अगाडि बढिरहेको छ । कागज रहित सार्वजनिक सेवा प्रवाह प्रवर्द्धन गर्न सरकारी एकीकृत कार्यालय व्यवस्थापन प्रणालीको कार्यान्वयन भइरहेको छ। नागरिकलाई आवश्यक सेवा एकीकृत रूपमा उपलब्ध गराउने उद्देश्यका साथ विकास गरिएको नागरिक एपलाई थप सबलीकरण र आधुनिकीकरण गर्दै जाने क्रममा ३५ सरकारी निकायका ६५ भन्दा बढी सेवाहरू आबद्ध गरिसकिएको छ,” संदेशमा उल्लेख छ।

मन्त्री गुरुङले सरकारी डाटा सेन्टरको स्तरोन्नति र आधुनिकीकरण गर्ने, निजी क्षेत्रका डाटा सेन्टरहरूको सञ्चालन सम्बन्धी निर्देशिका तयार गर्ने, डिजास्टर रिकभरी सेन्टर स्थापना र प्रभावकारी सञ्चालनका लागि आवश्यक नीतिगत तथा संस्थागत प्रबन्ध गरी सबलीकरण र आधुनिकीकरण गर्ने कार्य सुरु गरिएको जानकारी दिएका छन्।

“संसारभर कृत्रिम बुद्धिमत्ताको प्रयोग तीव्र गतिमा बढिरहेको सन्दर्भमा नेपालले पनि यस क्षेत्रमा महत्वपूर्ण कदम चालेको छ। सरकारले ए.आई. को क्षेत्रमा जनशक्ति विकास, अध्ययन, अनुसन्धान नवप्रवर्तन र उद्यमशीलताको विकास गर्न र ए.आई. को प्रयोग मार्फत क्षेत्रगत विकास र सार्वजनिक सेवाको गुणस्तरमा सुधार गर्ने उद्देश्य सहित राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स नीति २०८१ निर्माण कार्य सम्पन हुने चरणमा पुर्याएको छ। सूचना प्रविधिका लागि अपरिहार्य सूचना प्रविधि तथा साइवर सुरक्षा विधेयक संसदमा दर्ता हुने क्रममा रहेको छ। राष्ट्रिय साइवर सुरक्षा नीति-२०८० कार्यान्वयनमा छ। साइवर सुरक्षाको जोखिम पहिचान, प्रतिकार्य र अनुगमन गर्न राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गरिएको छ।”

यसैगरी, डिजिटल नेपाल फ्रेमवर्कलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ यसको समसामयिक परिमार्जनको कार्य सम्पन्न हुने चरणमा रहेको भन्दै  सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतका निकायहरूको पुनसंरचना गरी समग्र क्षेत्रकै रूपान्तरण गर्ने प्रक्रिया सुरु भइसकेको उल्लेख गरे।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालको समग्र सूचना प्रविधि विकासका लागि घोषित सूचना प्रविधि दशकलाई समेटेर २५ वर्षे दीर्घकालीन रणनीति सहितको दस्तावेज तयार गरी ‘सूचना तथा सञ्चार प्रविधि विकास मार्गचित्र २०२५ तयार गर्ने योजना रहेको मन्त्री गुरुङले संदेशमार्फत भनेका छन्।

राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स नीतिका लक्ष्य तथा उद्देश्य पूरा गर्न ए.आई. सेन्टर स्थापना गर्ने र समग्र सञ्चार तथा सूचना प्रविधि क्षेत्रका नीतिलाई एकीकृत गरी एकीकृत डिजिटल नीति तयार गर्ने लक्ष्य समेत मन्त्रालयको रहेको छ। एआई प्रविधिको उपयोग, डिजिटल साक्षरताको अभिवृद्धि, साइबर सुरक्षाको सबलीकरण र नागरिक एपको प्रभावकारी प्रयोगमा लक्षित कार्यक्रम सञ्चालन गर्ने लक्ष्य मन्त्रालयको रहेको छ।

यस्तै, नेपालको आफ्नै भू-उपग्रह स्थापना गर्ने आवश्यक तयारी प्रक्रिया सुरु गरिसकिएको तथा केन्द्र र सातै प्रदेशमा सूचना प्रविधि हब र ज्ञान पार्क स्थापना गर्ने र सयौं आई.टी. कम्पनीमा लाखौंको सख्यामा जनशक्तिले कार्य गर्ने वातावरण तयारी गर्ने सम्बन्धमा आवश्यक गृहकार्य अगाडि बढिरहेको संदेशमा उल्लेख छ।

Sajilo Visa

प्रकाशित: १९ बैशाख २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया