भारतीय अडानी समूहले किन रोक्यो टावर सेमिकन्डक्टरसँगको १० अर्ब डलरको चिप निर्माण परियोजना?

Technology Khabar १९ बैशाख २०८२, शुक्रबार

भारतीय अडानी समूहले किन रोक्यो टावर सेमिकन्डक्टरसँगको १० अर्ब डलरको चिप निर्माण परियोजना?

काठमाडौं ।

भारतीय अर्बपति गौतम अडानीको समूहले इजरायली कम्पनी टावर सेमिकन्डक्टरसँगको १० अर्ब डलरको चिप निर्माण परियोजनाबारेको छलफल रोकेको छ। यो परियोजना समूहका लागि रणनीतिक तथा व्यावसायिक रूपमा उपयुक्त नठहरेपछि छलफल रोकिने निर्णय भएको रोयटर्सले जनाएको छ।

भारतको पश्चिमी महाराष्ट्र राज्यले गत सेप्टेम्बरमा अडानी र टावरलाई संयुक्त रूपमा ८० हजार वेफर प्रति महिना उत्पादन गर्ने र ५ हजार रोजगारी सिर्जना गर्ने चिप निर्माण केन्द्र स्थापना गर्न अनुमति दिएको थियो। यो परियोजनालाई प्रधानमन्त्री नरेन्द्र मोदीको भारतलाई चिप निर्माण केन्द्र बनाउने लक्ष्यसँग जोडिएको मानिएको थियो।

अडानी समूहले यसअघि यो परियोजना मूल्याङ्कन भइरहेको जनाएको थियो। तर अहिले समूहको आन्तरिक मूल्याङ्कनबाट भारतमा विशेष गरी माग कति उत्पन्न हुन्छ भन्ने विषयमा अझै अनिश्चितता देखिएपछि टावरसँगको छलफल रोकिन पुगेको पहिलो स्रोतले बताएका छन्।

“यो रणनीतिक निर्णय थियो। अडानीले मूल्याङ्कन गर्‍यो र अहिले कुर्नु उपयुक्त ठान्यो,” स्रोतले भनेका छन्। भविष्यमा छलफल पुनः सुरु हुने सम्भावना पनि रहेको उनले बताए।

दोस्रो स्रोतलाई उद्धृत गर्दै रोयटर्सले लेखे अनुसार अडानी समूह टावरले परियोजनामा गर्न लागेको वित्तीय लगानीप्रति सन्तुष्ट थिएन। टावरले प्राविधिक विशेषज्ञता दिने भए पनि अडानीले वित्तीय रूपमा टावरको बढी संलग्नता चाहेको बताइएको छ।

अडानी र टावरले रोयटर्सका प्रश्नमा कुनै प्रतिक्रिया दिएका छैनन्। निर्णय औपचारिक रूपमा सार्वजनिक नभएकोले स्रोतहरूले आफूलाई नाम नखुलाउने शर्तमा जानकारी दिएका हुन्।

इजरायली चिप निर्माता टावरले मुख्यतया गाडीहरूमा प्रयोग हुने एनालग र मिक्स्ड-सिग्नल सेमिकन्डक्टर बनाउँछ।

विश्वव्यापी व्यवसाय सञ्जाल रहेको अडानी समूहको यो पुनर्विचारले मोदीको ‘मेक इन इन्डिया’ अन्तर्गत सेमिकन्डक्टर उद्योग प्रवर्द्धन गर्ने योजनामा अर्को झट्का दिन सक्ने देखिएको छ।

मोदीले भारतको आर्थिक रणनीतिमा चिप निर्माणलाई प्राथमिकतामा राखेका छन्। तर अहिलेसम्म भारतमा कुनै पनि सञ्चालनमा रहेको चिप निर्माण केन्द्र छैन। भारतीय समूह वेदान्ता र ताइवानको फक्सकनबीच प्रस्तावित १९.५ अर्ब डलरको संयुक्त परियोजना सन् २०२३ को जुलाईमा लागतसम्बन्धी चिन्ता र प्रोत्साहन अनुमोदन ढिलो भएको कारण टुटेको थियो।

हाल निर्माणाधीन मुख्य परियोजनामा टाटा समूहको ११ अर्ब डलरको चिप निर्माण र परीक्षण केन्द्र, र अमेरिकी कम्पनी माइक्रोनको २.७ अर्ब डलरको चिप प्याकेजिङ इकाइ समावेश छन् ।

पहिलो स्रोतका अनुसार अडानी समूहको मूल्याङ्कनमा चिप उत्पादनपछि त्यसलाई प्याकेजिङ गरी अन्तिम प्रयोगकर्तासम्म पुर्याउनु र त्यसको लागि पर्याप्त माग हुनु भारतजस्तो बजारमा चुनौतीपूर्ण हुने देखिएको हो। चीनजस्ता ठूला निर्माण केन्द्रहरूमा जस्तो भारतमा माग सुनिश्चित छैन ।

स्रोतले थप भने, “भारतमा उत्पादन भएका चिपहरू यहाँ बिक्री हुने सुनिश्चितता कसरि गर्ने भन्नेबारे अझै मूल्याङ्कन आवश्यक छ। बजार अझै प्रारम्भिक अवस्थामा छ।”

यूबीएसका अनुसार संयुक्त राज्य अमेरिका र चीनले सन् २०२५ मा विश्वभरको सेमिकन्डक्टर अन्तिम मागको ५४ प्रतिशत हिस्सा ओगट्नेछन् भने भारतको हिस्सा ६.५ प्रतिशत रहने अनुमान गरिएको छ।

Sajilo Visa

प्रकाशित: १९ बैशाख २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया