के हो इण्ड्युस्ड एट्मस्फियरिक भाइब्रेशन? कतै स्पेन र पोर्चुगलको ब्ल्याकआउट यसैका कारण भएको त होइन?

Technology Khabar १९ बैशाख २०८२, शुक्रबार

के हो इण्ड्युस्ड एट्मस्फियरिक भाइब्रेशन? कतै स्पेन र पोर्चुगलको ब्ल्याकआउट यसैका कारण भएको त होइन?

काठमाडौं ।

एउटा दुर्लभ अन्तर्राष्ट्रिय विद्युत् अवरोधको घटनामा गत सोमबार बिहान (अप्रिल २८) स्पेन र पोर्चुगलभरि तथा फ्रान्सको दक्षिणपश्चिम भागमा विद्युत् सेवा अवरुद्ध भयो छ।

यो ब्ल्याकआउटका कारण सम्पूर्ण क्षेत्रमा ठूलो अव्यवस्था देखिएको थियो। एयरपोर्टहरू ठप्प भए, लिस्बन र म्याड्रिडमा मेट्रो रेलहरू बीचमै रोकिए, र अस्पतालहरूमा शल्यक्रिया रद्द गरिनु पर्‍यो।

यस ब्ल्याकआउटको ठ्याक्कै कारण अझै स्पष्ट छैन। यद्यपि, पोर्चुगलको विद्युत् सञ्जाल सेवा प्रदायक रेडेस एनर्जेटिकास नाशियोनेइस (आरईएन) का प्रतिनिधिहरूले सोमबार यो “इण्ड्युस्ड एट्मस्फियरिक भाइब्रेशन” नामको दुर्लभ वातावरणीय घटनाका कारण भएको बताएका थिए।

गार्जियनलाई आरईएनले बताए अनुसार, “स्पेनको भित्री क्षेत्रमा अत्यधिक तापक्रम भिन्नताका कारण ४०० किलाभोल्ट क्षमताका उच्च भोल्टेज लाइनहरूमा असामान्य कम्पन (ओसिलेशन) देखा पर्‍यो जसलाई ‘इण्ड्युस्ड एटमस्फियरिक भाइब्रेशन’ भनिन्छ।

यी कम्पनहरूले युरोपको आपसमा जडित विद्युत् प्रणालीहरूबीच समन्वय विफल गराए, जसले क्रमशः नेटवर्कभरि समस्या फैलायो।” तर आरईएनले पछि सो स्पष्टीकरण अस्वीकार गरेको यूरोन्यूजले जनाएको छ।

आरईएनले सोमबार दिउँसो जारी गरेको वक्तव्यमा भनिएको थियो, “आज सम्पूर्ण मुख्य भूमि पोर्चुगलमा परेको ब्ल्याकआउट स्पेनको विद्युत् सञ्जालमा आएको ठूलो भोल्टेज उतारचढावको परिणाम हो। त्यो बेला पोर्चुगल स्पेनबाट ऊर्जा आयात गरिरहेको थियो। सो उतारचढावसँगै, पोर्चुगलका विद्युत् प्लान्टहरूको नियन्त्रण र सुरक्षा प्रणालीले प्रणाली जोगाउन आफूलाई बन्द गर्‍यो, जसले ब्ल्याकआउट निम्त्यायो।”

विशेषज्ञहरूका अनुसार, अत्यधिक तापक्रम भिन्नताले उच्च भोल्टेज लाइनहरूमा असामान्य किसिमले कम्पन गराउन सक्छ। तापक्रम परिवर्तनले तारहरू विस्तार हुने वा संकुचित बनाउने हुँदा त्यसले तानिने शक्ति (टेन्सन) मा फरक ल्याउँछ, जुन हावा र विद्युत् प्रवाहसँगको अन्तरक्रियाले प्रणालीलाई भौतिक र विद्युतीय रूपमा अस्थिर बनाउन सक्छ।

लाइभसाइन्सका अनुसार बेलायतको पोर्ट्समाउथ विश्वविद्यालयका विद्युत् प्रणाली इन्जिनियरिङका प्राध्यापक भिक्टर बेसेर्राले भने, “हाल अनुसन्धान जारी छ, तर केही प्रारम्भिक मिडिया रिपोर्टहरूमा ‘इण्ड्युस्ड एटमस्फियरिक भाइब्रेशन’ भन्ने घटना उल्लेख गरिएको छ, जुन स्पेनको भित्री भागमा देखिएको तीव्र तापक्रम परिवर्तन र त्यसबाट उत्पन्न हावाका ढाँचासँग सम्बन्धित हुन सक्छ।”

“यदि त्यस्तो अवस्था थियो भने तिनीहरुले उच्च भोल्टेज लाइनहरूमा असामान्य कम्पन उत्पन्न गराएका हुन सक्छन्,” बेसेर्राले भने। यो प्रकारको घटनाले विद्युत् तार चुँडिन सक्ने, सर्ट सर्किट हुन सक्ने वा ट्रान्समिसन टावरजस्ता पूर्वाधारमा क्षति पुर्‍याउन सक्ने जोखिम रहन्छ।

“यस्ता समस्याहरू देखा परेमा प्रभावित विद्युत् लाइनहरूलाई स्वतः बन्द गराउने सुरक्षा प्रणालीहरू डिजाइन गरिएको हुन्छ,” प्राध्यापक भिक्टर बेसेर्राले भने।

त्यसपछि डोमिनो प्रभावजस्तै असर देखिन्छ—लाइनहरू बन्द हुँदा केही जेनेरेटरहरू अस्थिर भएर बन्द हुन्छन्। “ठूला जेनेरेटरहरू अचानक बन्द हुँदा विद्युत् आपूर्ति र मागबीच ठूलो असन्तुलन सिर्जना हुन्छ, जसले व्यापक ब्ल्याकआउट निम्त्याउन सक्छ,” बेसेर्राले बताए।

तर यस ब्ल्याकआउटको ठ्याक्कै कारण अझै पुष्टि भइसकेको छैन। केहीले साइबर आक्रमण हुनसक्ने सम्भावनासमेत उठाएका छन्। यद्यपि, यस्ता कुनै प्रमाण नभएको यूरोपियन आयोगकी उपाध्यक्ष टेरेसा रिबेराले सोमबार स्पेनको रेडियो ५ लाई बताएकी छन्।

मंगलबार (अप्रिल २९) स्पेनको ग्रिड अपरेटर रेड इलेक्ट्रिकाको सेवा प्रमुख एडुआर्दो प्रियेतोले गार्जियनलाई साइबर सुरक्षासम्बन्धी कुनै घटनाको सम्भावना अस्वीकार गरिएको बताएका छन्।

प्रारम्भिक कारण जे भए पनि, यति ठूलो क्षेत्र प्रभावित हुनुको प्रमुख कारण युरोपका विद्युत् ग्रिडहरू आपसमा अत्यधिक जडित हुनु हो। सामान्य अवस्थामा, यसले प्रणालीलाई भरपर्दो बनाउँछ—कुनै एक क्षेत्रमा समस्या आएमा अन्य ग्रिडहरूले सहयोग गर्न सक्छन्। तर, त्यही अन्तरजडानले समस्या भएमा पूरै प्रणालीमा ठूलो असर पर्न सक्छ।

“विद्युत् ग्रिडहरू ठूला अन्तरजडित प्रणालीहरू हुन्, र तिनको स्थायित्व विद्युत् उत्पादन र मागबीचको सन्तुलनसँग सम्बन्धित हुन्छ,” लन्डनको किङ्स कलेजकी इन्जिनियरिङ अनुसन्धानकर्ता ग्राजिया टोडेस्चिनले बताइन्। “यदि कुनै एक क्षेत्र ग्रिडबाट छुट्टिन्छ भने, त्यसमा निर्भर रहेका छिमेकी क्षेत्रमा पनि असर पर्न सक्छ।”

टोडेस्चिनले थपिन्, “सानोतिनो अवरोध रोक्न केही उपायहरू अवश्य छन्, तर यदि विद्युत् सन्तुलन अत्यधिक विग्रिएको छ भने ती उपायहरूले काम नगर्न सक्ने हुँदा समस्या छिटो र टाढासम्म फैलिन सक्छ।”

यस्ता ठूला विद्युत् गुमावटहरू अघिपनि भइसकेका छन्। सन् २००३ मा इटाली र स्विट्जरल्यान्डबीचको जलविद्युत् लाइनमा समस्या आएपछि इटालीको ठूलो भागमा १२ घण्टासम्म विद्युत् गुमेको थियो। सन् २००६ मा जर्मनीमा तापक्रमका कारण विद्युत् प्रणालीमा आएको दबाबले फ्रान्स, इटाली, स्पेन, बेल्जियम र मोरक्कोसम्म विद्युत् सेवा अवरुद्ध भएको थियो।

यस्तै सन् २०१२ मा भारतमा भएको एक ऐतिहासिक ब्ल्याकआउटले ६० करोडभन्दा बढी मानिस प्रभावित पारेको लाइभसाइन्सले उल्लेख गरेको छ।
मंगलबार बिहानसम्म आइभेरियन प्रायद्वीपका धेरै भागमा विद्युत् सेवा बिस्तारै फर्किँदै गएको छ।

बुधबार हुँदै बिहीबारसम्म आइपुग्दा स्थितग सहज हुँदै पोर्चुगलमा सम्पूर्ण र स्पेनमा ९९ प्रतिशत स्थानमा पुनः विद्युत् सेवा सुरु भइसकेको बताइएको छ। अधिकारीहरू घटनाको वास्तविक कारण पत्ता लगाउन र भविष्यमा यस्तो दोहोरिन नदिन आवश्यक कदम चाल्न कार्यरत छन्।

Sajilo Visa

प्रकाशित: १९ बैशाख २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया