जनकपुरमा ई-रिक्सा यात्रा जोखिमपूर्ण

Technology Khabar १८ बैशाख २०८२, बिहीबार

जनकपुरमा ई-रिक्सा यात्रा जोखिमपूर्ण

काठमाडौं ।

जनकपुरधाम उपमहानगरपालिका क्षेत्रभित्र पर्ने रेलवे ट्र्याक वारिपारिका सडक लामो समयदेखि अव्यवस्थित हुँदा स्थानीय यात्रु जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन्।

जनकपुरधामस्थित पिडारी चोक, मुख्यमन्त्री कार्यालय अगाडि, बेङ्गा सडकखण्ड, मिल्स एरिया, कुर्था सडकखण्ड र थापा चोकमा पर्ने रेलवे ट्र्याक बारिपारिका सडक अव्यवस्थित तरिकाले निर्माण गरिएका हुँदा दैनिक यात्रा गर्ने ई रिक्सा, साना सवारीसाधन तीनपाङ्लो तथा दुईपाङ्ग्रे सवारीसाधनलाई सास्ती भोग्नु परेको हो।

रेलवे ट्र्याकसँगै टाँसिएको वारिपारिका सडकखण्ड ट्र्याक र सडकको स्तरमा नसम्याउँदा जोखिम मोलेर यात्रा गर्नु परेको नेपाल ई रिक्सा चालकको गुनासो छ।

जनकपुरधाम-१३ का रिक्साचालक भोला साहका अनुसार उक्त सडकखण्डमा दुर्घटनाको जोखिम उच्च रहेको छ। उनले बताए, “बर्सौंदेखि मर्मत नहुँदा बाटोमा यात्रा गर्न साह्रै जोखिमपूर्ण भएको छ। अहिलेसम्म १० जनाभन्दा बढी सवारी दुर्घटनामा परेका छन् भने एक जना चालकको खुट्टा भाँचिएको छ।”

पिडारी चोक रिक्सा स्ट्यान्डका रिक्साचालकले पटक पटक सम्बन्धित निकायलाई सडक मर्मतको माग गर्दै आए पनि सुनुवाइ नहुँदा निराश भएका छन्। साहले गुनासो पोखे, “हामीले एक महिनाअघि नै जिल्ला प्रशासन कार्यालय धनुषामा बाटो बनाइदिन ध्यानाकर्षण गराएका थियौं तर अहिलेसम्म कुनै चासो दिइएको छैन।”

सडक मर्मतको माग गर्दै रिक्साचालकले एक महिनाअघि नै जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षणपत्र पनि बुझाइसकेका छन्। प्रशासनको प्रतिक्रिया पनि सकारात्मक थियो तर अहिलेसम्म कुनै पहल नहुँदा रिक्साचालक समस्यामा छन्।

नेपाल ई रिक्सा मजदुर सङ्गठन पिडारी चोकका अध्यक्ष श्रीराम यादवका अनुसार भारतमा थुप्रै रेल सञ्चालन हुँदा पनि ट्र्याकसँग टाँसिएको सडकमा समस्या छैन तर यहाँ रेलवे ट्र्याकसँग टाँसिएको सडक अव्यवस्थित हुँदा जोखिम मोलेर यात्रा गर्नु पर्छ, त्यसमा सयौँ दुर्घटना पनि भएको छ। त्यस कारण सम्बन्धित निकायले चाँडोभन्दा चाँडो सडक मर्मत नगरे रिक्साचालक आन्दोलन गर्न बाध्य हुने छौं।

उनले भने, “रिक्सा चलाउन धेरै समस्या हुन थालेपछि हामीले नै बेला बेलामा उक्त स्थानमा ग्राभेल र माटो राखेर बाटो सम्याउने गरेका छौं तर त्यो टिकाउ हुँदैन, बर्सातमा झनै जोखिम हुन्छ।”

यता सडक डिभिजन कार्यालय जनकपुरका सूचना अधिकारी ई. सञ्जयकुमार यादवले पिडारी चोकको ६ लेनको सडक मात्र कार्यालय मातहतमा पर्ने हुँदा सो समस्या समाधानका लागि रेलवे विभागसँग समन्वय गर्ने तयारीमा रहेको बताए। उनले भने, “बाँकी सडक हाम्रो कार्यालयमातहत नरहेको हुँदा केही भन्न सकिँदैन।”

आजको गोरखापत्रबाट

Sajilo Visa

प्रकाशित: १८ बैशाख २०८२, बिहीबार

तपाइको प्रतिक्रिया