Technology Khabar १६ बैशाख २०८२, मंगलवार
काठमाडौं ।
एप्पल र डेलको एउटा महत्वपूर्ण आपूर्तिकर्ता ताइवानको पेगाट्रोनले राष्ट्रपति डोनाल्ड ट्रम्पका शुल्कले अमेरिकी ग्राहकहरूलाई अन्योलमा पारेको र संयुक्त राज्यमा उपभोक्ता इलेक्ट्रोनिक्सको अभाव हुने जोखिम बढाएको सोमबार जनाएको छ।
रोयटर्सका अनुसार वाशिङ्टनको कहिले लाग्ने कहिले नलाग्ने महसुलले अमेरिकी खुद्रा व्यापारीहरूमा अन्योलता सिर्जना गरेको र ढुवानीसम्बन्धी निर्णयहरूमा अवरोध उत्पन्न गरेको पेगाट्रोनका अध्यक्ष टी.एच. टुङले रोयटर्सलाई एउटा पुरस्कार कार्यक्रममा भनेका छन्।
“दुई महिनाभित्रै संयुक्त राज्य अमेरिकाका पसलहरू … तेस्रो विश्वका देशहरूजस्तै देखिन सक्नेछ, जहाँ मानिसहरू डिपार्टमेन्ट स्टोर र बजार जान्छन् तर खाली राखिएका शेल्फहरू मात्र देख्छन्, सबैजना प्रतिक्षामा रहेकाले,” टुङले भने।
यस महिनामा ट्रम्पले भियतनाम, इन्डोनेसिया र भारत लगायतका व्यापार साझेदारमाथिको केही महसुल अचानक रोकेको बताएका छन्, जहाँ पेगाट्रोनका उत्पादन आधारहरू छन्। तर पनि संयुक्त राज्यमा आयात हुने लगभग सबै सामानमा १० प्रतिशत महसुल भने यथावत् छ।
टुङका अनुसार व्यापार वार्ताका क्रममा केही राहत दिनका लागि यो निर्णय गरिएको भए तापनि, अमेरिकी आयातकर्ताहरूले १० प्रतिशत महसुल हट्न सक्ने आशङ्काले ढुवानी बढाउने निर्णय नगर्न सक्छन्।
प्रकाशित: १६ बैशाख २०८२, मंगलवार