Technology Khabar १५ बैशाख २०८२, सोमबार
काठमाडौं ।
स्पेसएक्सले आइतबार राति (अप्रिल २७) एउटा ऐतिहासिक मिशन प्रक्षेपण गरेको छ।
१३ वटा सिधै मोबाइलमा जडान हुने क्षमतासहित कम्पनीका २३ वटा स्टारलिंक ब्रडब्यान्ड स्याटेलाइटहरू बोकेको फाल्कन ९ रकेट फ्लोरिडाको केप क्यानाभेरल स्पेस फोर्स स्टेसनबाट आइतबार राति १०:०९ बजे (सोमबार, अप्रिल २८ को ०२:०९ जीएमटी) प्रक्षेपण गरिएको थियो।
स्पेसएक्सले प्रक्षेपणपछि एक्समार्फत जनाएको अनुसार यो २५० औं पटक स्टारलिंक स्याटेलाइटहरूको समूह अन्तरिक्षमा पठाइएको हो।
उडानपछि करिब आठ मिनेटमा फाल्कन ९ को पहिलो चरण योजना अनुसार पृथ्वीमा फर्किएको थियो। उक्त बूस्टर अटलान्टिक महासागरमा तैनाथ स्पेसएक्सको ड्रोनशिप “जस्ट रिड द इन्स्ट्रक्सन्स” मा सिधा अवतरण गरेको थियो।
स्पेसएक्सको मिशन विवरण अनुसार, यो बूस्टरको यो २० औं प्रक्षेपण तथा अवतरण हो, जसमा १३ पटक स्टारलिंक मिसन गरिएको स्पेस डटकमले उल्लेख गरेको छ।
रकेटको माथिल्लो चरणले पनि आफ्नो काम सफलतापूर्वक पूरा गरेको छ। प्रक्षेपणपछि करिब एक घण्टामा २३ वटा स्टारलिंक स्याटेलाइटहरूलाई निम्न पृथ्वी कक्ष (लो अर्थ अर्बिट) मा छुट्याइएको स्पेसएक्सले एक्समार्फत जानकारी दिएको छ।
आइतबार रातिको प्रक्षेपण सन् २०२५ को ४८ औं फाल्कन ९ उडान थियो, जसमा ३१ औं उडान स्टारलिंक मेगाकन्स्टेलेसन निर्माणका लागि समर्पित थियो। हाल उक्त नेटवर्कमा ७,२०० भन्दा बढी सञ्चालनमा रहेका स्याटेलाइटहरू छन् र संख्या निरन्तर बढिरहेको छ।
पहिलो समर्पित स्टारलिंक प्रक्षेपण मे २०१९ मा भएको थियो (यद्यपि स्पेसएक्सले त्यसभन्दा एक वर्षअघि, फेब्रुअरी २०१८ मा दुई वटा प्रोटोटाइप ब्रडब्यान्ड स्याटेलाइटहरू प्रक्षेपण गरेको थियो)।
विगत छ वर्षमा, स्पेसएक्सले ती २५० प्रक्षेपणमार्फत करिब ८,४०० वटा स्टारलिंक स्याटेलाइटहरू अन्तरिक्षमा पठाएको खगोलशास्त्री र स्याटेलाइट ट्र्याकर जोनाथन म्याक्डोवेलले बताएका छन्।
प्रकाशित: १५ बैशाख २०८२, सोमबार