Technology Khabar १२ बैशाख २०८२, शुक्रबार
काठमाडौं ।
ह्वाट्सएपले बुधबार आधिकारिक रूपमा एडभान्स्ड च्याट प्राइभेसी लन्च गरेको घोषणा गरेको छ जुन यस महिनाको सुरुमा लीक भएको थियो। यो गोपनीयताको अर्को नयाँ तह भएको बताइएको छ जुन वान–टु–वान च्याट र समूह गरी दुवैमा उपलब्ध गराइएको छ।
यसले तपाईंलाई आफ्नो कन्टेन्ट (सामग्री) सुरक्षित राख्न मद्दत गर्ने र तपाईंलाई थप गोपनीयता चाहिएको बेला अरूलाई ह्वाट्सएप बाहिर तपाईंको कन्टेन्टलाई साझेदारी गर्नबाट रोक्ने छ।
यस सुविधालाई सक्रिय गरेपछि, अरूले तपाईंको च्याटलाई निर्यात गर्न, तिनीहरूको फोनमा मिडिया स्वतः डाउनलोड गर्न र एआई सुविधाहरूको लागि सन्देशहरू प्रयोग गर्नबाट रोक लगाउने छ।
“यस तरिकाले गर्दा अब च्याटमा भनिएको कुराहरू कसैले पनि च्याट बाहिर लान सक्नेछैन र त्यसैले, च्याटमा सबैलाई बढी विश्वास हुनेछ” ह्वाट्सएपले उल्लेख गरेको छ। तथापि, स्क्रिनसट गर्ने मानिसहरूको हकमा भने यो लागू नहुने उल्लेख गरिएको छ।
ह्वाट्सएपले यो सुविधा “त्यस्ता समूहहरूमा सबैभन्दा उपयोगी हुने विश्वास गरेको छ जहाँ तपाईं सबैलाई राम्ररी चिन्नुहुन्छ तर अझै पनि समर्थन समूहमा स्वास्थ्य समस्याहरू वा कुनै महत्त्वपूर्ण कामको लागि आफ्नो समुदायलाई व्यवस्थित गर्नु जस्ता संवेदनशील विषयहरूमा कुरा गर्न चाहनुहुन्छ” भन्ने उल्लेख गरिएको छ।
च्याटको नाम ट्याप गरेर त्यसपछि एडभान्स्ड च्याट प्राइभेसीमा ट्याप गर्दै यो सुविधालाई सक्रिय गर्न सकिने छ। व्हाट्सएपले यो सुविधाको पहिलो संस्करण मात्र भएको र भविष्यमा यसमा “अन्ततः अझ बढी सुरक्षाहरू समावेश गर्न” थप सुरक्षाहरू थप्ने योजना बनाएको जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: १२ बैशाख २०८२, शुक्रबार