Technology Khabar ८ बैशाख २०८२, सोमबार
काठमाडौं ।
-हेमराज तिमिल्सेना
दूरसञ्चार क्षेत्र कुनैपनि मुलुकको भविष्य निर्माणको आधार हो। विकासको वाहक र पर्याय हो। नेपालको सन्दर्भमा समेत यसले आर्थिक, सामाजिक-सांस्कृतिक, शासकीय, प्राविधिक र वातावरणीय विकासका क्षेत्रमा विगत दुइ दशकमा उल्लेखनीय छलाङ मारेको देख्न सकिन्छ।
मोबाइल र इन्टरनेट क्षेत्रको तीव्र विस्तार, डिजिटल प्लेटफर्महरूको उदय, सामाजिक सञ्जाल लगायतका औजारहरूको प्रसारको प्रभावबाट नेपाली नागरिकको जनजीवन अछुतो रहेको छैन।
कृत्रिम बौद्धिकता एआई, फाइभजी (पाँचौं पुस्ताको वायरलेस प्रविधि) र (आईओटी इन्टरनेट अफ थिङ्स) को वर्तमान युगमा दूरसञ्चार क्षेत्रको प्रविस्पर्धात्मक क्षमता विकास, नविनतम प्रविधिको प्रयोग, निरन्तर सुधार तथा अपग्रेड विना यसले आफ्नो अभिष्ट हासिल गर्न सक्दैन।
नेपालमा दूरसञ्चार क्षेत्रको नियामक संस्थाको रुपमा नेपाल दूरसञ्चार प्राधिकरण रहेको छ। दूरसञ्चार ऐन, २०५४ तथा दूरसञ्चार नियमावली, २०५४ को प्रावधान अनुरुप २०५३ फागुनमा गठित यो संस्थाले निजी क्षेत्रको सहभागिता गराई नेपाल अधिराज्यभरी दूरसञ्चार सेवाको विकास, विस्तार तथा सञ्चालन गर्न आवश्यक स्वच्छ प्रतिस्पर्धात्मक वातावरणको सिर्जना गर्ने प्रमुख उद्देश्य राखेको छ।
नेपालमा आ.व. २०८०/८१ मा भ्वाइस टेलिफोन सेवाको घनत्व १२४.२२ प्रतिशत पुगेको र ब्रोडव्याण्ड सेवाको घनत्व १४९.२३प्रतिशत रहेको छ। जसमध्ये फिक्स्ड ब्रोडब्याण्ड सेवाको घनत्व ४२.१२ प्रतिशत पुगेको छ। विश्वमा बढ्दै गएको दूरसञ्चारको गतिलाई पक्रन सके नेपालले यस क्षेत्रबाटनै देशको कायापलट गर्न सक्छ।
वर्तमान विश्वका दूरसञ्चार क्षेत्रका उपलब्धिहरू
बेलायतमा स्मार्टफोनको माध्यमबाट स्याटेलाइट भिडियो कल सञ्चालन गर्न सकिने प्रविधि भित्रिसकेको छ। फाइभजी प्रविधिको आविश्कारपछि विश्व छ। फाइभजी अर्थात फाइभजी एडभान्सको दौडमा छ। जसले क्षमताको महत्तम उपयोग गर्ने, लागत घटाई प्रभावकारिता बढाउने लगायतका महत्वपूर्ण उपलब्धिका रुपमा सावित गर्छ।
विश्व बजारमा अध्ययनको रुपमा रहेको सिक्सजीले समस्यारहित कनेक्टिभिटीलाई जोड दिन्छ। आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोगले यस क्षेत्रकोगुणस्तर वृद्धिमा समेत विशेष भूमिका खेलेको हुन्छ।
आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को बढ्दो प्रयोगले यस क्षेत्रलाई थप मजबुत मितब्ययी र प्रभावकारी बनाउन सक्ने देखिन्छ।
यस क्षेत्रमा एआईले सिर्जना गरेका अवसरहरू-
सेवामा सुधार
सर्भरमा आउने चापलाई Route गरेर यसको ट्राफिक व्यवस्थापन गर्न,
भविष्यमा आउन सक्ने समस्याको पूर्वानुमान गरी त्यसको पूर्व समाधान पहिल्याउन, उर्जा खपत, समय र खर्चको बचत गर्न।
ग्राहकलाई फाइदा
स्वचालित प्रकृयाको माध्यमबाट समय बचत गर्न, ग्राहकको यूजर एक्सपियन्स प्रयोग गरी कार्यप्रकृया, जिज्ञासा र प्रतिकृयामा निरन्तर सुधार ल्याउन, भर्चुअल असिस्टेन्स र च्याट बोटको प्रयोगलाई सरलीकृत गर्न।
सेवा प्रदायकलाई फाईदा
सेवाको उत्पादन लागत घटाउन, सेवालाई बढी ग्राहकमुखी बनाउन,
ग्राहकको चासो चिन्ता र अपेक्षा पहिचान गरी सोही बमोजिम रणनीति निर्माण गर्न, डाटा विश्लेषणका माध्यमबाट, बजार विश्लेषणका माध्यमबाट वस्तु र सेवाको बजार विविधिकरण र बजारीकरण गर्न
सुरक्षा चासो
सुरक्षा जोखिम बढ्न नदिन त्यसलाई हरेक पल अनुगमन गर्न
सुरक्षा जोखिमलाई समयमै समाधान गर्न।
एआई प्रयोगसँगै सिर्जना हुने चुनौतिहरू
डाटा सुरक्षा र गोपनीयता: एआईले ठूलो मात्रामा प्रयोग गर्ने तथ्याङ्कहरूले मानिसको वैयक्तिक स्वतन्त्रता, गोपनीयता र सुरक्षा क्षेत्रमा चुनौती थप्न सक्ने देखिन्छ। एआईले कुनैपनि विषयमा प्रतिकृया जनाउनु अघि उक्त समस्यासँग सम्बन्धित इन्टरनेटमा उपलब्ध भएका अधिकतम तथ्याङ्कहरूको खोजी गरी त्यसलाई प्रशोधन गरेर प्रतिकृया निर्माण गर्ने भएकाले यसले मानव जीवनका अन्तरङ्ग परिस्थितिहरूलाई सतहमा ल्याई समाजको विकासलाई विथोल्न सक्छ।
मौजुदा प्रणालीसँगको तादाम्यताः हाल प्रयोगमा रहेका विभिन्न प्रणालीहरूको पुरातनवादी हार्डवयर लगायतका कारणले compatible नहुन सक्छ। जसले गर्दा पुराना सबै प्रणालीहरूलाई विस्थापित हुन सक्छ। जो आफैमा चुनौतिपूर्ण छ।
लागतः एआई तुलनात्मक रुपमा महँगो यसकारण पनि छ कि यसले आफूसँगसँगै विभिन्न शर्तहरू बोकेको हुन्छ। जस्तै existing system compatibility, massive data avilability, निरन्तर सुधार लागायतका कारण यो प्रणालीले मनग्य अर्थको माग गर्छ।
विशेषज्ञता अभावः एआई आफैंमा नयाँ विषय हो। यस क्षेत्रलाई मानव हितमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा बहस हुन जरुरी छ। एआईले मानव सभ्यतालाई डोयाउनुअघि मानव सभ्यताले एआईलाई डोऱ्याउनु पर्छ। जसका लागि दूरसञ्चारको क्षेत्रमा मानव आवश्यकताको सम्बोधन गर्ने हदसम्म मात्र यसको प्रयोग गरिनुपर्छ।
नियमसंगत प्रयोग : कुनैपनि वस्तु वा सेवाको नियमसंगत प्रयोग गर्न सकिएन भने यसले दीर्घकालमा सुल्झाउनै नसकिने समस्याको रुप लिन सक्छ। यसकारण दूरसञ्चार क्षेत्रमा एआई को प्रयोग गर्दा यसको नैतिक पाटोलाई बिर्सिनु हुँदैन।
स्टारलिंक र यसको दूरसञ्चार क्षेत्रमा यसको प्रभाव
स्टारलिंक इलन मस्कको स्पेसएक्सले विकास गरेको उच्च गतिको स्याटेलाइट इन्टरनेट सेवा हो। यसले ३५,७८६ किमी माथी राखिएका जियोस्टेशनरी स्याटेलाइटको विकल्पमा एलईओ स्याटेलाइट (लो अर्थ अर्बिट) पृथ्वीको सतह भन्दा ५५० कि. मि. मात्र माथी राखिएको स्याटेलाइटहरूको प्रयोगको माध्यमबाट उच्च गति तथन कम लेटेन्सीयुक्त इन्टरनेट प्रदान गर्छ।
यसले के गर्छ ?
उच्च गति प्रदान गर्छ – ५० एमबीपीएस देखि ५५० एमबीपीएस सम्म।
रेस्पोन्स टाइम घटाउँछ – २० मिलिसेकेण्डदेखि ४० मिलिसेकेण्ड ( यो गति फाइबरनेटको जत्तिकै हो)
दुर्गम र फाइबरनेट पुऱ्याउन नसक्ने स्थानमा समेत सजिलै पहुँच दिन्छ। (चित्रमा देखाएजस्तै )। खुला आकाश भएको सबै स्थानमा यसको सहज पहुँच सम्भव छ।
उपलब्ध फाइबरनेट सेवा प्रदायकलाई प्रतिस्पर्धा गर्न बाध्य बनाई सस्तो गतिको इन्टरनेट उपलब्ध गराउन भूमिका समेत खेलेको छ।
भुकम्प, बाढी, पहिरो, आँधी, सुनामी जस्ता प्राकृतिक विपत्ति इत्यादिले असर गर्न नसक्ने भएकाले यो वर्तमान समयमा निकै लाभकारी देखिन्छ।
स्टारलिंकका सीमा र चुनौती
वर्तमान समयमा यो अतिनै महंगो प्रविधिका रुपमा परिचित छ। यसको स्टारलिंक किटलाई रु ८०,००० देखि रु ३,४०,००० सम्म पर्छ भने मासिक सब्स्क्रिप्शन स्थान अनुसार रु १२,५०० देखि रु ३४,००० पर्ने देखिन्छ। जुन मौजुदा इन्टरनेटभन्दा निकै महँगो हो।
यसको जुनसुकै स्थानमा पनि पहुँच हुन्छ। यद्यपी यसका लागि खुला आकाशको जरुरत पर्छ।
• भू-राजनीतिक समस्याका कारण रुस, चीनजस्ता देशले यसलाई प्रतिबन्ध लगाएका छन्। अन्तरिक्षमा यसको दीर्घकालीन व्यवस्थापन चुनौतीको विषय बनेको छ।
नेपालको प्रयास र अबको बाटो
सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा सञ्चार मन्त्रालयले नेपालको आफ्नै भू-उपग्रह स्थापना, ब्रोडब्याण्ड सेवालाई गुणस्तरीय बनाउने, सञ्चार र सूचना प्रविधिको प्रवाहलाई प्रभावकारी बनाउने, एआई रणनीतिको सम्भाव्यता अध्ययन गर्ने, डिजिटल साक्षरता व्यापक विस्तार गर्ने, दुर्गम र विकट क्षेत्रमा भू-उपग्रहमा आधारित इन्टरनेट सेवाको प्रारम्भ गर्ने, ब्रोडब्याण्ड इन्टरनेट विस्तार गरी ब्रोडब्याण्ड सेवालाई गुणस्तरीय, सर्वसुलभ र सुरक्षित बनाउने, साइबर सुरक्षा सम्बन्धी अनुसन्धान, प्रतिकार्य तथा जनचेतना अभिवृद्धि कार्यलाई प्रभावकारी बनाउन संस्थागत व्यवस्था गर्ने (साईबर सेक्युरिटि सेन्टरको स्थापना भइसकेको), यस क्षेत्रमा स्वदेशमा विकसित सफ्टवेयरलाई प्राथमिकता दिने, नेपाललाई यस क्षेत्रको Global Hub को रूपमा विकास गर्ने, हुलाक सेवालाई विद्युतीय व्यापारसँग आबद्ध गर्ने, सबै प्रदेशमा सञ्चारग्राम निर्माण गर्ने, मातृभाषामा आधारित ग्रामीण पत्रकारिता प्रवर्द्धन गर्ने र सार्वजनिक सेवा एकै स्थानबाट प्रदान गर्ने गरी प्रविधिको विकासलाई प्राथमिकता दिएको छ।
नेपाल दूरसञ्चार प्राधिकरणले कमजोर सिग्नल भएको स्थानमा समेत गुणस्तरीय कल सुविधा दिन भ्वाइस ओभर वाई फाई (भीओवाइफाई) सेवाको विस्तार गर्दैछ। कर्णाली क्षेत्रमा नेटवर्क अपग्रेडसँगै सुर्खेत र डोल्पा जिल्लामा फोरजी विस्तारका लागि बेस ट्रान्सिभर स्टेशन (बीटीएस) स्थापना गरेको छ।
यद्यपी इलन मस्कको स्टारलिंकले नेपालमा समेत आफ्नो सेवा विस्तार गर्ने चाहना देखाएसँगै नेपालका दूरसञ्चार क्षेत्रका विद्यमान कानूनको वाधा व्यवधानका चर्चाको विषय बनेको छ। नेपालको मौजुदा कानूनले कम्तिमा २० प्रतिशत नेपालको लगानी हुनुपर्ने भन्छ भने बीटीएस शतप्रतिशत आफ्नै लगानीमा नेपाल भित्रन चाहने जस्ता विषयको समाधानमा पर्याप्त बहस हुन जरुरी छ।
अवसर पटक-पटक आउँदैन दूरसञ्चार क्षेत्रको विकास मार्फत राष्ट्रिय विकासको ढोका खोल्न दूरसञ्चार प्राधिकरणको सबलीकरण, वर्तमान प्रविधिसँगको तादात्म्यता र change resist गर्ने प्रवृतिको अन्त्य गर्नुपर्छ।
यस क्षेत्रको सुदृढिकरणसँगै यस क्षेत्रलाई नेपालको गरीबी निवारण, दूरशिक्षा, टेलिमेडिसिन, रोजगारी सिर्जना, कृषि क्षेत्रको विकास, पर्यटन क्षेत्रको विकाससँगै सुरक्षा व्यवस्था, औधोगिक क्षेत्रको स्तरोन्नति लगायतमा उपयोग गर्नुपर्दछ।
नेपाल जस्तो विकासोन्मुख देशका लागि यस क्षेत्रले आफुसँगै बोकेर आउने सुरक्षा चुनौतिलाई समाधान गर्न पनि उत्तिकै जरुरी छ। यस सन्दर्भमा सरकारले लिएका नीति तथा कार्यक्रम कार्यान्वयनका लागि यथेष्ठ पहलकदमी लिनु आवश्यक छ।
#नेपाल दूरसञ्चार प्राधिकरणको २७ औं वार्षिकोत्सव स्मारिकाबाट साभार
(लेखक महालेखापरीक्षकको कार्यालयमा लेखापरीक्षण अधिकृतका रुपमा कार्यरत छन्)
प्रकाशित: ८ बैशाख २०८२, सोमबार