Technology Khabar ५ बैशाख २०८२, शुक्रबार
काठमाडौं ।
नाडाले विद्युतिय सवारी साधनहरुको बीमा नीतिको बारे नेपाल बीमा प्राधिकरणसँग छलफल गरेको छ।
नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझासँग भेटगरी विद्युतिय सवारी साधनहरुको बीमा नीतिका सम्बन्धमा छलफल गरेको हो।
सो भेटघाट तथा छलफलमा उपाध्यक्ष श्रेष्ठले विद्युतिय सवारी साधनहरुको सन्दर्भमा हालसम्म बीमा नीति तयार नभईसकेकोले विद्युतिय सवारी साधनको बीमा सम्बन्धमा स्पष्ट, पारदर्शी र सुसंगत नीति निर्माणको आवश्यकता रहेको भन्दै विद्युतिय सवारी साधनको बढ्दो संख्याका कारण उत्पन्न जोखिम व्यवस्थापनका विषयमा समेत प्राधिकरणले आवश्यक नीति बनाउनुपर्ने धारणा राखे।
छलफलको क्रममा प्राधिकरणले सो नीतिमा विद्युतिय सवारी साधनहरुको स्पेयर पार्टस, सवारी प्रणाली, म्याटेरियल र मूल्यसम्बन्धी विवरण समेत समावेश गरिने, क्लेम प्रक्रियामा सुधार ल्याउने, बीमालाई थप सुलभ र पारदर्शी बनाउने लक्ष्य लिएको जानकारी दिएको छ। त्यसैगरी प्राधिकरणले नाडालाई समेत उक्त बीमा नीति निर्माण कार्यमा प्रत्यक्ष संलग्न गराउने जानकारी दिएको छ।
विद्युतिय सवारी साधनहरुका सम्बन्धमा नीति निर्माण गर्न अन्तर्राष्ट्रिय अभ्यासलाई आधार बनाएर अध्ययन गर्नुपर्ने आवश्यकता देखिएकोले न्यूनतम रुपमा दक्षिण एसियाली राष्ट्रहरुमा प्रयोगमा रहेका नीति र अभ्यासहरुको अध्ययन गरी तत्सम्बन्धमा नाडाले प्राधिकरणलाई आवश्यक जानकारी प्रदान गर्ने बताईएको छ।
प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदी, तथा बीमा लेख महाशाखा प्रमुख निर्मल अधिकारी समेतको उपस्थिति रहेको सो छलफलमा नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेती, केन्द्रीय कार्य समिति सदस्य यमुना श्रेष्ठ र नाडाका साधारण सदस्य महेश पाल समेतको उपस्थिति रहेको जनाएकोछ।
प्रकाशित: ५ बैशाख २०८२, शुक्रबार