चीनमा ईभी गाडीका विज्ञापनहरूमा ‘स्मार्ट ड्राइभिङ’ र ‘स्वचालित ड्राइभिङ’ शब्द राख्न नपाइने

Technology Khabar ४ बैशाख २०८२, बिहीबार

चीनमा ईभी गाडीका विज्ञापनहरूमा ‘स्मार्ट ड्राइभिङ’ र ‘स्वचालित ड्राइभिङ’ शब्द राख्न नपाइने

काठमाडौं ।

चीनले गाडीका विज्ञापनहरूमा “स्मार्ट ड्राइभिङ” र “स्वचालित ड्राइभिङ” जस्ता शब्दहरूको प्रयोगमा प्रतिबन्ध लगाउने भएको छ। यी शब्दहरू ड्राइभिङ सहायता प्रविधिका लागि प्रयोग गर्न नपाइनेछ। साथै, सरकारले यस्ता प्रविधि सुधारमा निगरानी झन कडा बनाउने भएको छ।

बुधबार चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयले करिब ६० वटा अटोमोबाइल कम्पनीका प्रतिनिधिहरूसँग गरेको बैठकमा यो निर्देशन दिएको हो। रोयटर्सले प्राप्त गरेको बैठकको प्रतिलिपि र एक सहभागीको पुष्टि अनुसार यस्तो जानकारी आएको हो।

यो कदम शाओमीको सबैभन्दा बढी बिक्री भएको एसयू७ सेडान गाडीको घातक दुर्घटनापछि आएको हो। मार्चमा भएको उक्त दुर्घटनाले सवारी सुरक्षाबारे व्यापक चिन्ता निम्त्याएको थियो।

प्रारम्भिक अनुसन्धान अनुसार तीव्र गतिमा (९७ किमी प्रतिघण्टा) सिमेन्टको पोलमा ठोक्किएपछि शाओमी गाडीमा आगो लागेको थियो। दुर्घटना हुनु केही सेकेन्डअघि मात्र चालकले गाडीको नियन्त्रण ड्राइभिङ सहायता प्रणाली (एडीएएस) बाट लिएर आफैं चलाएका थिए।

मन्त्रालयले छोटो वक्तव्यमा बैठकको पुष्टि गर्दै यसले फेब्रुअरीमा प्रकाशित नयाँ आवश्यकताबारे कम्पनीहरूलाई स्पष्ट जानकारी दिएको बताएको छ। यी आवश्यकताहरू ‘ओभर-द-एयर’ प्रविधिमार्फत ड्राइभिङसँग सम्बन्धित सफ्टवेयर अपडेटसम्बन्धी हुन्, जुन बौद्धिक र जडित गाडीहरूमा लागू हुनेछन्।

नयाँ नियमअनुसार, गाडी निर्माण कम्पनीहरूले अब ग्राहकलाई वितरण भइसकेका गाडीहरूमा स्वचालित रूपमा रिमोट सफ्टवेयर अपडेटमार्फत एडीएएस सुधार गर्न पाउने छैनन्, जबसम्म सरकारले स्वीकृति दिएको छैन।

अब यस्ता अपडेट गर्नु अघि पर्याप्त परीक्षण गरेर प्रविधिको विश्वसनीयता प्रमाणित गर्नुपर्नेछ र आवश्यक अनुमतिपछि मात्र सार्वजनिकरूपमा लागू गर्न पाइनेछ।

बैठकमा भाग लिने कम्पनीहरूमा ह्वावे पनि समावेश थियो। ह्वावेले चीनमा आउडी लगायत कम्तीमा सात ब्रान्डलाई एडीएएस प्रविधि आपूर्ति गर्छ।

यो नियामकीय कदम चिनियाँ अटोमोबाइल कम्पनीहरूले एडीएएस सुविधा भएका नयाँ मोडेलहरू तीव्र रूपमा बजारमा ल्याइरहेका छन्। “स्मार्ट ड्राइभिङ” सुविधा प्रमुख बिक्री बिन्दुका रूपमा प्रस्तुत गरिँदै आएको छ, विशेष गरी तीन वर्षदेखि चलिरहेको मूल्य प्रतिस्पर्धामा टिक्न।

बीवाईडी फेब्रुअरीमा १० हजार डलरभन्दा कम मूल्यमा कम्तीमा २१ मोडेल सार्वजनिक गर्दै यो प्रतिस्पर्धा झनै तीव्र बनाएको थियो। यी सबै गाडीहरूमा निःशुल्क “स्मार्ट ड्राइभिङ” सुविधा थियो। लीपमोटर र टोयोटाजस्ता प्रतिस्पर्धीहरूले पनि त्यस्तै विशेषता भएका सस्ता गाडीहरू बजारमा ल्याएका छन्।

चिनियाँ नियामक निकायहरूले इलेक्ट्रिक सवारी प्रविधिमा निगरानी कडा पार्दै लगेका छन्, किनभने यो क्षेत्र अपेक्षाभन्दा छिटो विस्तार भइरहेको छ। गत वर्षको अन्त्यतिर EV र हाइब्रिडको बिक्री कुल गाडी बिक्रीको आधाभन्दा बढी पुगेको थियो, जुन सरकारको लक्ष्यभन्दा अगाडि नै हासिल भएको हो।

Sajilo Visa

प्रकाशित: ४ बैशाख २०८२, बिहीबार

तपाइको प्रतिक्रिया

ताजा समाचार

गुगल म्यासेजले उपयोगी विकल्प ल्याउँदै

  • Technology Khabar
  • २ जेष्ठ २०८२, शुक्रबार